सत्य–न्यायका लागि हजारौँ चोट सहन तयार छुः पूर्व सांसद गंगा थरुन
स्पर्श खबर जितपुर बारा मंसिर १३ गते:
पूर्व सांसद गंगा थरुनीले सामाजिक सञ्जालमार्फत तीव्र धारणा व्यक्त गर्दै सत्य र न्यायको पक्षमा बोल्दा कुटिनुपरे पनि हजारौँ पटक कुटिन तयार रहेको बताएकी छन्। उनले आफ्नो फेसबुक स्टाटसमा लेख्दै, “सत्य र न्यायको पक्षमा बोलिदा कुटिनु पर्छ भने हजारौँ पटक कुटिन तयारछु,” भन्दै अन्यायका विरुद्ध निरन्तर लडिरहने दृढता व्यक्त गरेकी छन्।
थरुनीले आफू हिँड्ने बाटोमा जति ठूलो चट्टान परे पनि सत्यबाट पछि नपर्ने बताउँदै पूर्व माओवादीहरूलाई इंगित गर्दै “काँडे तार लगाएपनि सत्यको बाटो छोडिन्न” भनेकी छन्।
उनले समाजमा फैलिरहेको अन्याय सहन नसक्ने र अन्याय गर्नेहरूलाई नछोडिने चेतावनीसमेत दिएकी छन्। “हिँड्ने बेला खुट्टामा ठेस लाग्छ, लडिन्छ, फेरि उठिन्छ तर हिँड्न छोडिन्न,” भन्दै थरुनीले आफूलाई हातपात गर्नेहरू ‘कायर’ भएको उल्लेख गर्दै उनीहरूको ‘पतन निश्चित’ भएको टिप्पणी गरेकी छन्।
उनको यस्तो कडा अभिव्यक्तिले स्थानीय राजनीतिक वृतमा चर्चा पैदा गरेको छ।


