मधेस प्रदेशकी नेतृ आरती भण्डारीको केन्द्रीय राजनीतिमा दाबी, खुला मधेसी केन्द्रीय सदस्यमा उम्मेदवारी
मनोज साह जितपुर बारा मंसिर २९ गते:
नेकपा एमाले मधेस प्रदेश पार्टीकी सचिव तथा भूमि आयोगकी सदस्य आरती भण्डारीले नेकपा एमाले पार्टीको केन्द्रीय सदस्य (खुला मधेसी) पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। लामो समयदेखि पार्टी संगठन सुदृढीकरण, भूमिसम्बन्धी समस्या समाधान तथा मधेसी समुदायको हक–हितका लागि सक्रिय रहँदै आउनुभएकी भण्डारीको उम्मेदवारीलाई पार्टीभित्र सकारात्मक रूपमा हेरिएको छ।
मधेस प्रदेशमा संगठन निर्माण, महिला तथा मधेसी समुदायको प्रतिनिधित्व मजबुत बनाउने कार्यमा उहाँको योगदान उल्लेखनीय रहेको नेताहरूको भनाइ छ। भूमि आयोगमार्फत सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधानमा खेलेको भूमिकाले उहाँलाई जनस्तरमा पनि लोकप्रिय बनाएको बताइन्छ।
उम्मेदवारी घोषणा गर्दै भण्डारीले पार्टीलाई अझ समावेशी, अनुशासित र जनमुखी बनाउने आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो। “मधेसको आवाज केन्द्रीय तहसम्म मजबुत रूपमा पुर्याउने, पार्टीभित्र समान सहभागिता र संगठनात्मक एकतालाई बलियो बनाउने मेरो लक्ष्य हो,” उहाँले भन्नुभयो।
नेकपा एमालेको आगामी महाधिवेशनमार्फत नेतृत्व चयन हुने क्रममा भण्डारीको उम्मेदवारीले मधेसी महिला नेतृत्वलाई केन्द्रीय राजनीतिमा थप उचाइ दिने अपेक्षा गरिएको छ।


