मिटर ब्याजको फन्दाबाट उम्कन मुस्किल”
मनोज शाह, जीतपुर बारा,चैत्र ८ गते
बैंक र वित्तीय संस्थाले कडाइ गरेपछि अनौपचारिक स्रोतबाट अनेकन सर्त मानेर लिएको ऋण तिर्नै नसक्ने परिस्थितिमा पुगेपछि मानिसहरु आत्महत्या गर्न अग्रसर हुने घटना बढेका छन् । बारा जिल्लाकी कलिता देवीले मिटर ब्याजबारे आफ्नो विचार राख्दै भनिन् , ‘मिटर ब्याजमा पैसा लगाउने अनि ऋणीले भनेको समयमा तिर्न नसके मिटर ब्याज डबल–तेब्बर बनाउने र ऋणीलाई मर्न बाध्य बनाउने गिरोहको आपराधिक गतिविधि अत्यधिक बढेको छ ।’ उनले आफ्नो विचार थप्दै जितपुरसिमरा उपमहानगरपालिकामा मिटर ब्याज अत्यधिक बढेको छ भन्ने कुराकाे समेत जानकारी गराइन् । एक पूर्व प्रहरीले आफ्नो अनुभवका आधारमा मिटर ब्याजको धन्दा सतहमा नदेखिए पनि भित्रभित्रै फैलिएको बताए । उनले मिटर ब्याजकै कारण कैयन् मानिस डिप्रेसनको चरम विन्दुमा पुगेको अनुमान सुनाए । उनले भने, ‘चेक बाउन्सका कैयन् घटनाभित्र मिटर ब्याजको कथा भेटिन्छ ।’ एक अर्का पीडितले मिटर ब्याजले आफू बर्बाद भएको र ढुकुटीको चक्करमा परेर ४९ लाख रुपैयाँ, तीनतले घर र दुई कट्ठा जमिन गुमाएको बताइन् ।
अनौपचारिक स्रोतहरूबाट अनेकन सर्त मानेर ऋण लिने अनि सर्तहरूमा जेलिएर कर्जा तिर्नै नसक्ने परिस्थितिमा पुगेर आत्महत्या गर्न अग्रसर हुने घटनामा कमी आएको देखिँदैन । नेपाल राष्ट्र बैंक ऐनको दफा ७६ ले राष्ट्र बैंकको अनुमतिबिना निक्षेप लिन तथा कर्जा प्रवाह गर्न पाइँदैन भन्ने नियम भएपनि अनौपचारिक अर्थतन्त्रको फैलावट बढ्दै जाँदा मिटर ब्याजको धन्दा चलाउनेहरूको संख्या बढ्दो देखिन्छ ।
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा कर्जाका लागि मिटर ब्याजीको शरणमा पर्ने र चर्को ब्याजदरका कारण सर्वसाधारणले आत्महत्या गर्नुपर्ने घटनालाई बुझ्न सर्वसाधारणको वित्तीय पहुँचका लागि राज्यले के गर्यो भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने बताउँछन् । उनका अनुसार पछिल्ला वर्षहरूमा सुरु भएको बैंकहरूको मर्जर प्रणाली र कर्जा दिने सर्तहरूमा गरिएको परिवर्तनले सर्वसाधारणलाई बैंकबाट कर्जा पाउन मुस्किल बन्दै गएको छ । उनले मर्जर नीतिपछि ८८ वटा विकास बैंक २५ मा झरेको र ७९ वित्त कम्पनी मर्ज भएर २२ मा झरेको बताए । उनले भने, ‘वित्तीय संस्था र बैंकहरू विकेन्द्रीकरण हुनुपर्नेमा केन्द्रीकृत भए । वित्तीय स्थायित्व भन्दै हामी मर्जरतिर गयौं ।’ उनको बुझाइमा एक समय मध्यम वर्गमा रहेकाहरूले बैंकबाट धितो राखेर कर्जा लिने गरेर आफ्नो आर्थिक अवस्था सुधारेका थिए । पछिल्लो समय त्यसमा कडाइ गरिएकाले ठूलो संख्यामा सर्वसाधारण अनौपचारिक क्षेत्रबाट ऋण लिन थाले ।
