राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ कराँते प्रशिक्षक सुरेन्द्र श्रेष्ठको आज अन्त्येष्टि गरियो
मनोज शाह, जीतपुर, माघ १ गते
राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ कराँते प्रशिक्षक सुरेन्द्र श्रेष्ठको आज हेटौंडाको राप्ती खोलामा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिअघि उनको पार्थिव शरीरमा नेपाल सितोरियो करातेका खेलाडी र प्रशिक्षकहरुले नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए ।
वि.सं. २०२९ मा जन्मिएका श्रेष्ठको २०८१ पौष २७ गतेका दिन सवारी दुर्घटनामा परेर दु:खद एवम् असामयिक निधन भएको थियो । बुबा प्रेमलाल श्रेष्ठ तथा आमा माया देवी श्रेष्ठको कोखबाट माइला सन्तानका रुपमा जन्मिएका सुरेन्द्र श्रेष्ठले करातेको माध्यमबाट आफ्नो विशिष्ट पहिचान बनाएका थिए । वि.सं. २०४० सालदेखि करातेमा होमिएका श्रेष्ठले आफ्नो जीवनकालमा अनेकौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा आफ्नो खेलको जादू प्रदर्शन गरेका थिए ।
वि.सं. २०५२ सालदेखि करातेको प्रशिक्षकको रुपमा समेत आफूलाई पृथकरुपमा चिनाउन सफल रहेका उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समेत रेफ्रीको जिम्मेवारी वहन गरेका थिए । हालसालै उनी पर्सा जिल्लामा कार्यरत थिए । उनको असामयिक निधनले सम्पूर्ण खेलकुद जगतलाई ठूलो क्षति पुगेको महसुस गरिएको छ ।


