जीतपुरसिमरा उमनपा -५ मा दादुरा रुबेला खोप अभियान सञ्चारकर्मीहरु अभिमुखीकरण गाेष्ठी सम्पन्न

जीतपुरसिमरा उमनपा -५ मा दादुरा रुबेला खोप अभियान सञ्चारकर्मीहरु अभिमुखीकरण गाेष्ठी सम्पन्न

मनोज कुमर शाह, जीतपुर, बारा, फागुन ११ गते

 

जीतपुरसिमरा उमनपा वडा नं. ५ बकुलियामा आज दादुरा रुबेला खोप अभियान २०८०/८१ सन्चालन सञ्चारकर्मीहरु अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्धन शाखा प्रमुख रवि कुमार भाष्करले जीतपुरसिमरा उमनपा क्षेत्रका सम्पूर्ण सञ्चारकर्मीहरुलाइ दादुरा रुबेलासम्बन्धी गाेष्ठी सम्पन्न गरेकाे छ ।

 

सन् २०२६ सम्म्मा नेपालभरिबाट दादुरा रुबेला रोग पूर्णरुपमा निवारण गर्ने लक्ष्य पूर्तिका लागि यस जीतपुरसिमरा उमनपा क्षेत्रभरिका ९ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई यही फागुन १३ गतेदेखि १७ गतेसम्म पालिकाभरिका सबै स्वास्थ्य कार्यालयमा उपलब्ध हुने दादुरा रुबेलासम्बन्धी खोप लगाउन रवि कुमार भाष्करले सर्वसाधारणलाई आह्वान समेत गरेका छन् । पालिकाभरिका सञ्चारकर्मीकाे उपस्थिति रहेको थियोे ।

 

जीतपुरसिमरा उमनपा -५ मा दादुरा रुबेला खोप अभियान सन्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

जीतपुरसिमरा उमनपा -५ मा दादुरा रुबेला खोप अभियान सन्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

 

मनोज  शाह, जीतपुर, बारा, फागुन १० गते

जीतपुरसिमरा उमनपा वडा नं. ५ बकुलियामा आज दादुरा रुबेला खोप अभियान २०८०/८१ सन्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ । मधेस प्रदेश सभा सदस्य माननीय देवनारायण चौधरीको प्रमुख आतिथ्यमा सन्चालन भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्धन शाखा प्रमुख रवि कुमार भाष्करले जीतपुरसिमरा उमनपा क्षेत्रका सम्पूर्ण स्वास्थ्यकर्मीलाई दादुरा रुबेलासम्बन्धी तालिम प्रदान गरेका थिए ।

सन् २०२६ सम्म्मा नेपालभरिबाट दादुरा रुबेला रोग पूर्णरुपमा निवारण गर्ने लक्ष्य पूर्तिका लागि यस जीतपुरसिमरा उमनपा क्षेत्रभरिका ९ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई यही फागुन १३ गतेदेखि १७ गतेसम्म पालिकाभरिका सबै स्वास्थ्य कार्यालयमा उपलब्ध हुने दादुरा रुबेलासम्बन्धी खोप लगाउन रवि कुमार भाष्करले सर्वसाधारणलाई आह्वान समेत गरेका छन् ।

कार्यक्रममा जीतपुरसिमरा उमनपा उपप्रमुख भोला प्रसाद अधिकारी, जीतपुरसिमरा उमनपाको प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादलगायतको उपस्थिति थियो ।

 

पर्सामा हतियार सहित दुई जना पक्राउ

पर्सामा हतियार सहित दुई जना पक्राउ

मनोज शाह, जीतपुर बारा, फागुन १० गते

मिति २०८०।११।०९ गते अन्दाजी १०:३० बजेको समयमा विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पर्सा बहुदरमाई न.पा. वडा नं.९ स्थित सडकखण्डमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा ना १२ प ४९७१ नम्बरको मोटरसाईकल चालक पर्सा कालिकामाई गा.पा. वडा नं. ५ निवासी वर्ष ४३ को दिपेन्द्र गिरीलाई कानुनी रीतपुर्‍याई खानतलासी गर्दा निजले लगाएको कालो रंङको ज्याकेटको वाँया साइडको गोजीमा लुकाई छिपाई राखेको अवस्थामा अबैध नलकटुवा पेस्तोल १ थान फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ध्रुब कुमार श्रेष्ठले जानकारी दिए ।

