बारामा ट्राफिक प्रहरी सक्रिय हुँदै : ट्राफिक नियमको पालना नगर्नेलाई धमाधम कारवाही गरिंदै

बारामा ट्राफिक प्रहरी सक्रिय हुँदै : ट्राफिक नियमको पालना नगर्नेलाई धमाधम कारवाही गरिंदै

मनोज शाह, जीतपुर बारा, चैत्र १५ गते

बारामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । चाडबाडको बेलामा मानिसहरुले ट्राफिक नियमको अवहेलना गरी दुर्घटना निम्त्याउने गरेकोले बारा जिल्लाभरि नै ट्राफिक प्रहरीले कडाइ गरेको हो । बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा ट्राफिक प्रहरीले ट्राफिक नियमबारे जनचेतनामूलक कार्यक्रम गरी दिनहुँजसो त्यहाँका सर्वसाधारणहरुलाई चेतनशील बनाउँदै छन् ।

 

खासमा सिम्रौनगढ नगरपालिकालगायत वरिपरिका मानिसहरुले हेलमेट नलगाउने, उच्च गतिमा मोटरसाइकल चलाउने, एउटै मोटरसाइकलमा दुईजनाभन्दा बढी मानिसहरु चढ्ने, ट्राफिक नियमको पालना नगर्ने जस्ता समस्याहरु देखापरेकोले गर्दा अन्य समयमा भन्दा हिजोआज ट्राफिक प्रहरीद्वारा पूर्ण निगरानीका साथ कडाइ गरिएको ट्राफिक प्रहरी अस्थायी पाेष्ट सिम्रौनगढका प्रमुख रामप्रित चाैधरीले स्पर्श खबरलाई जानकारी दिनुभयो । नियमविपरीत सवारी साधन चलाइएको भेटिँदा आवश्यक नसिहतसहित जरिवाना तिर्न लगाउँदा सवारी चालकले उल्टै ट्राफिक प्रहरीलाई नै धम्की दिने गरेको त्यहाँका ट्राफिक प्रहरीहरुले बताउँछन् ।

 

जबसम्म यहाँका जनताहरुले आफैंले आफैंलाई सुधारतर्फ उन्मुख गर्दैनन् , तबसम्म केही पनि सकारात्मक परिवर्तन नहुने सिम्रौनगढ नगरपालिकाका एक स्थानीय युवा श्याम कुश्वाहाले स्पर्श खबरलाई जानकारी दिएका छन् । ट्राफिक प्रहरीको यो कदमले मानिसहरुको व्यवहारमा सकारात्मक परिवर्तन देखा परिरहेको स्थानीय युवा श्याम कुश्वाहाले स्पर्श खबरलाई बताए ।

 

 

होलीको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकामा शान्तिसुरक्षामा कडाई : दिनभरि जनजीवन सामान्य

होलीको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकामा शान्तिसुरक्षामा कडाई : दिनभरि जनजीवन सामान्य

 

मनोज शाह, जीतपुर बारा, चैत्र १२ गते

 

जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक रविभूषण यादवको कमाण्डमा खटिएको प्रहरी टोलीको अथक मिहिनेत तथा निगरानीका फलस्वरूप आज होली पर्वको दिन जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रभरि अवस्था सामान्य एवम् शान्तिपूर्ण रहयो । हिन्दुहरुको महान पर्व होलीमा कहीँकतै कुनै प्रकारको अप्रिय घटना हुन नदिन जीतपुरसिमरा उपमहानगरपालिकाभरि ठाउँ ठाउँमा प्रहरी प्रशासन खटिएका थिए ।

 

होली पर्वमा केही उच्छृङ्खल प्रवृत्तिका मानिसहरुले जाँडरक्सी खाएर होहल्ला गर्ने, लडाइँ झगडा गर्ने र सामाजिक सद्भावलाई खल्बल्याउने सम्भावना हुने भएकाले यस्तो चुनौतीपूर्ण समयमा समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरी प्रशासनको भूमिका महत्त्वपूर्ण रहने हुँदा सतर्कतापूर्वक शान्तिसुरक्षामा कडाई गरिएको ईलाका प्रहरी कार्यालय सिमराका ईन्स्पेक्टर रविभूषण यादवले स्पर्श खबरलाई जानकारी दिनुभयो ।

