एमाले अध्यक्ष ओलीको प्रतिवेदन-प्रचण्डको दाउपेचको खेती निस्तेज पार्न नयाँ राजनीतिक काेर्ष

एमाले अध्यक्ष ओलीको प्रतिवेदन-प्रचण्डको दाउपेचको खेती निस्तेज पार्न नयाँ राजनीतिक काेर्ष

काठमाडौं २१ पौष :
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सीटको जादु भन्दै प्रचण्डले थालेको दाउपेचको खेती निस्तेज पार्न कांग्रेसको नयाँ राजनीतिक कोर्षमा जानुपरेको प्रष्ट पारेका छन् ।

केन्द्रीय कमिटी बैठकमा छलफलका लागि प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले प्रचण्डले एमालेसँगको सहकार्यबाट प्रधानमत्री भएपछि फेरि धोका दिएको स्मरण गरेका छन् ।

भ्रष्टाचारविरुद्धको कारवाहीलाई आफ्नो दलगत स्वार्थका लागि दुरुपयोग गरेको र सुन तस्करी,ललिता निवासजस्ता ठूला भ्रष्टाचार काण्डमा सरकारनै संलग्न भएको प्रतिवेदनमा उल्लेख छ ।

सरकारमै भएका बेला समानान्तर गठबन्धनको अभ्यास गरिरहने,पाँचै वर्ष सत्ता चलाउने चलखेल र २०८१ साल असारको दोस्रो सातातिर राष्ट्रिय सहमतिको सरकारको नयाँ आवरणमा प्रचण्डबाट कांग्रसलाई सरकारमा सहभागी हुन प्रस्ताव राखेको ओलीको प्रतिवेदनमा उल्लेख छ ।

उपयोग गर्ने र फ्याँक्ने प्रचण्डको पूरानै प्रयोगको नयाँ स्वरुपले मुलुकलाई थप अप्ठेरोमा पार्ने भएपछि कांग्रेस र एमाले मिलेको प्रतिवेदनमा उल्लेख छ ।

एमालेको राजनीतिक प्रतिवेदनमा प्रचण्ड सरकारले भ्रष्टाचारविरुद्ध कुनै अभियान नचलाएको भन्दै अभियानका नाममा आफ्नालाई चोख्याउन केन्द्रित रहेको उल्लेख छ ।

ललिता निवास प्रकरणमा सर्वोच्चको निर्देशनात्मक आदेशपछि मात्र सम्बद्ध प्रकरणमा जोडिएका पूर्वप्रधानमन्त्री माधव नेपाललगायतासँग सोधपुछ गरिएको र सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरालाई न्यायिक आयोगको प्रतिवेदनपछि मात्रै बाध्यात्मकरूपमा मुद्दा चलाइएको उल्लेख छ । प्रचण्डले सदाचारको आवरणमा भ्रष्टाचारको संरक्षण गरेको अध्यक्ष ओलीले पेश गरेको प्रतिबेदनमा उल्लेख छ ।