कलैया सिद्धेश्वर खेल मैदानको व्यवस्थापन र विकासका लागि माग
स्पर्श खबर जितपुर बारा कार्तिक २७ गते । बारा जिल्लाका खेलाडीहरूले कलैया स्थित सिद्धेश्वर खेल मैदानको व्यवस्थापन र विकासका लागि माग गरेका छन्। युवा तथा खेलकुद मन्त्री बन्नु गुप्तालाई बारा निवासी सुमन सिंहले ध्यानाकर्षण पत्र बुझाउँदै खेल मैदानको सुधार र विकासमा सरकारको तत्काल ध्यानाकर्षण गराएका हुन्।
पत्रमा उल्लेख भएअनुसार बारा जिल्ला नेपालको खेलकुद इतिहासमा अत्यन्तै महत्वपूर्ण स्थान ओगटेको जिल्ला भएकाले यस जिल्लाबाट विभिन्न कालखण्डमा राष्ट्रिय स्तरका क्रिकेट खेलाडीहरू, प्रशिक्षकहरू र खेलप्रेमीहरूको उदय भएको बताइएको छ। खेलाडीहरूको अभाव र स्थानीय खेलकुद गतिविधिको केन्द्रबिन्दुको रूपमा कलैयाको सिद्धेश्वर खेल मैदान लामो समयदेखि रहँदै आएको भए पनि त्यसको व्यवस्थापन र पूर्वाधार अवस्था अत्यन्तै जर्जर रहेको पत्रमा उल्लेख छ।
खेल मैदानमा पर्याप्त सरसफाइ, सिँचाइ, दर्शकदीर्घा, बार्इउण्ड्री एरिया, शौचालय, र प्रशिक्षण उपकरणहरूको अभावका कारण खेलाडीहरूले असुविधा भोग्दै आएका छन्। स्थानीय प्रयासमा केही क्रियाकलाप सञ्चालन हुँदै आएको भए पनि सरकारी सहयोगबिना मैदानलाई व्यवस्थित रूपमा सञ्चालन र विस्तार गर्न असम्भव देखिएको पत्रमा उल्लेख छ।
त्यसैले, स्थानीय युवा, खेलाडी तथा खेलप्रेमीहरूको प्रतिनिधित्व गर्दै सिंहले कलैयाको सिद्धेश्वर खेल मैदानलाई व्यवस्थित र पूर्वाधारयुक्त खेलमैदानको रूपमा विकास गर्न सरकारलाई आग्रह गरेका छन्। उनले सरकारको योजनामा बारा जिल्लाका खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राख्ने अपेक्षा समेत व्यक्त गरेका छन्।


