अधुरो राजदेवी मन्दिर र करैयामाई गाउँपालिकाको जवाफदेहीता

अधुरो राजदेवी मन्दिर र करैयामाई गाउँपालिकाको जवाफदेहीता

श्याम पाण्डे जितपुर बारा असोज २५ गते
करैयामाई गाउँपालिका–२ स्थित ऐतिहासिक तथा धार्मिक महत्वको श्री राजदेवी माता मन्दिर वर्षौँदेखि भत्किएको अवस्थामा छ। प्रदेश सरकारबाट ५० लाख रुपैयाँ र गाउँपालिकाबाट १५ लाख रुपैयाँ गरी जम्मा ६५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको भए पनि आजसम्म मन्दिरको निर्माण कार्य पूरा हुन सकेको छैन।
स्थानीयहरूको भनाइमा, उक्त बजेट खर्च भएको बताइए पनि फाउन्डेसन (जग) बनाउने काममै काम रोकिएको छ। निर्माण स्थलगत अवलोकन गर्दा देखिन्छ—मन्दिरको काम रोकिएको लामो समय भइसकेको छ, न त कुनै प्रगति छ, न त जनतालाई स्पष्ट जानकारी।
अब त मेला नजिकिँदै छ। भक्तजनहरू आउन थालेका छन्, तर मन्दिर भने अधुरो अवस्थामा उभिएको छ। यसले स्थानीय धार्मिक भावना मात्र होइन, गाउँपालिकाको विश्वसनीयता र पारदर्शितामाथि पनि प्रश्न उठाएको छ।
यति ठूलो रकम खर्च गरेर पनि मन्दिर नबन्नु सामान्य कुरा होइन। जवाफदेहीता को हो? प्रदेश सरकारले पठाएको बजेट कहाँ गयो? गाउँपालिकाले अनुगमन किन गरेन? निर्माण समितिले के भूमिका खेलेको छ? यी सबै प्रश्नहरू अब जनताले जवाफ माग्ने बेला आएको छ।
राजदेवी माता मन्दिर केवल धार्मिक स्थल होइन—यो स्थानीय पहिचान र आस्थाको प्रतीक हो। त्यसैले यसको पुनर्निर्माणमा लापरवाही हुनु जनताप्रतिको असम्मान हो।
गाउँपालिकाले अब ढिलाइ नगरी स्पष्ट सार्वजनिक विवरण, खर्चको लेखाजोखा र निर्माणको ठ्याक्कै समयसीमा सार्वजनिक गर्नुपर्छ। अन्यथा, यो केवल “मन्दिर अधुरो” मात्र होइन, विश्वासको मन्दिर पनि भत्किने खतरा छ।