स्तर तह वृद्धिको माग गर्दै जीतपुरसिमरा उपमहानगरपालिका कर्मचारीहरु धर्नामा
स्पर्श खबर जितपुर बारा पुस १९ गते: स्तर तह वृद्धिको माग गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाको कर्मचारीहरु धर्नामा बसेको छ।मधेश प्रदेश सरकारले भदौ ०७ गते जारी गरेको स्थानिय सेवा(गठन तथा संचालन ) ऐन २०८१ को दफा २९ को उपदफा ४ बमोजिम जीतपुरसिमरा उपमहानगरपालिकाले उपमहानगर भित्र कार्यरत रहेका कर्मचारीहरुको स्तर/तह वृद्धिको सुचना निकालेको र सो बमोजिम आवस्यक कागजात पेश गर्दा पनि पालिकाले स्तर/तह वृद्धि प्रक्रिया अगाडी नबढाएको भन्दै कर्मचारीहरु पेन डाउन गर्दै शुक्रवार देखि धर्नामा बसेको छ ।
उपमहानगर भित्रका करिब ३३ जना कर्मचारीहरुले स्तर/तह वृद्धिको माग गर्दै धर्नामा बसे पछि कामकाज प्रभावित भएको छ।स्तर/तह वृद्धिको माग गर्दै प्रमुख प्रशासकिय अधिकृत उर्मिला काफ्ले कहाँ पुग्दा म तपाईहरुको काम गर्दिन गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको उपमहानगरका पाँचौ तहका कर्मचारी त्रिलोक ठाकुरले बताए ।जीतपुरसिमरा उपमहानगरपालिकाले सुचनामा मागे अनुसार आफुहरुले सम्पूर्ण कागजात उपलब्ध गराए पनि उपमहानगरले स्तर/तह वृद्धिको प्रक्रिया अगाडि नबढाए पछि आफुहरुको मनोबल खस्किएको धर्नामा बसेका कर्मचारीहरुले बताए।
तह वृद्धि सम्बन्धि सुचना नगरपालिकाको कार्यालयदेखि प्रकाशन गरेबमोजिम ऐ.ऐ.ऐनको दफा २९ उपदफा १ बमोजिमको योग्यता पुरा भएका हामि तपसिलका कर्मचारीहरुले स्तर/तह वृद्धिका लागि आवश्यक कागजात सहित आवेदन दिइसकिएकोमा हालसम्म कुनै सुनुवाई नभएको, नियतपुर्वक ढिलासुस्ति गरि कर्मचारीहरुको मनोबल गिराउने हेतु आलटाल गरिएको कर्मचारीहरुले नगरप्रमुखलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
मधेश प्रदेश र जिल्लाका अधिकाशं पालिकाहरुले आफ्ना कर्मचारीहरुको हकहितको ख्याल गरि समयमै नियमावली, कार्यविधिहरु निर्माण गरि तह/स्तर वृद्धि गरिसक्दा हामिले पटकपटक आग्रह र समन्वय गर्दा समेत उपमहानगरले हालसम्म आफ्नो नियमावली, कार्यविधि निर्माण सम्म नगरेको अवस्था रहेकोले बाध्य भएर आफुहरु पेन डाउन गरेर धर्नामा बसेको कर्मचारी सिद्धार्थ चौधरीले बताए ।
जागिरे जिवनको सबैभन्दा ठुलो अवसर हुन्छ तह/स्तर वृद्धि तर यस्तो कुरामा कर्मचारीहरुलाई यसरी अड्काईदिँदा हामि कर्मचारीहरुको मनोक्त एकदमै खस्किएको र आफ्नो घर परिवारसँग टाढा भई देशका विभिन्न स्थानहरुबाट यस नगरबासीको सेकमा रातदिन खटिएका कर्तव्यनिष्ठ कर्मचारीहरुलाई थप प्रोत्साहन र उर्जा थप्नुपर्नेमा निरुत्साहित गर्ने कार्य भइरहेको हुँदा हामि आजका मितिदेखि अनिश्चितकालिन पेन डाउन र शान्तिपूर्ण धर्नामा बस्न बाध्य भएको अर्का कर्मचारी स्मृति वर्माले बताईन।