आज जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.७ जीतपुरलगायत यस नगरभरि नै दिनभरि कहीँकतै कुनै अप्रिय घटना नघटेको र अवस्था शान्तिपूर्ण तथा सामान्य रहेको कुरा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक रविभूषण यादवले स्पर्श खबरलाई जानकारी दिनुभयो । जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक रविभूषण यादवको कमाण्डमा खटिएको प्रहरी टोलीको अथक मिहिनेत तथा निगरानीका फलस्वरूप यसपटकको होली पर्व राम्रोसँग शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको जीतपुर युवा क्लबका अध्यक्ष भुनेस पासवानले स्पर्श खबरलाई जानकारी दिएका छन् ।

 

मधेस प्रदेशमा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम संचालन : अन्तर्राष्ट्रिय सीमा सुरक्षा थप प्रभावकारी हुने र सीमावासीका समस्याको सम्बोधन हुने विश्वास

मधेस प्रदेशमा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम संचालन : अन्तर्राष्ट्रिय सीमा सुरक्षा थप प्रभावकारी हुने र सीमावासीका समस्याको सम्बोधन हुने विश्वास

मनोज शाह, जीतपुर बारा, चैत्र १२ गते

 

मधेस प्रदेशस्थित रहेको नं. २ छिन्नमस्ता वाहिनी अन्तर्गतको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्सा, अन्य सुरक्षा निकाय, स्थानीय नागरिकको संयुक्त टोलीले पर्साको ठोरी -१ भगवाननगरबाट सीमा पैदल गस्ती सुरु गरेको छ । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका बासिन्दाहरुको समस्या एवम् गुनासाहरुको सम्बोधन गर्न तथा अन्तर्राष्ट्रिय सीमा सुरक्षामा थप प्रभावकारिता ल्याउन अन्य सुरक्षा निकायलगायत स्थानीय नागरिक तथा सरोकारवाला निकायहरुसंग आवश्यक समन्वय र सहकार्य गर्दै “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत लक्षित क्षेत्रहरूमा नियमित रुपमा हप्ताको सातै दिन २४ सै घन्टा पैदल गस्ती सुरु गरेको छ ।

 

 

सीमा सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलको भूमिकालाई अझै परिष्कृत, प्रभावकारी एवम् नतिजामुखी बनाउन र अन्तर्राष्ट्रिय सिमाना क्षेत्रका नागरिकहरुमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन यस “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रमले टेवा पुर्‍याउने विश्वास लिइएको छ । पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्यको अगुवाइमा सुरु भएको उक्त सीमा गस्तीमा मधेस प्रदेशका ८ ओटै जिल्लासंँग अन्तर्राष्ट्रिय सीमा जोडिएको क्षेत्रमा निरन्तररुपमा संयुक्त सीमा पैदल गस्ती गर्नेछ ।

 

पर्साको ठोरी -१ भगवाननगरबाट सुरु भएको पैदल गस्तीमा भारतीय समकक्षी SSB 44 BN का प्रतिनिधि, ठोरीस्थित सीमा सहजीकरण समितिका पदाधिकारी तथा स्थानीय संचारकर्मीहरुको समेत सहभागिता रहेको थियो । गस्तीको क्रममा सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्यले स्थानीय बुद्धिजीवी तथा नागरिकहरुसँग समेत अन्तरक्रिया गर्दै सीमा सुरक्षाको महत्त्वको बारेमा नागरिकहरुमा प्रकाश पार्नुका साथै सीमा अपराध नियन्त्रणको सन्दर्भमा समेत स्पष्ट पारेका थिए । सीमाका बासिन्दाहरु नै वास्तविकरुपमा सीमा रक्षक भएकोले मधेस प्रदेशका सीमावर्ती क्षेत्रका बासिन्दाहरुको गुनासो सम्बोधन गर्न आफूहरु सधैं तत्पर एवम् सकारात्मक रहेको कुरा कर्माचार्यले बताउनुभयो । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका जनताहरुसंँग सहकार्य गर्दै सीमा क्षेत्रमा हुन सक्ने सम्भावित अवैध गतिविधि नियन्त्रण गर्न तथा सीमा क्षेत्रको सुरक्षालाई थप सुदृढ बनाउन दिनरात तयार रहने जनाएको छ ।

 

हिन्दु स्वयंसेवक संघ नेपालद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

हिन्दु स्वयंसेवक संघ नेपालद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

मनोज शाह, जीतपुर बारा, चैत्र ११ गते

 

