जितपुरसिमरा–१६ मा १२ वर्षीया बालिकामाथि करणी प्रयास, आरोपी पक्राउ
स्पर्श खबर जितपुर बारा मंसिर ५ गते:
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१६ टाङ्गिया बस्तीमा १२ वर्षीया मानसिक रूपमा अस्वस्थ बालिकामाथि करणी (ज.ज.क.) गरिएको आरोपमा एक पुरुष पक्राउ परेका छन्।
मिति २०८२।०८।०१ गते बिहान ११:४० बजे टाङ्गिया बस्ती बस्ने सन्तबहादुर गोलेकी छोरीलाई उस्तै बस्तीका मानबहादुर ब्लोनका ४० वर्षीय छोरा सोमबहादुर भोलनले घर नजिकैको जंगलमा लगी करणी गरेको भन्ने जानकारी प्रहरीलाई प्राप्त भएको थियो।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक जीवन लामिछानेको कमाण्डमा ७ जनाको टोली घटनास्थलतर्फ पुगेको थियो। प्रहरीले आरोपीलाई तत्काल नियन्त्रणमा लिएको छ भने पीडितलाई स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ।
स्थानीयले भिडियोसमेत खिचे
घटनाबारे बुझ्दा घाँस–दाउरा गर्न गएका स्थानीयले बालिकामाथि करणी गर्ने क्रम देखी आरोपीलाई नियन्त्रणमा लिएर प्रहरीले आउँदासम्म बाँधेर राखेको खुलिएको छ। स्थानीयले उक्त घटना कैद गरेको भिडियोसमेत रहेको बताइएको छ।
स्वास्थ्य परीक्षणपछि आरोपी र पीडित दुबैलाई पुनः इलाका प्रहरी कार्यालय निजगढमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।


