एमाले केन्द्रीय सदस्य सरावगीको रास्वपा सदस्यता विवरण सार्वजनिक, प्रवेशको चर्चा चुलियो
वीरगञ्जका पूर्वनगर प्रमुख विजयकुमार सरावगीले रास्वपाको सदस्यता लिएको विवरण सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तरंग आएको छ।

स्पर्श खबरलाई प्राप्त विवरणअनुसार सरावगीले आजै अनलाइनमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्यता प्रक्रिया पूरा गरेको देखिएको छ। विवरणमा उनको नामसँगै पार्टी सदस्य आईडी PRS1ख-000435776 उल्लेख छ।
उक्त सदस्यता ‘centeroffice1’ बाट प्रमाणीकरण गरिएको देखिएको विवरणमा उल्लेख छ। नेकपा एमालेका निर्वाचित केन्द्रीय सदस्यसमेत रहेका सरावगी रास्वपामा प्रवेश गर्ने तयारीमा रहेको चर्चा चलिरहेका बेला सदस्यता विवरण सार्वजनिक भएपछि उनको राजनीतिक यात्राबारे थप चासो बढेको छ।
यद्यपि, सदस्यता विवरण सार्वजनिक हुनु र औपचारिक रूपमा पार्टी प्रवेश घोषणा हुनु फरक विषय भएकाले सरावगी वा रास्वपाको आधिकारिक धारणा आउन बाँकी छ।