पूर्वमन्त्री ज्वाला शाह : “यदि एमाले चाहन्थ्यो भने एक मिनेटमै खरानी बनाउने अवस्था हुन्थ्यो, तर हामी शान्तिको बाटो हिँड्यौं”

पूर्वमन्त्री ज्वाला शाह : “यदि एमाले चाहन्थ्यो भने एक मिनेटमै खरानी बनाउने अवस्था हुन्थ्यो, तर हामी शान्तिको बाटो हिँड्यौं”

स्पर्श खबर जितपुर बारा मंसिर ५ :

पूर्वमन्त्री ज्वाला शाहले सिमरामा भएको बुधबारको तनावपूर्ण घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। नेपाली रेडियो नेटवर्कका पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले सरकारले नियोजित रूपमा एमाले नेतामाथि अवरोध सिर्जना गराएको आरोप लगाए।

शाहका अनुसार एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सिमरा आउँदैछन् भन्ने थाहा पाएपछि सरकार–नजिक रहेको जेन–जी समूहमार्फत अवरोध गराइएको र परिस्थितिलाई जानीजानी जटिल बनाइएको हो। “सरकारले स्वयं परिस्थिति बिगार्ने भूमिकामा रह्यो,” उनले भने।

उनी भन्छन्, “यदि एमालेले चाहेको भए एक मिनेटमै त्यस्ता अराजक तत्वलाई रोकथाम गर्न सकिन्थ्यो, तर हामीले संयमता अपनायौं। किनकि एमाले सधैं जनताको पक्षमा छ, देशको पक्षमा छ। हामी कसैलाई खरानी बनाउने मनसाय राख्दैनौँ, हामी सधैं शान्तिको पक्षमा छौँ ।”

शाहले अहिले देशभर फैलिएको अराजकता, जनताको जीवनभरको मेहनत जलेर खरानी भएको अवस्था र घर–सम्पत्तिमा भएको क्षतिका लागि सरकार जिम्मेवार रहेको आरोप समेत लगाए। “हाम्रा भावना जलाइयो, घरहरु खरानी बनाइयो, तर अपराधीहरूलाई कारबाही हुँदैन। जेन–जीको नाममा डनजस्ता समूह सक्रिय छन्, कार्यक्रम विथोल्छन्, नेतामाथि रोक लगाउँछन्,” शाहले भने।

शाहले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र डा. आरजु राणामाथिको आक्रमणमा संलग्नलाई कारबाही नगर्ने सरकारले दुर्गा प्रसाईलाई सत्य बोलेको भन्दै गिरफ्तार गर्नु पक्षपातपूर्ण व्यवहार भएको बताए। “अराजकता मचाउनेलाई किन कारबाही हुँदैन? सरकार किन मौन छ?” उनले प्रश्न गरे।

पूर्वमन्त्री शाहले अपराधी तथा अराजक तत्वलाई कानुनी बाटोबाट कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्दै आफूहरू कानुनी प्रक्रियामार्फतै अघि बढ्ने बताएका छन्।झडपमा एकजनाका कारण सबै वडाध्यक्षको नाम सार्वजनिक गर्न जरुरी छैन : शाह

बारामा हालै भएको झडप घटनासँग सम्बन्धित विषयमा प्रतिक्रिया जनाउँदै पुर्व मन्त्री शाहले एक व्यक्तिको कारण सबै वडाध्यक्षहरूको नाम समेट्नु आवश्यक नपर्ने स्पष्ट पारेका छन्। उनले भने, “झडपमा एकजनाका कारण सबै वडाध्यक्षको नाम दिन जरुरी लागेन, किनकि त्यस्तो आवश्यकतै थिएन।”

शाहका अनुसार एमाले पार्टीले सञ्चालन गर्दै आएको जागरण अभियान धेरै अगाडिदेखिनै तोकिएको कार्यक्रम हो र यसलाई बदनाम गर्ने प्रयास हुँदै आएको छ। उनले थपे, “वडा र पार्टी दुवैको कार्यक्रम पहिले नै निश्चित थियो। झडपलाई लिएर प्रचार गर्न खोजिएको हो, तर वास्तविकता फरक छ।”