सोही मोटरसाइकल पछाडि सवार ऐ. पोखरीया न.पा. वडा नं. ९ बस्ने अन्दाजी वर्ष ३७ को शिवपुजन मुखिया समेतलाई नियन्त्रणमा लिई उक्त पेस्तोल बरामद गरी निजहरू विरुद्ध हातहतियार सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ध्रुब कुमार श्रेष्ठले जानकारी दिए ।

 

२३ दिन पैदल हिँडेर राजधानी पुगे मिटरब्याज पीडित न्यायकाे

२३ दिन पैदल हिँडेर राजधानी पुगे मिटरब्याज पीडित न्यायकाे

जितपुर बारा फागुन १० गते:

न्यायको माग गर्दै पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकसाथ पैदलमार्चमा निस्किएका चार हजार मिटरब्याजपीडितहरू बुधबार काठमाडौं आइपुगेका छन् ।

मिटर ब्याजी साहूको पासोबाट छुटकारा पाउन माग गर्दै २३ दिनको पैदल यात्रापछि बुधबार साँझ थानकोटबाट काठमाडौं प्रवेश गरेका हुन् ।

माघ १६ मा यात्रा थालेयता निरन्तर सडकमै गाँसबास गरेर आएका उनीहरूले बुधबार राति त्रिभुवन पार्कमा चिसो भुँइमा रात कटाए । उनीहरूले आज बिहीबार सिंहदरबार मार्च गर्दैछन् । सरकारलाई झक्झकाउन र न्यायका लागि दबाब दिन थानकोटदेखि सिंहदरबारसम्म पैदलमार्च गर्ने कार्यक्रम रहेको मिटरब्याज तथा ठगीविरुद्ध किसान संघर्ष समितिका प्रवक्ता नीर्ग नवीनले बताए ।

‘हामी तीन वर्षदेखि संघर्षमा छौँ । पटक-पटक आन्दोलन गर्नुपरेको छ । सरकारसँग बार्ता पनि भएको छ । तर सरकारले हामीलाई न्याय दिन चाहेको छैन,’ उनले भने, ‘सरकारले जाँचबुझ आयोग बनायो, ३० हजार पीडितको उजुरी लियो । तर कारबाही गरेन । त्यहीकारण हामी फेरि संघर्षमा उत्रिनु परेको छ ।’ उनले तराईका २० जिल्ला र भित्री मधेशका आठ गरी २८ जिल्लाका पीडितहरूले यसपटक एकसाथ देशव्यापी पैदलमार्च गरेको बताए । उनीहरूले ६ प्रदेशका २३ जिल्ला पार गरेर काठमाडौं आइपुगेका हुन् ।

‘बिहीबार थानकोटदेखि सिंहदरबारसम्म मार्च गर्छौ । शुक्रबार ऐक्यबद्धता सभा हुन्छ,’ प्रवक्ता नवीनले भने, ‘ऐक्यबद्धता सभामा सबैलाई सहभागी भएर ऐक्यबद्धता जनाउन हाम्रो आग्रह छ ।’ समितिले मिटरब्याजपीडित किसान, मजदुर, साना व्यवसायी र सबै खाले वित्तीय शोषणबाट उत्पीडितहरूको न्यायका लागि संस्थागत र व्यक्तिगत प्रतिनिधित्वसहित मिटरब्याजपीडितविरुद्धको न्याय मार्चलाई ऐक्यबद्धता जनाउन आग्रह गरेको छ ।
सरकारले यसअघि मिटर ब्याजपीडितका समस्या सम्बोधन गर्न जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले पाँच हजार पीडितका समस्या सुल्झाएपनि बाँकीका समस्याको जानकारी मात्रै बटुलेर सरकारलाई प्रतिवेदन बुझाएको छ । तर सरकारले सो प्रतिवेदनमाथि कुनै कारबाही अघि बढाएको छैन । सम्झौताबमोजिम सरकारले कुनै काम पहल नगरेपछि आफूहरू फेरि संघर्षमा उत्रिनु परेको समितिका अध्यक्ष अवधेशकुमार कुशवाहाले बताए ।

