नेरुडे मिर्मिरे वित्तीय संस्थाद्वारा जोखिम व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धन तालिम चपुरमा सम्पन्न
स्पर्श खबर जितपुर बारा मंसिर ३ गते:
नेरुडे मिर्मिरे वित्तीय संस्था लिमिटेडले मधेश प्रदेश कार्यालय अन्तर्गतका शाखा कार्यालयका कर्मचारीहरूको लागि आयोजना गरिएको २ दिने जोखिम व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धन तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। तालिम मंसिर १ र २ गते चपुरमा सम्पन्न भएको हो।
वित्तीय संस्था स्रोतका अनुसार उक्त तालिममा सहायक कार्यकारी प्रमुख दिनेश कटुवाल मुख्य प्रशिक्षकका रूपमा रहेका थिए। साथै असुली तथा जोखिम व्यवस्थापन विभाग प्रमुख वेद प्रसाद आचार्य र मधेश प्रदेश प्रादेशिक कार्यालय प्रमुख विक्रम शाह समेतले सहजीकरण गरेका थिए।
तालिममा मधेश प्रदेश कार्यालय अन्तर्गत कलैया र लक्ष्मिनिया क्लस्टरअन्तर्गतका १९ वटा शाखामा कार्यरत ४८ जना फिल्ड कर्मचारीहरूको सहभागिता रहेको थियो।
तालिमका दौरान वित्तीय संस्थाले अवलम्बन गर्दै आएको जोखिम न्यूनीकरणका उपाय, आवधिक रणनीति कार्यान्वयन, प्रभावकारी जोखिम व्यवस्थापन, तथा आ.व. २०८२/८३ का लागि निर्धारण गरिएका व्यवसायिक लक्ष्यअनुसार व्यवसाय प्रवर्द्धनका विधि र प्रविधिहरू बारे प्रशिक्षकहरूले विस्तृत रूपमा सहजीकरण गरेका थिए।
संस्थाले यस किसिमका क्षमता अभिवृद्धि कार्यक्रमहरूले कर्मचारीहरूको सीप, दक्षता र सेवा प्रभावकारिता अझै वृद्धि हुने विश्वास व्यक्त गरेको छ।


