ओबिसी केन्द्रीय कमिटीको निर्णयः अध्यक्ष तेज प्रकाश निषादलाई केन्द्रीय सदस्यमा समावेश गर्न साह र गुप्ताको जोडदार माग

ओबिसी केन्द्रीय कमिटीको निर्णयः अध्यक्ष तेज प्रकाश निषादलाई केन्द्रीय सदस्यमा समावेश गर्न साह र गुप्ताको जोडदार माग

स्पर्श खबर जितपुर बारा मंसिर २९ गते
नेकपा एमाले निकट जनसंगठन अखिल नेपाल पिछडावर्ग (OBC) महासंघले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमार्फत महासंघका केन्द्रीय अध्यक्ष तेज प्रकाश निषादलाई नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यका रूपमा समावेश गर्नुपर्ने निर्णय गरेको छ।

ओबिसी केन्द्रीय कमिटीको हालै सम्पन्न बैठकले अध्यक्ष निषादलाई स्वयं केन्द्रीय सदस्यमा मनोनित गर्न पार्टी नेतृत्वसमक्ष औपचारिक माग राख्ने निर्णय गरेको हो। बैठकपछि महासंघका केन्द्रीय उपाध्यक्षद्वय साह र गुप्ताले संयुक्त रूपमा वक्तव्य जारी गर्दै पिछडावर्ग समुदायको प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्न निषादलाई केन्द्रीय कमिटीमा समेट्नुपर्नेमा जोड दिएका छन्।

उपाध्यक्ष साह र गुप्ताका अनुसार, तेज प्रकाश निषाद लामो समयदेखि पार्टी, संगठन र पिछडावर्ग समुदायको हक–अधिकार, सम्मान तथा राजनीतिक प्रतिनिधित्वका लागि निरन्तर संघर्षरत एक अनुभवी, इमानदार र जनआधारित नेता हुनुहुन्छ। उहाँको नेतृत्वमा अखिल नेपाल पिछडावर्ग (OBC) महासंघ संगठनात्मक रूपमा सुदृढ बन्दै देशव्यापी रूपमा पार्टीको आधार विस्तारमा उल्लेखनीय योगदान पुगेको उनीहरूको भनाइ छ।

वक्तव्यमा भनिएको छ, “नेकपा एमालेले आत्मसात गर्दै आएको समावेशी, समानुपातिक र सामाजिक न्यायको राजनीतिलाई व्यवहारमा उतार्न ओबिसी समुदायको केन्द्रीय तहमा प्रभावकारी प्रतिनिधित्व अपरिहार्य छ। यस्तो अवस्थामा अध्यक्ष निषादजस्तो प्रतिबद्ध नेतृत्वलाई केन्द्रीय कमिटीमा समावेश गर्नु पार्टीको वैचारिक मजबुती र सांगठनिक विस्तारका लागि अत्यन्त महत्वपूर्ण हुनेछ।”

ओबिसी नेतृत्वले पछिल्लो समयसम्म पनि पिछडावर्ग समुदायले केन्द्रीय तहमा पर्याप्त प्रतिनिधित्व नपाएको यथार्थ औंल्याउँदै ११औँ महाधिवेशनमार्फत उक्त कमी सच्याउनुपर्नेमा जोड दिएको छ। महासंघका अनुसार, यस निर्णयको कार्यान्वयनले सामाजिक न्याय, समावेशी लोकतन्त्र र पार्टी–जनसम्बन्धलाई थप मजबुत बनाउनेछ।

त्यसैले, ओबिसी केन्द्रीय कमिटीको बैठक निर्णयअनुसार अध्यक्ष तेज प्रकाश निषादलाई केन्द्रीय सदस्यमा मनोनित गरी केन्द्रीय कमिटीमा समावेश गर्न पार्टी नेतृत्वसमक्ष औपचारिक र जोडदार माग गरिएको महासंघले जनाएको छ।