युवा–मैत्री रुपान्तरणको मागसहित सरिता सापकोटाको टिप्पणी : एमाले ११‍औँ महाधिवेशन निर्णायक मोडमा

युवा–मैत्री रुपान्तरणको मागसहित सरिता सापकोटाको टिप्पणी : एमाले ११‍औँ महाधिवेशन निर्णायक मोडमा

स्पर्श खबर जितपुर बारा मंसिर ११ गते:

“निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प : समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य” भन्ने नारासहित नेकपा एमालेको ११ औँ महाधिवेशन २७ मंसिरदेखि २९ मंसिरसम्म काठमाडौंमा हुँदैछ । यो महाधिवेशन राजनीतिक प्रक्रियामात्र होइन, देशको वर्तमान राजनीतिक संकट, जनआकांक्षा र जेन्जि विद्रोहले उठाएको परिवर्तनको आवाजलाई आत्मसात् गर्ने ऐतिहासिक अवसर पनि हो ।

देशमा भएको जेन्जि विद्रोहले पुरानो सोच, पुरानो शैली र पुरानो संरचनामाथि गम्भीर प्रश्न उठाएको छ । यही विशेष परिस्थिति र दबाबका कारण नेकपा एमालेले आफ्नो महाधिवेशन निर्धारित समयभन्दा एक वर्षअघि नै गर्नुपरेको यथार्थ हामीसामु छ । यसको अर्थ स्पष्ट छ,पार्टी स्वयं परिवर्तनको चर्को दबाबमा छ । अब प्रश्न उठ्छ, के हामी केवल मितिमात्र बदल्छौँ, कि सोच, शैली र विचार पनि बदल्छौँ ?

आजको युवा पुस्ता देशमा मात्र होइन, पार्टीहरूभित्र पनि वास्तविक रुपान्तरण चाहँदैछ । त्यो रुपान्तरण भनेको नारामा होइन, व्यवहारमा योग्य, सक्षम, इमानदार र वैचारिक युवालाई अवसर दिनु हो । उनीहरूलाई केवल भीड बनाउने होइन, नीति निर्माण र नेतृत्व तहमा पुर्‍याउनु हो । यदि यो चरण पनि युवालाई पाखा लगाइयो भने पार्टी र लोकतन्त्र दुवै कमजोर हुने निश्चित छ ।

महाधिवेशन पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूको लागि मात्र होइन, सिङ्गो समाजको भविष्यसँग जोडिएको विषय हो । किनभने यही महाधिवेशनबाट तय हुने नीति र नेतृत्वले देशको आर्थिक, सामाजिक र राजनीतिक दिशालाई निर्देशित गर्नेछ । त्यसैले यो आम जनताको समेत सरोकारको विषय बनेको छ ।

आज देशभर एमालेका कमिटीहरूभित्र महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया अघि बढिसकेको छ । मनोयन दर्तादेखि निर्वाचनसम्मका कार्यक्रम चलिरहेका छन् । तर दुःखद यथार्थ के छ भने, शैली र प्रवृत्ति उहीँ पुरानै देखिन थालेको छ ।
पुराना नेता, मेयर, उपमेयर, वडा अध्यक्ष, सांसद, तिनका श्रीमती, छोरा,छोरी हुँदै नातिसम्मलाई प्रतिनिधि बनाउने अभ्यासले फेरि प्रशय पाएको छ ।

नातावाद, कृपावाद र चाप्लुसीवाद को प्रतिनिधि चयन यो विषम परिस्थितिको महाधिवेशनमा समेत दोहोरिनु अत्यन्तै दुःखद र निराशाजनक हो । जेन्जि विद्रोहले प्रश्न उठाएको यही चरित्रलाई हामी फेरि संस्थागत गर्दैछौँ भने परिवर्तनको भाषण केवल ढोंग सावित हुनेछ ।

महाधिवेशनको मिति अगाडि सर्‍यो भन्दैमा पार्टी बद्लिँदैन । शैली बद्लिनुपर्छ, प्रवृत्ति बद्लिनुपर्छ, सोच बद्लिनुपर्छ, विचार बद्लिनुपर्छ ।
नत्र नयाँ बोतलमा पुरानै रक्सीजस्तै शीर्ष नेतृत्व संरचना त फेरिएला, तर चरित्र फेरिँदैन ।

यस महाधिवेशनमा वैचारिक रूपमा परिपक्व, उर्जाशील, अनुशासित र संघर्षशील युवा पुस्ताको अनिवार्य प्रतिनिधित्व सुनिश्चित हुनैपर्छ । साथै, विभिन्न क्षेत्र, वर्ग, भूगोल र सामाजिक पृष्ठभूमिबाट सन्तुलित प्रतिनिधित्व गरिनुपर्छ । यो कार्य पार्टी पङ्तिको ऐतिहासिक जिम्मेवारी हो ।

अझ गम्भीर प्रश्न त यो हो
समाजका लागि साच्चिकै योगदान दिएका, स्वतन्त्र सोच भएका, जनतासँग प्रत्यक्ष जोडिएका युवाहरू किन पार्टी संरचनामा अट्न सक्दैनन् ?
किन अझै पनि पार्टी अवसरको थलो नभएर , नातागोता र पहुँचको थलो बन्दै छ ?

यदि नेकपा एमाले साँच्चै निर्णायक राष्ट्रिय शक्ति बन्न चाहन्छ भने, अब युवालाई नाराको सामग्री होइन, नेतृत्वको आधार बनाउनैपर्छ । युवाको ऊर्जा, सीप र विचारलाई केन्द्रमा नराखी समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा हुँदैन ।

यसकारण, ११ औँ महाधिवेशनलाई केवल संगठनात्मक औपचारिकतामा सीमित नगरी युवा–मैत्री, विचार–मैत्री र भविष्य–मैत्री महाधिवेशन बनाउनु आजको अपरिहार्य आवश्यकता हो ।
यो महाधिवेशन इतिहासको अवसर हो
या त पार्टी साँच्चै रूपान्तरणको बाटोमा जान्छ,
या त जनआक्रोशको अर्को छालसँग जुध्न बाध्य हुन्छ ।

अब निर्णय पार्टी पङ्तीकै हातमा छ ।
नयाँ पुस्तालाई भरोसा दिने कि फेरि निराश बनाउने ?