डोजरले घर भत्कायो, होल्डिङ सेन्टरले पीडा थप्यो : सुकुमबासीको आँसु तस्बिरमा कैद
काठमाडौं । विश्व बसोबास दिवसको अवसरमा काठमाडौंको थापाथलीस्थित सुकुमबासी बस्तीमा भएको डोजर आतंक, विस्थापन र होल्डिङ सेन्टरमा भोग्नुपरेको पीडालाई तस्बिरमार्फत सार्वजनिक गरिएको छ।

सोमबार आयोजित फोटो प्रदर्शनीमा ‘घर खोसिएको पीडा’देखि विस्थापनपछिको अनिश्चित जीवनसम्मका दर्दनाक दृश्य प्रस्तुत गरिएको थियो। नेपाल महिला एकता समाज र पारिजात क्वेर फेमिनिस्ट कलेक्टिभले आयोजना गरेको प्रदर्शनीमा राज्यको डोजर अभियानबाट प्रभावित परिवारको अवस्था सांकेतिक रूपमा देखाइएको आयोजकले जनाएको छ।
प्रदर्शनीमा थापाथली, मनोहरा र टेकुलगायतका सुकुमबासी बस्ती हटाउने क्रममा खिचिएका तस्बिरहरू राखिएका थिए। तस्बिरहरूले वर्षौँदेखि बसोबास गर्दै आएका परिवारलाई एकाएक घरबारविहीन बनाउँदा सिर्जना भएको त्रास, पीडा र विस्थापनको अवस्थालाई उजागर गरेका थिए।

आयोजकका अनुसार सुकुमबासीको समस्या केवल अव्यवस्थित बस्ती हटाउने विषय मात्र नभई मानव अधिकार, सुरक्षित आवास र सम्मानपूर्वक बाँच्न पाउने अधिकारसँग जोडिएको विषय हो। तर समस्या समाधानको दीर्घकालीन विकल्प नदिई डोजर चलाउँदा पीडित परिवार थप संकटमा परेको उनीहरूको भनाइ छ।