एमाले ११औं महाधिवेशनमा ओली–पोखरेल समूहबाट पदाधिकारीका नाम झन्डै टुंगो


एमाले ११औं महाधिवेशनमा ओली–पोखरेल समूहबाट पदाधिकारीका नाम झन्डै टुंगो


मनोज साह, जितपुर बारा | मंसिर २९

नेकपा एमालेको जारी ११औं महाधिवेशनअन्तर्गत पुस १ गते हुने मतदानको निर्वाचन तालिका सार्वजनिक भएसँगै अध्यक्षका दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै समूहले पदाधिकारीका नाम टुंग्याउने अन्तिम कसरत तीव्र पारेका छन्।

ओली समूह भक्तपुरको गुन्डुस्थित निवासमा आन्तरिक छलफलमा जुटेको छ भने पोखरेल समूह थापागाउँ कार्यालयमा बैठक गरिरहेको छ। पदाधिकारीका आकांक्षी धेरै भएकाले ओली समूहमा पद बाँडफाँट चुनौतीपूर्ण देखिएको छ। यही व्यवस्थापनका लागि विधान संशोधन गर्दै पदाधिकारी संख्या बढाइएको हो।

आइतबारको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष पद हटाउँदै अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जनासहित ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ।

ओली समूहभित्रको छलफलअनुसार पाँच उपाध्यक्षमध्ये विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरू बराल र पृथ्वीसुब्बा गुरुङको नाम झन्डै फाइनल भएको स्रोतले जनाएको छ। बाँकी एक उपाध्यक्षमा प्रदीप ज्ञवाली वा शंकर पोखरेलमध्ये एक जनालाई ल्याउने सम्भावना छ। लालबाबु पण्डितलाई अनुशासन आयोग प्रमुख बनाउने तयारी रहेको बताइन्छ।

महासचिवमा शंकर पोखरेल र प्रदीप ज्ञवालीबीच प्रतिस्पर्धा देखिएको छ। ओलीको प्राथमिक रोजाइ पोखरेल भए पनि समिकरण मिलाउन ज्ञवालीलाई उपाध्यक्ष वा महासचिवमध्ये एकमा व्यवस्थापन गर्ने तयारी छ।

उपमहासचिवतर्फ रघुवीर महासेठ, विष्णु रिमाल र पद्मा अर्यालको नाम लगभग टुंगो लागेको छ। सचिवतर्फ कोशीबाट शेरधन राई र भानुभक्त ढकाल, मधेसबाट ज्वालाकुमारी साह, बाग्मतीबाट महेश बस्नेत, गण्डकीबाट खगराज अधिकारी, लुम्बिनीबाट छविलाल विश्वकर्मा, कर्णालीबाट यमलाल कँडेल र सुदूरपश्चिमबाट लेखराज भट्टको सम्भावना बलियो देखिएको छ।

उता, ईश्वर पोखरेल समूहमा पदाधिकारी संख्या बढेपछि व्यवस्थापन सहज देखिएको छ। महासचिवमा सुरेन्द्र पाण्डेको सम्भावना बलियो छ भने गोकर्ण विष्टलाई उपाध्यक्षमा सेट गर्ने तयारी छ। योगेश भट्टराई उपमहासचिव उठ्ने पक्कापक्की भएको छ।

सचिवतर्फ पोखरेल समूहमा गोकुल बाँस्कोटा, ठाकुर गैरे, कर्ण थापा, विनोद ढकाल र विन्दा पाण्डेलगायत आकांक्षी रहेका छन्। पदाधिकारी संख्या बढेसँगै पोखरेल समूहले ओली पक्षका असन्तुष्ट नेताहरूलाई पनि आफ्नो पक्षमा तान्ने रणनीति बनाएको स्रोतको दाबी छ।