हिन्दु स्वयंसेवक संघ नेपाल, जीतपुरसिमरा उमनपा नगर कार्य समिति एवम् समस्त संघ परिवारले आज होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । आज आइतबार बिहान १० बजेदेखि जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.७ जीतपुरको शान्तिटोलमा अवस्थित खेलमैदानमा प्रारम्भ भएको उक्त कार्यक्रममा स्थानीय युवा, बालबालिका, बुद्धिजीवी तथा समाजसेवीहरुको सहभागिता रहेको थियो । सहभागीहरुले विभिन्न प्रकारका मनोरञ्जनात्मक क्रियाकलापहरु गरी अन्त्यमा रङ्ग, अबीर लगाउँदै सभ्यताका साथ हिन्दुहरुको महान् पर्व होलीको शुभकामना आदानप्रदान गरेका थिए ।

 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थीले प्रसाैनीमा हाेलि मिलन कार्यक्रम सम्पन्नध

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थीले प्रसाैनीमा हाेलि मिलन कार्यक्रम सम्पन्न

मनाेज शाह जितपुर बारा चैत ९ गते:

नेकपा एमालेको जनसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाराको आयोजनामा शुक्रबार होली मिलन कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियुले प्रसौनीमा शुभकामना आदनप्रदान समारोहको आयोजना गरेको हो ।

कार्यक्रममा सहभागी वक्ताले सद्भावको रुपमा मनाईने होली पर्वको सांस्कृतिक एवम् सामाजिक महत्वका विषयमा चर्चा गरेका थिए । रङहरुको पर्व होलीलाई आपसी सद्भाव कायम गर्ने पर्वका रुपमा मनाउनुपर्नेमा वक्ताले जोड दिएका थिए । सोही अवसरमा कार्यक्रममा सहभागीहरुले एक अर्कालाई अबिर लगाएर शुभकामना आदनप्रदान समेत गरेका थिए ।

अनेरास्ववियु केन्द्रीय सचिव एवम् मधेस प्रदेश इन्चार्ज अन्जना सिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय सदस्य एकवाल मियाँ, एमाले मधेस प्रदेश सचिव मनोज पौडेल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव मोबिन आलम, अनेरास्ववियु मधेस प्रदेश अध्यक्ष आरपी अधिकारी, केन्द्रीय सदस्य , केन्द्रीय सदस्य एवम् बारा इन्चार्ज लक्ष्मी तिमिल्सिना, विद्यार्थी नेता यासिर अर्फादलगायतको उपस्थिती रहेको थियो ।

अनेरास्ववियु बाराका अध्यक्ष सरोज खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण उपाध्यक्ष शंकर यादवले गरेका थिए । कार्यक्रममा अनेरास्ववियुका विभिन्न तहका नेताकार्यकर्ताले सहभागिता जनाएका थिए ।

नेरुडे मिर्मिरे लघुवित्त बित्तीय संस्था लिमिटेडद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेरुडे मिर्मिरे लघुवित्त बित्तीय संस्था लिमिटेडद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

 

मनोज कुमार शाह,जीतपुर बारा, चैत्र ८ गते

नेरुडे मिर्मिरे लघुवित्त बित्तीय संस्था लिमिटेडले उपशाखा कार्यालय बर्दिबासमा प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयको कार्य क्षेत्रभित्रका केन्द्र प्रमुखहरुलाई संस्थाको नियम अनुसार दिइने वार्षिक केन्द्रको परिचालन, संस्थाको नीति, नियम, कर्जा, बचत तथा वित्तीय साक्षरताका साथै बैंकिङ्ग कारोबारसम्बन्धी जानकारी दिइएको थियो । यसका साथै कर्जाको भाखा नाघ्न नदिने, कालो सुचीमा पर्ने बारे सचेतना जगाइएको थियो । नेपाल राष्ट्र बैंकबाट ‘घ’ बर्गलाई गरेको निर्देशन र सदस्यहरुलाई उद्यमशील बन्नका लागि आवश्यक पर्ने विभिन्न सिपमूलक तालिमहरु लगायतका विषयहरुका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका प्रमुख राजेश कुमार खाँले स्पर्श खबरलाई बताएका छन् । उक्त कार्यक्रममा १०० जना भन्दा बढी सदस्य साथै अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै, वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने, बचत गर्ने बानीको बिकास गर्ने, वित्तीय अनुशासनको पालना गर्ने उद्देश्यले सन् २०२४ मार्च १८ देखि २४ अर्थात् वि.सं. २०८० चैत्र ५ देखि ११ गतेसम्म संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा त्यसै नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड प्रदेश कार्यालय बर्दिबासका प्रदेश प्रमुख श्री बिक्रम शाह ज्यूले वित्तीय अराजकता फैलाउनेहरुको पछि नलाग्न तथा कर्जाको दुरुपयोग नगरी आफ्नो वित्तीय अनुशासन नबिगार्न समेत सबैलाई सुझाव दिएका थिए ।

