स्पर्श खबर जितपुर बारा मंसिर १ गते:
पर्सा, कालिकामाई–५मा विद्यालय बाख्राको खोरमा परिणत, जनप्रतिनिधि बेपरवाह भन्दै स्थानीय आक्रोश
पर्सा जिल्लाको कालिकामाई गाउँपालिका–५ स्थित एक सामुदायिक विद्यालय अहिले शैक्षिक गतिविधि बन्द भएर बाख्राको खोरको रूपमा प्रयोग हुँदै आएको स्थानीयहरूले बताएका छन्। विद्यालयको भवन जीर्ण बनेको, सुरक्षा व्यवस्थापन कमजोर भएको र पटक–पटक गुनासो गर्दा पनि कुनै निकायले चासो नदिएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।
स्थानीय युवा अजय गुप्ताका अनुसार विद्यालयको अवस्थाबारे गाउँपालिका अध्यक्षदेखि वडा अध्यक्षसम्म धेरैपटक जानकारी गराइए पनि न त स्थलगत अवलोकन भयो, न त सुधारका लागि कुनै पहल देखियो।
“हामी स्थानीय, युवा र समाजसेवीहरू धेरैपटक गुनासो गर्न गएका थियौँ। तर जनप्रतिनिधिहरूले कुनै चासो दिएको देखिएन। अहिले त विद्यालय बाख्राको खोरजस्तै बनेको छ,” गुप्ताले बताए।
विद्यालय जीर्ण भइ सञ्चालनमा नसकिएको र बालबालिकाले वर्षौंदेखि नियमित रूपमा पठनपाठन सुविधा नपाएको बताइएको छ। शिक्षा क्षेत्रप्रति जनप्रतिनिधिको गैरजिम्मेवारीका कारण गाउँकै भविष्य अन्धकारमा परेको भन्दै अभिभावकहरू पनि चिन्तित बनेका छन।


