राप्रपा जिल्ला सभापतिहरूको भेला आज सकिने

काठमाडाैंमा जारी राप्रपाका जिल्ला सभापतिहरूको दुईदिने भेला आज समापन हुँदैछ। बिहीबारबाट सुरू भेलामा ७७ वटै जिल्लाका सभापति सहभागी छन्।
पार्टी केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एसआर बैंक्वेटमा हिजाे एक कार्यक्रमबीच भेलाको उद्घाटन गरेका थिए।

आजको बैठकमा जिल्ला अध्यक्षबाट सम्बन्धित जिल्लाको सांगठनिक प्रतिवेदन पेस भइरहेको सो पार्टीका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

उनले भने, ‘७७ वटै जिल्लाबाट आउनुभएका जिल्ला अध्यक्षहरूले आआफ्नो जिल्लाको सांगठनिक एवं राजनीतिक प्रतिवेदन पेस गरिरहेका छन्। सम्बन्धित प्रतिवेदन प्रस्तुत भइसकेपछि आजै बैठक सम्पन्न हुनेछ।’ भेलामा पार्टीको समग्र सांगठनिक अवस्थाको गम्भीर समीक्षा गरिने उनले बताए।

‘विगतका निर्वाचनमा भएका कमी कमजोरीको समीक्षा गर्दै आगामी रणनीति तय गरिने, पार्टीले लिएका नीति, यसले पार्टी पंक्ति र जनसमुदायमा पारेको प्रभावको विश्लेषण गरिनेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख मसान्तसम्म स्थानीय तहको अधिवेशन गरिसक्ने लक्ष्य लिएको अवस्थामा सबै तहको अधिवेशन सम्पन्न गर्ने, ०८४ मा हुने तीन तहको निर्वाचन तयारीमा अहिलेदेखि कस्तो रणनीति तय गर्नेलगायत विषयमा पनि छलफल हुनेछ।’

उक्त भेलामा पार्टी अध्यक्ष लिंदेनले पार्टीको नीति, विचार, सिद्धान्तलगायत रणनीति र आगामी कार्ययोजनाबारे जिल्ला अध्यक्षहरूलाई ‘ब्रिफिङ’ गर्ने कार्यतालिका छ। पार्टीका पूर्वअध्यक्ष पशुपतिशम्शेर जबरा, निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र नेताहरूले पार्टी संगठनका विविध पक्षमा जिल्ला अध्यक्षसँग सामूहिक छलफल गर्ने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।