मिटर ब्याजको फन्दाबाट उम्कन मुस्किल

मिटर ब्याजको फन्दाबाट उम्कन मुस्किल”


मनोज  शाह, जीतपुर बारा,चैत्र  ८ गते

बैंक र वित्तीय संस्थाले कडाइ गरेपछि अनौपचारिक स्रोतबाट अनेकन सर्त मानेर लिएको ऋण तिर्नै नसक्ने परिस्थितिमा पुगेपछि मानिसहरु आत्महत्या गर्न अग्रसर हुने घटना बढेका छन् । बारा जिल्लाकी कलिता देवीले मिटर ब्याजबारे आफ्नो विचार राख्दै भनिन् , ‘मिटर ब्याजमा पैसा लगाउने अनि ऋणीले भनेको समयमा तिर्न नसके मिटर ब्याज डबल–तेब्बर बनाउने र ऋणीलाई मर्न बाध्य बनाउने गिरोहको आपराधिक गतिविधि अत्यधिक बढेको छ ।’ उनले आफ्नो विचार थप्दै जितपुरसिमरा उपमहानगरपालिकामा मिटर ब्याज अत्यधिक बढेको छ भन्ने कुराकाे समेत जानकारी गराइन् । एक पूर्व प्रहरीले आफ्नो अनुभवका आधारमा मिटर ब्याजको धन्दा सतहमा नदेखिए पनि भित्रभित्रै फैलिएको बताए । उनले मिटर ब्याजकै कारण कैयन् मानिस डिप्रेसनको चरम विन्दुमा पुगेको अनुमान सुनाए । उनले भने, ‘चेक बाउन्सका कैयन् घटनाभित्र मिटर ब्याजको कथा भेटिन्छ ।’ एक अर्का पीडितले मिटर ब्याजले आफू बर्बाद भएको र ढुकुटीको चक्करमा परेर ४९ लाख रुपैयाँ, तीनतले घर र दुई कट्ठा जमिन गुमाएको बताइन् ।

अनौपचारिक स्रोतहरूबाट अनेकन सर्त मानेर ऋण लिने अनि सर्तहरूमा जेलिएर कर्जा तिर्नै नसक्ने परिस्थितिमा पुगेर आत्महत्या गर्न अग्रसर हुने घटनामा कमी आएको देखिँदैन । नेपाल राष्ट्र बैंक ऐनको दफा ७६ ले राष्ट्र बैंकको अनुमतिबिना निक्षेप लिन तथा कर्जा प्रवाह गर्न पाइँदैन भन्ने नियम भएपनि अनौपचारिक अर्थतन्त्रको फैलावट बढ्दै जाँदा मिटर ब्याजको धन्दा चलाउनेहरूको संख्या बढ्दो देखिन्छ ।

 

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा कर्जाका लागि मिटर ब्याजीको शरणमा पर्ने र चर्को ब्याजदरका कारण सर्वसाधारणले आत्महत्या गर्नुपर्ने घटनालाई बुझ्न सर्वसाधारणको वित्तीय पहुँचका लागि राज्यले के गर्‍यो भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने बताउँछन् । उनका अनुसार पछिल्ला वर्षहरूमा सुरु भएको बैंकहरूको मर्जर प्रणाली र कर्जा दिने सर्तहरूमा गरिएको परिवर्तनले सर्वसाधारणलाई बैंकबाट कर्जा पाउन मुस्किल बन्दै गएको छ । उनले मर्जर नीतिपछि ८८ वटा विकास बैंक २५ मा झरेको र ७९ वित्त कम्पनी मर्ज भएर २२ मा झरेको बताए । उनले भने, ‘वित्तीय संस्था र बैंकहरू विकेन्द्रीकरण हुनुपर्नेमा केन्द्रीकृत भए । वित्तीय स्थायित्व भन्दै हामी मर्जरतिर गयौं ।’ उनको बुझाइमा एक समय मध्यम वर्गमा रहेकाहरूले बैंकबाट धितो राखेर कर्जा लिने गरेर आफ्नो आर्थिक अवस्था सुधारेका थिए । पछिल्लो समय त्यसमा कडाइ गरिएकाले ठूलो संख्यामा सर्वसाधारण अनौपचारिक क्षेत्रबाट ऋण लिन थाले ।

