पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलको पहलमा ५ किलोमिटर सडक शिलान्यास सम्पन्न
स्पर्श खबर जितपुर बारा मंसिर २९ गते:
मधेस प्रदेश सरकारका पूर्व मुख्यमन्त्री माननीय जितेन्द्र सोनलज्यूको अथक प्रयासबाट ५ किलोमिटर सडक निर्माण योजनाको शिलान्यास सम्पन्न भएको छ। बाराको प्रसौनी बजारदेखि नकटुवा नहर हुँदै इटियाही–विश्रामपुर गाउँपालिका कार्यालय मुसहर्वा र बलिरामपुर जोड्ने उक्त सडकको शिलान्यास स्वयं पूर्व मुख्यमन्त्री सोनलज्यूले गर्नुभएको हो।
स्थानीय भद्रभलादमी तथा सर्वसाधारण जनसमुदायको हर्षोल्लासपूर्ण सहभागितामा सम्पन्न कार्यक्रममा विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फकार अलि भुटो, लोसपा प्रसौनी गाउँपालिका अध्यक्ष प्रत्यासी भोला गुप्ता, विश्रामपुर गाउँपालिका–५ का वडा अध्यक्ष अमिरीलाल साह, लोसपा नेता कृष्ण साह, सत्यनारायण साह, सुरेश गुप्ता, आनन्द गुप्ता, मदन क्षेत्री, अशोक साह, रमेश साह, प्रभु दास, कैलास गोसाइ, बैजु साह, पन्नालाल यादव, भोला साह सोनार, दिपेन्द्र सराफ, राजेन्द्र साह तथा युवा नेता सोनु साहलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले सडक निर्माणले स्थानीय जनताको आवागमन सहज हुनुका साथै व्यापार, शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार हुने विश्वास व्यक्त गरे। पूर्व मुख्यमन्त्री सोनलज्यूले विकासका कामलाई निरन्तरता दिँदै जनताको जीवनस्तर उकास्न आफू सधैं प्रतिबद्ध रहने बताउनुभयो।