एक पूर्व बैकरले हङकङ, सिंगापुरजस्ता सिटी स्टेटमा लागू हुने वित्तीय मापदण्ड नेपालमा लागू गरिरहेको टिप्पणी गरे । पछिल्ला चार–पाँच वर्षयता हामीले वित्तीय क्षेत्रलाई संकुचित गर्दै लगेका छौं,’ उनले भने, ‘यसले सर्वसाधारणलाई कर्जा लिनका निम्ति साहु–महाजन वा मिटर ब्याजीकहाँ जानुपर्ने परिस्थिति निर्माण गरिदियो ।’
नेपाल प्रहरीका प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले मिटर ब्याजीको धन्दा चलाउने सर्लाहीका श्याम प्रदेशी पक्राउ परेको दृष्टान्त सुनाउँदै भने, ‘तोकिएको भन्दा धेरै ब्याजमा रकम चलाउने काम गैरकानुनी हो र यसमा संलग्नहरू पक्राउ पर्छन् नै ।’ डीआईजी क्षत्रीले कर्जा पाइयो भन्दैमा लिइहाल्ने अनि जस्तोसुकै सर्त मानेर पनि कर्जा लिने गर्दा मिटर ब्याजीको फन्दामा पर्ने गरेको बताए । उनले भने, ‘मिटर ब्याजीको फन्दामा पर्ने र आत्महत्या गर्ने वा त्यो विन्दुसम्म पुग्न बाध्य भएकाहरू कति छन् भन्नेबारे विस्तृत अध्ययन गर्नुपर्ने खाँचो देखिन्छ।
बारामा पनि बर्षाै देखि मिटर ब्याजकाे गैर कानुनी धन्दा राम्रैसंग फस्टाएकाे छ। यहाँका अधिकांश मिटर ब्याजी अपराधीहरूले आफ्नाे नाम पनि भगवानकाे नाम मै राखेका छन् । यिनले भगवानलाई समेत छाडेनन्। नाम पनि कृष्णा, बलिराम, राम बाबु, लालबाबु, कन्हैया, गाेपाल, गणेश, नारायण आदि जस्ता राखेका छन् भने काम धन्दा चाहिँ कंश र रावण भन्दा पनि निच र तल्लाे स्तरका गर्ने गरेका छन् ।
बाराका अधिकाशं शहरहरू कलैया, जीतपुर, सिमरा, निजगढ र काेल्भी लगायतका ठाउँमा यस्ता थुप्रै मिटर ब्याजी अघाेषित अपराधीहरू समाजमा राम्रै इज्जत,सम्मान, धाक धम्की तथा ऐस आरामकाे जीवन बिताइरहेका छन्। कलैयाका महेश सहनीका अनुसार उनले साेही ठाउँका एक प्रतिष्ठित र राम्राे राजनीतिक पकड भएका मिटर ब्याजी साहुसंँग रू. ५,००,०००/ लिएर जम्मा रू १४,००,०००/ मा एउटा माल बाहक गाडी किनेका थिए । अहिले ५ वर्षकाे अन्तरालमा उनले ब्याजकाे स्याजकाे प्याज गरी कति रकम साहुलाई बुझाए त्यसकाे यकिन लेखाजोखा नभएता पनि उनले आफु संग भएकाे बाईक बेचे, भएकाे पुर्ख्यौली जमिन समेत बेचे, श्रीमतीकाे गहनासम्म बेचे तर साहुकाे ऋण चुक्ता भएन। अन्त्यमा त्यही गाडी साहुकारकाे जिम्मा लगाएर त्याे भन्दा अरू सम्पति आफूसंग नरहेकाे भन्दै साहुकारसंग हात जाेडी विन्ती गरे । तर सहुकारले गाडीले आफ्नाे साँवा मात्रै असुल हुने भनी यस महिनाकाे ब्याज अपुग भएकाे जनाए । सहनीले आफ्नाे हातमा भएकाे सामसुङकाे माेबाइल समेत बुझाएर त्यहाबाट हिँडे ।
