मनाेज शाह जितपुर बारा मंसिर २९ गते:
३० वर्षको राजनीतिक समाजसेवाको कदरः एमाले सचिवमा ज्वाला शाहको चर्चा, बाराबासी खुसी
मधेस प्रदेशमा करिब तीन दशकदेखि निरन्तर राजनीतिक तथा सामाजिक सेवामा सक्रिय रहँदै आएकी बाराकी सबल महिला नेत्री ज्वाला शाह अहिले नेकपा एमाले पार्टीको सचिव पदका लागि चर्चामा रहेकी छन्। पार्टीभित्र उनको नाम सचिव पदमा जोडिएसँगै बारा जिल्लामा खुसीको माहोल सिर्जना भएको छ।
स्थानीय बासिन्दाहरूका अनुसार ज्वाला शाहले विगत ३० वर्षदेखि पार्टी संगठन मजबुत बनाउन, सामाजिक न्यायका सवाल उठाउन र महिलाको राजनीतिक सहभागिता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन्। उनको सरल स्वभाव, संगठनप्रतिको प्रतिबद्धता र संघर्षशील नेतृत्व क्षमताका कारण उनी पार्टीभित्र मात्र होइन, जनस्तरमै लोकप्रिय रहँदै आएकी छन्।
यसै सन्दर्भमा स्थानीय युवती खुशबु गुप्ताले भनिन्, “ज्वाला शाहजस्तो अनुभवी, इमानदार र समर्पित महिला नेतृ सचिव पदको चर्चामा आउनु हामी सम्पूर्ण बाराबासीका लागि गर्वको कुरा हो। उहाँले पाउने जिम्मेवारीले मधेस प्रदेशमा महिलाको राजनीतिक आवाज अझ बलियो बन्ने विश्वास हामीले गरेका छौँ।”
बाराबासीहरूले ज्वाला शाहलाई सचिव पदमा चयन गरिए पार्टी र समाज दुवैलाई सकारात्मक दिशा मिल्ने अपेक्षा व्यक्त गरेका छन्। महिला नेतृत्वलाई प्रोत्साहन गर्ने यस्तो पहलले नेकपा एमालेभित्र समावेशी र सशक्त नेतृत्व विकासमा नयाँ ऊर्जा थप्ने स्थानीयहरूको विश्वास छ।


