नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ। शुक्रबारबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिव वर्षमान पुन, सचिवहरू चक्रपाणि खनाल, सुरेन्द्र कार्की र हितराज पाण्डेले भनाइ राखेका छन्।

सरकारबाट बाहिरिएपछि माओवादी केन्द्रको यो पहिलो पदाधिकारी बैठक बसेको हो। बैठकमा नयाँ समीकरण बनेपछिको वर्तमान राजनीतिक परिस्थति, शान्ति प्रक्रिया र पार्टीको संगठनलाई सुदृढ बनाउने विषयमा छलफल भइरहेको छ।

पार्टी बुर्जुवाकरण बनेको भन्दै माओवादी केन्द्रका पदाधिकारीहरूले नेतृत्वको आलोचना गरेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतर्फ संकेत गर्दै उनीहरुले रूपान्तरणको संकल्प नेतृत्वबाट सुरु नगरे पार्टी सुद‍ृढ हुन नसक्ने धारणा राखेका छन्। नेताहरू सुविधामुखी बन्दा पार्टी संगठन कमजोर हुँदै गएको उनीहरुको टिप्पणी छ।

उपाध्यक्ष अग्नि सापकोटाले सदन र सडकमा प्रभावकारी बनाउनेदेखि संगठन र जनपरिचालनको विषयमा पनि छलफल भएको जानकारी दिए। उनले आगामी दिनमा कसरी अभिया चलाउने भन्नेबारे स्थायी कमिटी र केन्द्रीय समितिले तय गर्ने बताए। पदाधिकारीहरु बोल्ने क्रम जारी रहेकाले आज पुन: बैठक बस्ने उपाध्यक्ष सापकोटाले जानकारी दिए।