त्यसै गरी जीतपुरका एक जना कपडा व्यापरीले नाम नबताउने शर्तमा आफ्नाे ब्यापारमा घाटा भएपछि बैंककाे किस्ता बुझाउन मिटर ब्याजी साहु संग बजारकाे १ प्रतिशतमा (एक हप्ता दुई बजार हुन्छ।यस हिसाबले महिनाकाे ८% हुन जान्छ। सरल भाषामा एक लाखकाे महिनाकाे आठ हजार बुझ्नुस्) लिएर बैंकलाई किस्ता बुझाएको बताए । ब्यापारमा सुधार नआएकाेले पछिल्लाे दिनहरूमा बैंक तथा मिटर ब्याजकाे पनि ब्याज बुझाउन पटक पटक थप ऋण लिए। पछि ब्यापारमा केही सुधार भएपछि सबैकाे ब्याज र साँवा अलि अलि गर्दै तिरिरहे। जब उनलाई यो महसुस भयो कि अब जति गरे पनि याे मिटर ब्याजकाे ऋण कमाएर तिर्न सक्दिनँ तब आफ्नै नाममा रहेकाे जीतपुर बजारकाे ६ लेन राेडमै रहेकाे मल्टिस्टाेर भवन बेच्न खाेजे । उनले सो भवन बेच्न खोज्दा मिटर ब्याजीहरूले आफैले बनाएकाे ऋणको डब्बलकाे कपाली कागज र ब्ल्याङ्क चेकमा आफू खुशी रकम भरी अदालत मार्फत राेक्का गराएकाे दुखेसाे सुनाए ।
मिटर ब्याजीहरूकै समाजमा दबदबा रहेको उनले बताए । जबसम्म उनीहरूकाे पञ्जामा परिन्न तबसम्म उनीहरूलाई चिन्न सकिन्न किनकी उनीहरुले कहीँ राजनीतिको माहिर खेलाडीको मुकुन्डो लगाएका छन् त कसैले समाजसेवीकाे ट्याग भिरेका छन् । हात्तिकाे खाने दाँत र देखाउने दाँत फरक भए झैं यस्ता मिटर ब्याजीकाे पनि समाजका अगाडि देखाउने व्यवहार र व्यक्तिगतरुपमा प्रस्तुत हुने व्यवहारमा फरक फरक भूमिका हुन्छ। समाजका वास्तविक खलनायक यिनीहरू हुन् । फिल्मकाे खलनायक यिनका अगाडि फ्लप छन्।
हुन पनि हाे यस्ता ताकतवर र पहुँच भएका मिटर ब्याजीकाे विरूद्धमा कसैले जाहेरी किटानी दिन मान्दैनन् । भित्र भित्रै पिराेलिएर पीडितहरू अन्त्यमा आफ्नो जीवन अन्त्य गर्ने बाटाे नै राेज्दै छन् । सरकारले यस्ता कुपिशाच र राक्षसरूपी समाजका धमिराहरूकाे पहिचान गरी कानुनी कठघरामा उभ्याउन जरूरी छ।
अनि मात्र यस्ता अनैतिक र अनुचित लेनदेनकाे आपराधिक गतिविधिमा लगाम लगाउन सकिन्छ। हाेइन भने केही साेझा साझा र समाजमा ऐंचाे पैंचाे चलाउनेलाई मिटर ब्याजी पीडक भनी सताउने काम भएकाेले अहिले अति आवश्यक खाँचो र जरूरी पर्दासमेत गाँउघरमा पैसा नपाउने स्थिति आइसकेको सरकारकाे कार्वाहीमा अधिकांश कुख्यात मिटर ब्याजीहरू परे तापनि केही सिधा साधा व्यक्तिहरू जसले आवश्यकता परेकाे बखत ऐंचाे पैंचाे चलाए, यस्ता ब्यक्तिहरूलाई समेत नियतवस फसाइएकाे खबर पनि सुनेकै छाैँ । यी र यस्तै कुराहरुले गर्दा आज समाजमा एक अर्कालाई आर्थिकरूपमा सर सापट चलाउन पनि गार्हाे छ।