काठमाडाैं : प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक पाँच मिनेट बसेर सकिएको छ । शनिबार सिंहदरबारस्थित समितिको बैठक कक्षमा बिहान साढे १० बजेका लागि बैठक बोलाइएको थियो । तर समिति सदस्यहरू समयमा उपस्थित हुन सकेनन् ।
समिति बस्नका लागि आवश्यक गणपूरक संख्या पुग्न करिब डेढ घण्टा पर्खिनुपर्यो । डेढ घण्टासम्म कुरेर पनि बैठक अघि बढ्न सकेन । जम्मा पाँच मिनेट बैठक बसेपछि समिति सभापति कुसुमदेवी थापाले समिति सदस्यहरूलाई भूमि सम्बन्धी सरकारले परिमार्जनहित प्रस्तुत गरेको प्रतिवेदन अध्ययन गर्न निर्देशन दिइन् र बैठक पनि समापन भएको घोषणा गरिन्।
भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको परिमार्जित प्रतिवेदनको मस्यौदामा सांसदहरूले विरोध जनाएपछि भूमि मन्त्रालयले परिमार्जन गरेर अर्को मस्यौदा तयार पारी प्रस्तुत गरेको हो । जसमा सांसदहरूले अध्ययनको समय नपुगेकाले थप समय मागेपछि बैठक स्थगित गर्नुपरेको सभापति थापाकाेभ नाइ छ। उनले भनिन्, ‘ड्राफ्ट तयार भएको थियो, त्यसमा माननीय ज्यूहरूले अध्ययन पुगेन, केही समय चाहियो भन्नुभयो । त्यसैले आजका लागि बैठक स्थगित गरेका हौँ ।’
समितिको बैठक स्थगित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेस सांसद प्रतिमा गौतमले संशोधन कर्ताहरूसँग थप छलफल गर्नुका साथै अध्ययन गर्न समय नपुगेकाले समय मागिएको बताइन्।
नेकपा एमाले सांसद सरस्वती सुब्बाले सबै प्रक्रिया सकिसकेपछि समितिले प्रतिवेदनका रुपमा टुंग्याउनुपर्ने प्रावधानअनुसार त्यसअघि सांसदहरूले अध्ययन गर्नुपर्ने भएकाले समय माग गरिएको बताइन्। उनले संघीय निजामती विधेयकबारे पनि हालै भएको घटनाबाट सचेत रहँदै गुणात्मक बनाउन आफूहरूले समय माग गरेको बताइन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले भूमि विधेयक भूमिहीन दलित र भूमिहीन सुकुम्वासीको लागि भए सरकार, मन्त्रालय गम्भीर हुनुपर्ने बताए। उनीहरूलाई देखाएर प्रपञ्च रचिएको उनको आरोप छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीकै विमति हुनु र सत्ता पक्षका सांसदहरूले गोप्य बैठक बसेर बैठक स्थगित गरिएको उनले आरोप लगाए।


