पर्सा प्रहरीले दुई घरमा छापा मारेर १६४ बोरा सरकारी अनुदानको रासायनिक मल बरामद

स्पर्श खबर जितपुर बारा साउन २९ गते:

पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ कटैयामा प्रहरीले दुई घरमा छापा मारेर १६४ बोरा सरकारी अनुदानको रासायनिक मल बरामद गरेको छ।
जिल्ला प्रशासन कार्यालय, कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बुधबार राति मोहम्मद साह अन्सारीको घरबाट ९ बोरा DAP, १८ बोरा पोटास र ११४ बोरा BSP (फस्फेट मल) बरामद गरेको हो।
त्यसपछि युनुस अन्सारीको घरबाट २७ बोरा DAP र २३ बोरा पोटास जम्मा ५० बोरा बरामद गरिएको जिल्ला प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
बरामद गरिएको मल किसानलाई वितरण गर्न पठाइएको सरकारी अनुदानको हो, जसलाई महँगो मूल्यमा बिक्री गर्ने उद्देश्यले अवैध रूपमा भण्डारण गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घरधनीहरू फरार रहेका कारण खोजी भइरहेको प्रहरीले जनाएको छ।