स्पर्श खबर जितपुर बारा साउन ८ गते:
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार बारा आउने निश्चित भएपछि परवानीपुर गाउँपालिका उत्साहित बनेको छ । प्रधानमन्त्री ओली बाराको परवानीपुर गाउँपालिकामा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय भएको हो ।
प्रधानमन्त्रीको आगमनलाई ऐतिहासिक अवसरका रूपमा लिँदै परवानीपुर गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले कार्यक्रमको भव्य तयारी भइरहेको जानकारी दिएका छन् । उनका अनुसार गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय बासिन्दा तथा एमालेका नेता–कार्यकर्ताहरू पूर्ण उत्साहका साथ कार्यक्रम सफल बनाउन जुटिरहेका छन् ।
प्रधानमन्त्री स्वयम् जिल्लामा आउनु बारावासीहरूका लागि गर्वको विषय भएको बताउँदै नेकपा एमाले पोलिटब्युरो सदस्य, बारा जिल्ला इन्चार्ज तथा पुर्वमन्त्री एवम् संघीय सांसद ज्वाला कुमारी साहले आम नागरिकलाई स्वस्फूर्त सहभागिताका लागि आग्रह गरेकी छन् । उनले भनिन्, “प्रधानमन्त्रीज्यू हाम्रो जिल्ला आउँदै हुनुहुन्छ, यो अवसर हामी सबै बारावासीका लागि गौरवको क्षण हो । हामी उहाँलाई स्वागत गर्न आतुर छौं ।“
सुरक्षाको दृष्टिले पनि कार्यक्रम स्थलमा विशेष सतर्कता अपनाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा प्रशासन कार्यालयका अधिकारीहरू सुरक्षाका लागि खटिएका छन् । भिआईपी सुरक्षालाई मध्यनजर गर्दै कार्यक्रम स्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।भवनको उद्घाटनपछि प्रधानमन्त्री ओलीको सम्वोधन गर्ने कार्यक्रम रहेको छ । परवानीपुर गाउँपालिकामा आयोजना हुन लागेको यो कार्यक्रम समग्र बाराबासीका लागि उत्सवमय अवसरका रूपमा हेरिएको छ । उद्घाटन साउन ९ गते शुक्रवार दिउँसो १ बजेको लागी तय गरिएको आयोजकले जानकारी दिएको छ ।


