बाराका पूर्व गाविस सचिव आस महमद अन्सारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर
स्पर्श खबर माघ ७ गते:
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाराको साविक आदर्श गाविस (हाल जीतपुरसिमरा उपमहानगरपालिका)का तत्कालीन सचिव आस महमद अन्सारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अन्सारीले ३८ लाख ३० हजार ५०० रुपैयाँ बराबर आर्थिक हिनामिना गरेको पाइएकाले मुद्दा दायर गरेको अख्तियारका केन्द्रीय प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
प्रवक्ता घिमिरेका अनुसार उनले साविक साविकको आदर्श गा.वि.स. भवानीपुर जीतपुर (हाल जीतपुरसिमरा उपमहानगरपालिका) को स्वामित्वमा रहेको गुदरी बजार र मिना बजारका सटरहरु उपभोक्तालाई भाडामा लगाउँदा अपनाएको विधि पारदर्शी नभएको अख्तियारको आरोप छ ।
यस्तै सटरहरुबाट उपलब्ध भएको धरौटी वापतको रकमसँग सम्बन्धित कागजातहरु लुकाई बरबुझारथ समेत नगरेको र १२१ जना उपभोक्ताहरुबाट लिएको आर्थिक वर्ष २०६४/६५ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएबमोजिमको धरौटी वापतको ३८ लाख ३० हजार ५०० रुपैयाँ नबुझाएको अख्तियारको आरोप छ ।