 

एक पूर्व बैकरले हङकङ, सिंगापुरजस्ता सिटी स्टेटमा लागू हुने वित्तीय मापदण्ड नेपालमा लागू गरिरहेको टिप्पणी गरे । पछिल्ला चार–पाँच वर्षयता हामीले वित्तीय क्षेत्रलाई संकुचित गर्दै लगेका छौं,’ उनले भने, ‘यसले सर्वसाधारणलाई कर्जा लिनका निम्ति साहु–महाजन वा मिटर ब्याजीकहाँ जानुपर्ने परिस्थिति निर्माण गरिदियो ।’

 

नेपाल प्रहरीका प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले मिटर ब्याजीको धन्दा चलाउने सर्लाहीका श्याम प्रदेशी पक्राउ परेको दृष्टान्त सुनाउँदै भने, ‘तोकिएको भन्दा धेरै ब्याजमा रकम चलाउने काम गैरकानुनी हो र यसमा संलग्नहरू पक्राउ पर्छन् नै ।’ डीआईजी क्षत्रीले कर्जा पाइयो भन्दैमा लिइहाल्ने अनि जस्तोसुकै सर्त मानेर पनि कर्जा लिने गर्दा मिटर ब्याजीको फन्दामा पर्ने गरेको बताए । उनले भने, ‘मिटर ब्याजीको फन्दामा पर्ने र आत्महत्या गर्ने वा त्यो विन्दुसम्म पुग्न बाध्य भएकाहरू कति छन् भन्नेबारे विस्तृत अध्ययन गर्नुपर्ने खाँचो देखिन्छ।

 

बारामा पनि बर्षाै देखि मिटर ब्याजकाे गैर कानुनी धन्दा राम्रैसंग फस्टाएकाे छ। यहाँका अधिकांश मिटर ब्याजी अपराधीहरूले आफ्नाे नाम पनि भगवानकाे नाम मै राखेका छन् । यिनले भगवानलाई समेत छाडेनन्। नाम पनि कृष्णा, बलिराम, राम बाबु, लालबाबु, कन्हैया, गाेपाल, गणेश, नारायण आदि जस्ता राखेका छन् भने काम धन्दा चाहिँ कंश र रावण भन्दा पनि निच र तल्लाे स्तरका गर्ने गरेका छन् ।

 

बाराका अधिकाशं शहरहरू कलैया, जीतपुर, सिमरा, निजगढ र काेल्भी लगायतका ठाउँमा यस्ता थुप्रै मिटर ब्याजी अघाेषित अपराधीहरू समाजमा राम्रै इज्जत,सम्मान, धाक धम्की तथा ऐस आरामकाे जीवन बिताइरहेका छन्। कलैयाका महेश सहनीका अनुसार उनले साेही ठाउँका एक प्रतिष्ठित र राम्राे राजनीतिक पकड भएका मिटर ब्याजी साहुसंँग रू. ५,००,०००/ लिएर जम्मा रू १४,००,०००/ मा एउटा माल बाहक गाडी किनेका थिए । अहिले ५ वर्षकाे अन्तरालमा उनले ब्याजकाे स्याजकाे प्याज गरी कति रकम साहुलाई बुझाए त्यसकाे यकिन लेखाजोखा नभएता पनि उनले आफु संग भएकाे बाईक बेचे, भएकाे पुर्ख्यौली जमिन समेत बेचे, श्रीमतीकाे गहनासम्म बेचे तर साहुकाे ऋण चुक्ता भएन। अन्त्यमा त्यही गाडी साहुकारकाे जिम्मा लगाएर त्याे भन्दा अरू सम्पति आफूसंग नरहेकाे भन्दै साहुकारसंग हात जाेडी विन्ती गरे । तर सहुकारले गाडीले आफ्नाे साँवा मात्रै असुल हुने भनी यस महिनाकाे ब्याज अपुग भएकाे जनाए । सहनीले आफ्नाे हातमा भएकाे सामसुङकाे माेबाइल समेत बुझाएर त्यहाबाट हिँडे ।

 

