जितपुरमा दुई दिनदेखि फोहोर नउठ्दा सहर दुर्गन्धित, सरसफाइ मजदुर आन्दोलित — ‘तलब नपाएर पीडामा छौँ’

स्पर्श खबर जितपुर बारा मंसिर १९ गते:

जितपुरमा दुई दिनदेखि फोहोर नउठ्दा सहर दुर्गन्धित, सरसफाइ मजदुर आन्दोलित ‘तलब नपाएर पीडामा छौँ’

जितपुर सहरमा दुई दिनदेखि फोहोर नउठेपछि बजार क्षेत्रदेखि बस्तीहरू दुर्गन्धित बनेका छन्। नियमित सरसफाइ बन्द भएपछि स्थानीय जनजीवन प्रभावित बनेको छ। यसकै बीच तीन महिनादेखि तलब नपाएका सरसफाइ मजदुरहरू शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छन्।

न्यूजमा नाम नछाप्ने सर्तमा एक सरसफाइ कर्मचारीले आफूहरूको पीडा यसरी पोखे —
“हामीले तीन–तीन महिनासम्म काम गरेको तलब पाएका छैनौं। पसलहरूमा उधारो लिएर घर चलाउनुपर्छ, बालबच्चालाई खुवाउनुपर्छ। तर बोल्यो भने कामबाट निकालिन्छ कि भन्ने डर पनि छ। त्यसैले हाम्रो आवाज कोही सुन्दैन। यही पीडाले आज हामी आन्दोलनमा उत्रिएका छौँ।”

फोहोर व्यवस्थापन रोकिँदा जितपुर बजार क्षेत्रमा दुर्गन्ध फैलिएको छ। स्थानीय युवा नेता अयुब खानले गम्भीर चिन्ता व्यक्त गर्दै भने, “जितपुर बजार अहिले निकै दुर्गन्धित छ। यस्तो अवस्थामा रोग फैलिन सक्ने सम्भावना धेरै छ। सरसफाइ मजदुरलाई तत्काल तलब दिएर सकेसम्म छिटो फोहोर उठाउने काममा खटाउनुपर्छ।”

उता, सरसफाइ मजदुरले उठाएको गुनासोबारे सोधिँदा जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले तलब वितरणमा ढिलाइ भएको स्वीकार गर्दै भने, “हो, एक महिनाको तलब बाँकी छ। हामी छिट्टै निकासा गर्नेछौं।”

आन्दोलनरत मजदुरहरूको बुझाइमा अहिलेको समयमा पनि काम गरेको तलब माग्दा कामबाट निकाल्ने डर भइरहनु नै ठूलो विडम्बना हो। “जितपुर सिम्राका जनप्रतिनिधि र कर्मचारी कस्ता छन्, भन्दै पनि मन दुःख हुन्छ,” एक कर्मचारीले व्यथित हुँदै बताए।

स्थानीय बासिन्दा र व्यापारीहरूका अनुसार सरसफाइ नहुँदा सहर थप अव्यवस्थित बन्दै गएको छ। उनीहरूले नगरपालिकाले समस्याको समाधानमा त्वरित कदम चाल्न आग्रह गरेका छन्।