सएसपीमा बढुवा, वरीयतामा व्यापक फेरबदल

दुई ब्याचका ३७ एसपीबाट छानिए २५ एसएसपी

नेपाल प्रहरीको भावी नेतृत्वमै प्रभाव पर्नेगरी बढुवा समितिले २५ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ।

सोमबार साँझ बसेको समितिको बैठकले २०५६ सालको ब्याचका ३ र २०५८ सालको ब्याचका २२ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

वरीयता तलमाथि भए पनि २०७५ फागुनअघि एसपी भएका सबै जना एसएसपीमा सिफारिस भएका छन्। तीन जना विवादित अधिकृतलाई भने बढुवाका लागि सिफारिस गरिएन।

२०७७ मा एसपी भएका यही ब्याचका ११ जना अगाडि आउँदा वरीयतामै व्यापक हेरफेर भएको छ। सीआईबीका प्रवक्ता होबिन्द्र बोगटी र काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारी अगाडि आएका छन्।

२०५८ सालको टोलीकालाई बढुवा गर्दा भावी नेतृत्वमै असर पर्नेगरी एसपी हुँदाको वरीयतामा व्यापक हेरफेर गरिएको छ। २०५६ सालमा भर्ना भएका तीनै जनाको बढुवा हुँदा उनीहरू पछि परेका छन्।२०५८ सालको टोलीबाट पहिलो लटमै एसपीमा बढुवा भएका दुई जना विवादित मात्रै एसएसपी बढुवा हुनबाट छुटेका छन्। अरू एसएसपीमा बढुवा भएका छन्।

एसपी प्रकाश रानाभाट र कमल थापा बढुवा हुनबाट छुटेका हुन्। थापा भैँसेपाटी हनी ट्र्याप र रानाभाट धनुषामा हुँदा विवादमा परेका थिए।

दुवै जनाविरुद्ध अनुसन्धान तथा कारबाहीका लागि सिफारिस भएकाले उनीहरू बढुवामा नपरेका हुन्।

आफ्नो ब्याचबाट रमेश थापा पहिलो नम्बरमा बढुवा सिफारिस भएका छन्। थापा यसअघि एसपीमा पनि पहिलो नम्बरमै थिए। यो ब्याचमा दोस्रो नम्बरका प्रकाश रानाभाट र तेस्रो नम्बरका कमल थापा छुट्दा अजय केसी अगाडि आएका छन्।

केसी दोस्रो नम्बरमा बढुवा भएका छन्। केसी यसअघि १४औँ नम्बरमा थिए। एसपीमा ११औँ स्थानमा रहेका अनुपम शमशेर जबरा तेस्रो स्थानमा सिफारिस भएका छन्।

२०७५ फागुनमा एसपी हुँदा अन्तिममा रहेका वीरबहादुर बुढा मगर चौथो स्थानमा बढुवा सिफारिसमा परेका छन्। उनीभन्दा एक स्थान अगाडि रहेका काठमाडौँ परिसरका प्रवक्तासमेत रहेका नवराज अधिकारी पनि अगाडि आउन सफल भएका छन्। उनी पाँचौँ स्थानमा र कृष्णप्रसाद कोइराला छैटौँ स्थानमा सिफारिस भएका छन्।

सबैभन्दा अगाडि आएका एसपी हुन्- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता होबिन्द्र बोगटी। पहिलो लटमा एसपीमा छुटेका बोगटी एसएसपीमा भने निकै अगाडि आइपुगेका छन्। उनले २०५६ सालमा भर्ना भएको टोलीलाई उछिनेका मात्र होइन, आफूभन्दा डेढ वर्ष पहिले एसपी भइसकेकालाई पनि पछि पारे।

सातौँ वरीयतामा एसएसपीमा सिफारिस भएका बोगटी पछिल्लो लटबाट सबैभन्दा अगाडि आउने अधिकृत हुन्। यो टोलीबाट पहिलो नम्बरमा एसपीमा बढुवा भएका तुलबहादुर कार्की भने एसएसपीमा छुटेका छन्।६१ किलो सुन प्रकरणको अनुसन्धान गरेका कृष्णप्रसाद पंगेनी पनि बढुवामा अगाडि आएका छन्। हाल एसएसपीमा बढुवा सिफारिस हुने एसपीमा पहिलो नम्बरमा रहेका गोविन्द अधिकारी ९ नम्बरमा पुग्दा दोस्रो नम्बरमा रहेका विनोद सिलवाल १०औँ नम्बरमा पुगे।

श्यामकुमार महतो ११औँ स्थानमा टिक्दा पछिल्लो ब्याचका वेद विष्ट पनि अगाडि आए। पछिल्लो टोलीकै शिवकुमार श्रेष्ठ १३, प्रकाश मल्ल १४औँ र शान्तिराज कोइराला १५औँ नम्बरमा एसएसपीमा सिफारिस भए।

अघिल्लो ब्याचका जनार्दन जिसी १६औँ नम्बरमा पुग्दा एक मात्रै महिला प्रतिस्पर्धी रञ्जु सिग्देल १७औँ नम्बरमा बढुवा सिफारिस भइन्।

सन्तोष खड्का १८ नम्बरमा पुग्दा पछिल्लो ब्याचका सन्तोषकुमार भट्टराई १९औँ नम्बरमा आइपुगे। यी दुवै टोलीको अन्तिममा रहेका राजेन्द्र प्रसाद धमलाले २०औँ नम्बरमा बढुवा भएका छन्।

सन्तोष सिंह राठौर २१, सञ्जयसिंह थापा २२ र विमलराज कँडेल २३औँ नम्बरमा परे। कँडेल अगाडिको टोलीका हुन् भने थापा ६१ किलो सुन प्रकरणमा विभागीय कारबाही सिफारिस भए पनि प्रहरी महानिरीक्षकबाट उत्कृष्ट अनुसन्धान अधिकृतको पुरस्कार पाएका अधिकृत हुन्।सभार नेपाल खबर । उनी अहिले एसएसपीमा पनि बाजी मार्न सफल भए।