मधेश प्रदेश सांसद रहबर अन्सारीद्वारा संसदमा आत्म-आलोचनाको प्रतीकस्वरूप मोसो दले
स्पर्श खबर जितपुर बारा कार्तिक २२ गते: मधेश प्रदेशका सांसद रहबर अन्सारीले आज प्रदेश सभामै आफैंलाई मोसो दलेका छन्। सांसद अन्सारीले वर्तमान राजनीतिक प्रणाली र नेताहरूको नैतिक धरातल सकिएको भन्दै कडा शब्दमा आलोचना गर्दै यस्तो कदम उठाएका हुन्।
मुख्यमन्त्री जितेन्द्र सोनाले विश्वासको मत लिइरहेका बेला अन्तिम चरणमा बोल्ने अवसर पाएका सांसद अन्सारीले दलहरू र सांसदहरूको नैतिकता गुमिसकेको बताएका थिए। तर, उनको भनाइ बीचमै सभामुख रामचन्द्र मण्डलले माइक बन्द गरेपछि उनले आक्रोशस्वरूप आफ्नो अनुहारमा मोसो दलेका हुन्।
सांसद अन्सारीको यो कदमलाई केही सांसदहरूले विरोध गरेका छन् भने केहीले यसलाई वर्तमान राजनीतिक पतनको प्रतीकात्मक विरोधको रूपमा लिएका छन्। संसदमा केहीबेर हंगामा समेत भएको बताइएको छ।