त्यसै गरी जीतपुरका एक जना कपडा व्यापरीले नाम नबताउने शर्तमा आफ्नाे ब्यापारमा घाटा भएपछि बैंककाे किस्ता बुझाउन मिटर ब्याजी साहु संग बजारकाे १ प्रतिशतमा (एक हप्ता दुई बजार हुन्छ।यस हिसाबले महिनाकाे ८% हुन जान्छ। सरल भाषामा एक लाखकाे महिनाकाे आठ हजार बुझ्नुस्) लिएर बैंकलाई किस्ता बुझाएको बताए । ब्यापारमा सुधार नआएकाेले पछिल्लाे दिनहरूमा बैंक तथा मिटर ब्याजकाे पनि ब्याज बुझाउन पटक पटक थप ऋण लिए। पछि ब्यापारमा केही सुधार भएपछि सबैकाे ब्याज र साँवा अलि अलि गर्दै तिरिरहे। जब उनलाई यो महसुस भयो कि अब जति गरे पनि याे मिटर ब्याजकाे ऋण कमाएर तिर्न सक्दिनँ तब आफ्नै नाममा रहेकाे जीतपुर बजारकाे ६ लेन राेडमै रहेकाे मल्टिस्टाेर भवन बेच्न खाेजे । उनले सो भवन बेच्न खोज्दा मिटर ब्याजीहरूले आफैले बनाएकाे ऋणको डब्बलकाे कपाली कागज र ब्ल्याङ्क चेकमा आफू खुशी रकम भरी अदालत मार्फत राेक्का गराएकाे दुखेसाे सुनाए ।

 

मिटर ब्याजीहरूकै समाजमा दबदबा रहेको उनले बताए । जबसम्म उनीहरूकाे पञ्जामा परिन्न तबसम्म उनीहरूलाई चिन्न सकिन्न किनकी उनीहरुले कहीँ राजनीतिको माहिर खेलाडीको मुकुन्डो लगाएका छन् त कसैले समाजसेवीकाे ट्याग भिरेका छन् । हात्तिकाे खाने दाँत र देखाउने दाँत फरक भए झैं यस्ता मिटर ब्याजीकाे पनि समाजका अगाडि देखाउने व्यवहार र व्यक्तिगतरुपमा प्रस्तुत हुने व्यवहारमा फरक फरक भूमिका हुन्छ। समाजका वास्तविक खलनायक यिनीहरू हुन् । फिल्मकाे खलनायक यिनका अगाडि फ्लप छन्।

 

हुन पनि हाे यस्ता ताकतवर र पहुँच भएका मिटर ब्याजीकाे विरूद्धमा कसैले जाहेरी किटानी दिन मान्दैनन् । भित्र भित्रै पिराेलिएर पीडितहरू अन्त्यमा आफ्नो जीवन अन्त्य गर्ने बाटाे नै राेज्दै छन् । सरकारले यस्ता कुपिशाच र राक्षसरूपी समाजका धमिराहरूकाे पहिचान गरी कानुनी कठघरामा उभ्याउन जरूरी छ।
अनि मात्र यस्ता अनैतिक र अनुचित लेनदेनकाे आपराधिक गतिविधिमा लगाम लगाउन सकिन्छ। हाेइन भने केही साेझा साझा र समाजमा ऐंचाे पैंचाे चलाउनेलाई मिटर ब्याजी पीडक भनी सताउने काम भएकाेले अहिले अति आवश्यक खाँचो र जरूरी पर्दासमेत गाँउघरमा पैसा नपाउने स्थिति आइसकेको सरकारकाे कार्वाहीमा अधिकांश कुख्यात मिटर ब्याजीहरू परे तापनि केही सिधा साधा व्यक्तिहरू जसले आवश्यकता परेकाे बखत ऐंचाे पैंचाे चलाए, यस्ता ब्यक्तिहरूलाई समेत नियतवस फसाइएकाे खबर पनि सुनेकै छाैँ । यी र यस्तै कुराहरुले गर्दा आज समाजमा एक अर्कालाई आर्थिकरूपमा सर सापट चलाउन पनि गार्हाे छ।

श्रीमानद्वारा श्रीमतीको हत्यापछि आत्महत्या

श्रीमानद्वारा श्रीमतीको हत्यापछि आत्महत्या

मनोज  शाह, जीतपुर बारा, चैत्र ७ गते


मोरङको बेलबारी नगरपालिका वडा नं.१ भेडा टोलमा घर भएका ६० वर्षीय बमबहादुर लिम्बूले ४५ वर्षीय आफनै श्रीमती गीता लिम्बूको हत्या गरेपछि आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ।

