जीतपुरसिमरा उपमहानगरपालिकाले पहिलो आवधिक योजना निर्माण प्रक्रिया अघि बढायो
स्पर्श खबर जितपुर बारा कार्तिक २८ गते:
बारा जिल्लाकाे जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार पहिलो आवधिक योजना निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। नगर प्रमुख राजन पौडेलले जारी गरेको सूचना पत्रमार्फत नगरभित्रका सबै सरोकारवालाहरुलाई आवधिक योजना निर्माणमा सक्रिय सहभागिताका लागि अनुरोध गरिएको छ।
नगरपालिकाले तयार गर्ने आवधिक योजना दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य, रणनीति, रोडम्याप, सामाजिक–आर्थिक स्वरूप तथा कार्यदिशालाई समेट्दै तयार गरिने उल्लेख छ। यसका लागि विद्यालय, विभिन्न सरकारी तथा गैरसरकारी संस्था, सहकारी संस्था, पूर्व जनप्रतिनिधि, व्यवसायी, उद्योगी, जनप्रतिनिधि, नागरिक समाजलगायत सबैलाई आफ्ना सुझाव, राय तथा प्राथमिकताका क्षेत्रहरू एउटै लिखित प्रतिवेदनमा पठाउन आग्रह गरिएको छ।
पत्रमा नगरपालिकाको आवधिक योजना अब वस्तुनिष्ठ, प्रभावकारी, जनमुखी र दीगो बनाउने लक्ष्य राखिएको उल्लेख छ। आवधिक योजनालाई राजनीतिक दस्तावेज बनाइएको भ्रमलाई हटाउँदै यसलाई पूर्ण रूपले विकासमुखी मार्गचित्र बनाउन लागिएको नगर प्रमुख पौडेलले बताएका छन्। आगामी दिनमा गोष्ठी तथा छलफलका कार्यक्रममार्फत थप सुझाव संकलन गरिने नगरपालिकाको भनाइ छ।
नगरपालिकाले सबै निकाय र नगरवासीको सक्रिय सहभागिताले आवधिक योजना सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरेको छ।


