गुरु पूर्णिमाको अवसरमा स्पर्श खबरद्वारा भेस्ट वितरण

गुरु पूर्णिमाको अवसरमा स्पर्श खबरद्वारा भेस्ट वितरण

रन्जित चौधरी, बारा, श्रावण ५ गते:

बारा जिल्लाबाट संचालित अनलाइन मिडिया स्पर्श खबरद्वारा गुरु पूर्णिमाको अवसरमा आज एक कार्यक्रमका बिच भेस्ट वितरण गरिएको छ । भोलि आइतबारका दिन गुरु पूर्णिमा परेको छ । यस दिन आआफ्ना गुरुको योगदानलाई विशेष याद गरिन्छ । गुरु पूर्णिमाको अवसर पारेर आज शनिबारको दिन स्पर्श खबरले ३०० थान भेस्ट वितरण गरेको छ ।

आषाढ शुक्ल पूर्णिमाको दिनलाई गुरु पूर्णिमाको रुपमा मनाइन्छ । पौराणिक मान्यता अनुसार यसै दिनमा वेद व्यासको जन्म भएकोले सो दिनलाई व्यास पूर्णिमा पनि भनिन्छ । पूर्वीय सभ्यतामा गुरुलाई उच्च स्थान र सम्मान दिइन्छ । प्रत्येक व्यक्तिको जीवनमा गुरुको ठूलो महत्त्व हुने भएकोले गुरुवर्गको उच्च सम्मान गर्नुपर्ने तथा गुरुजनको योगदानको सम्मान गर्नुपर्ने सन्देश प्रदान गर्ने महान् उद्देश्यले स्पर्श खबरले गुरु पूर्णिमाको अवसरमा कपडा वितरण गरेको हो ।

संचार जगतले पनि गुरुवर्गले झैं समाजबाट कुरीति, अन्धकार, अज्ञानता हटाई समाजलाई सुसभ्य बनाउने भएकोले वर्तमान समयमा हरेक संचार माध्यमले समेत गुरुवर्गबाट प्रेरित भई निष्पक्ष रुपमा समाज परिवर्तनको संवाहक बन्नुपर्ने नितान्त आवश्यक रहेको कुरा स्पर्श खबरका सह-सम्पादक मनोज शाहले बताउनुभयो । आफूलाई शिक्षा प्रदान गर्ने, समयसमयमा मार्ग प्रदशन गर्ने तथा सत्मार्गमा हिँड्न प्रेरित गर्ने सम्पूर्ण गुरुवर्ग, अग्रज तथा शुभेच्छुकहरुलाई गुरुको दर्जा दिँदै स्पर्श खबरका सह-सम्पादक मनोज शाहले सम्पूर्णप्रति आफू कृतज्ञ रहेको बताउनुभयो ।