 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार मङ्गलबार राति करिब १ बजेतिर बमबहादुर लिम्बुले यो घटना घटाएको जनाएका छन् । डीएसपी दाहालका अनुसार बमबहादुर लिम्बुले आफ्नी श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेर हत्या गरेलगत्तै सोही हतियारले आफ्नो घाँटी रेटेर आत्महत्या गर्ने प्रयास गरेका थिए । घाइते अवस्थामा फेला परेका बमबहादुर लिम्बूको नोबेल मेडिकल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

दोस्रो विवाह गरेका बमबहादुर र गीताका एक ८ वर्षीय छोरा पनि रहेको र बमबहादुरले छोरामाथि समेत आक्रमण गर्न खोजेपछि छोराले भागेर ज्यान जोगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको कारण अहिले नखुलेको र घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको पनि डीएसपी दाहालले बताए

मधेश प्रदेशका थोरै स्थानमा चट्याङ्ग सहित छिटफुट देखि हल्का बर्षा

मधेश प्रदेशका थोरै स्थानमा चट्याङ्ग सहित छिटफुट देखि हल्का बर्षा

मनाेज शाह जितपुर बारा चैत ७ गते:

पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय बायुको आंशिक प्रभाव नेपालमा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार जसको प्रभावले देशभरी आंशिक देखि लिएर साधारणतय आज बदली रहने छ । खास गरेर कोशी, मधेश प्रदेशका थोरै स्थानमा चट्याङ्ग सहित छिटफुट देखि हल्का बर्षा हुने सम्भावना रहेको हो । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भु भागका एक दुई स्थानमा छिटफुट रुपमा हिमापात भईरहेका छन् ।
आज दिउसो कोशी, मधेश, वागमती र गण्डकी प्रदेश सहित पहाडी भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएका छन् ।
कोशी, मधेस र बागमती प्रदेशको थोरै स्थानहरूमा साथै बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी ,मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश सहित पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेश सहित देशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बिहीबार पनि देशभरी आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, मधेस र बागमती प्रदेशको थोरै स्थानहरूमा साथै बाँकी देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

खानेपानीको विकासका लागि थप टेवा पुर्‍याउन सिमराबासी जागरुक : सिमरा खानेपानीको लागि थप बजेटको माग गर्दै मन्त्रीसमक्ष ज्ञापन पत्र पेस

खानेपानीको विकासका लागि थप टेवा पुर्‍याउन सिमराबासी जागरुक : सिमरा खानेपानीको लागि थप बजेटको माग गर्दै मन्त्रीसमक्ष ज्ञापन पत्र पेस

 

मनोज शाह, जीतपुर बारा, चैत्र ७ गते

 

जीतपुरसिमरा उपमहानगरपालिकाको सिमराका जनताहरुले भविष्यमा शुद्ध खानेपानीको समस्या आउन नदिन अहिलेदेखि जागरुकता देखाएका छन् । सिमरा क्षेत्रमा शुद्ध खानेपानीको थप विकासका लागि यहाँका स्थानीय,बुद्धिजीवीहरु लगायतकाले मिलेर मन्त्रीसमक्ष पहल गर्न गएका छन् ।

 

केही दिन अघि मात्रै केन्द्रमा नयाँ मन्त्रीमण्डल गठन भएपछि सिमराबासीहरुको आशा पूरा हुने विश्वास लिएर यहाँका स्थानीय, बुद्धिजीवी मिलेर खानेपानी मन्त्रीलाई प्रत्यक्ष भेट्न पुगेका छन् । सिमरा खानेपानीको अध्यक्ष कासिम अंसारीको नेतृत्वमा ३ सदस्यीय टोली सिमरास्थित खानेपानीको विकासको लागि सरकारले थप बजेट छुट्याउनुपर्ने माग राख्दै खानेपानी मन्त्री राजेन्द्र राईसमक्ष ज्ञापन पत्र पेस गरेका छन् । सिमराबासीको दैनिक जीवन तथा यस क्षेत्रमा खानेपानीको समस्या कहिल्यै आउन नदिनका लागि केन्द्रबाट उचित थप बजेटसमेत छुट्याइने कुराको आश्वासन खानेपानी मन्त्रीले व्यक्त गर्नुभयो ।