काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान आर्थिक संकटको मूल कारण बिचौलियाको बढ्दो प्रभाव रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसदसमेत रहेका थापाले बिचौलियाको पहुँच प्रधानमन्त्रीको शयनकक्षसम्म पुग्ने अवस्था सिर्जना भएकाले समस्याहरू झन गहिरिँदै गएको टिप्पणी गरे।
उनले निजी क्षेत्र र बिचौलियालाई फरक रूपमा बुझ्नुपर्ने आवश्यकता औंल्याउँदै, बिचौलियाको प्रभाव नेतृत्व तहसम्म विस्तार हुनु दुर्भाग्यपूर्ण रहेको धारणा राखे। “अहिलेको अर्थतन्त्रमा समस्या बिचौलियाका कारणले आएको हो,” उनले भने, “म कुनै विशेष प्रधानमन्त्रीको कुरा गर्दिनँ, तर बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म पुग्ने अवस्था आयो भन्ने थाहा पाउँदा म चकित भएँ।”
थापाले अहिलेको अवस्था यति गम्भीर भएको उल्लेख गरे कि अब राष्ट्र बैंकको गभर्नर चयनमा समेत बिचौलियाको उम्मेदवार भनेर खुल्ला बहस हुने गरेको बताए। “पहिला गभर्नर को बन्ला भनेर कौतुहलता हुन्थ्यो,” उनले भने, “तर अहिले चाहिँ बिचौलियाको मान्छे भनेर खुला बहस हुन थालेको छ, जुन चिन्ताजनक अवस्था हो।”
महामन्त्री थापाले आसेपासेलाई पोस्ने चलनलाई पुँजीवादी व्यवस्थासँग तुलना गर्न नमिल्ने बताउँदै नागरिक बलियो भए मात्र राज्य बलियो हुने तर्क पनि राखे।
“बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म”