मिटरब्याजपीडितहरू यसअघि गत चैतमा पनि पैदलै काठमाडौं आएका थिए । त्यतिखेर सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याजपीडित जाँचबुझ आयोग गठन गरेको थियो ।

सम्माननीय प्रधानमन्त्रीज्यू बाट महोत्सवको उदघाटन हुने

‘सम्माननीय प्रधानमन्त्रीज्यू बाट महोत्सवको उदघाटन हुने‘

मनोज कुमार शाह, जीतपुर बारा, फागुन ९ गते

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. ३ बजनीमा जितपुरसिमरा नगर उद्योग बाणिज्य संघले “कृषि -पर्यटन , खेल -उद्योग र ब्यापार !
जितपुरसिमरा बारा , मधेस समृधिको मुख्य आधार !!” भन्ने मूल उद्देश्यका साथ (1st JeetpurSimara Expo 2024 ) ‘ प्रथम जितपुरसिमरा महोत्सव २०८० ‘ को आयोजना गर्न लागेको छ । महोत्सव यही फाल्गुन १८ गतेदेखि २९ गतेसम्म आयोजना हुनेछ ।

जितपुरसिमरा नगर उद्योग बाणिज्य संघ जितपुरका अध्यक्ष मोहन शर्माले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको कार्यालय सिंहदरवार काठमाडौमा भेटेर प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरी महोत्सवको उदघाटनसमेत गरिदिनका लागि औपचारिक निमन्त्रणा दिनुभएको छ । महोत्सवलाई बृहत् रुपले सफल बनाउन बारा क्षेत्र नं.४ का जनताका सेवक एवम् प्रतिनिधिसभा सद्स्य तथा पूर्व मन्त्री माननीय श्री कृष्ण कुमार श्रेष्ठ (किसान ) ज्यूको विशेष पहलमा प्रधानमन्त्रीज्यूलाई आमन्त्रण गर्न लागिएको महोत्सवको आयोजक समितिले जनाएको छ ।

 

गढीमाई साझेदारी वन व्यवस्थापन समिति, पथलैयामा व्यापक भ्रष्टाचार

गढीमाई साझेदारी वन व्यवस्थापन समिति, पथलैयामा व्यापक भ्रष्टाचार

मनोज शाह, जीतपुर बारा, फागुन ९ गते

जीतपुरसिमरा उमनपा -१ पथलैयामा अवस्थित गढीमाई साझेदारी वन व्यवस्थापन समितिमा व्यापक भ्रष्टाचार भएको छ । आ.व. २०८०/८१ साउन १५ गतेदेखि भदौ १५ गतेसम्मका लागि यस कार्यालयले काठ बिक्री वितरणका लागि सूचना निकालेको थियो । सोही सूचनाअनुसार गढीमाई साझेदारी वन व्यवस्थापन समिति पथलैयाको कार्यालयमा १९२ ओटा निवेदन तथा बाराको प्रसौनीमा ६१४ ओटा निवेदन गरी जम्मा ८०६ ओटा निवेदन परेकोमा समितिद्वारा निर्णय गरी ८३ जना उपभोक्तालाई मात्रै गढीमाई साझेदारी वन व्यवस्थापन समितिले काठ उपलब्ध गराएको थियो ।

वन उपभोक्ता समितिमा निवेदन पेश भएका ८०६ जना उपभोक्ताबाट राजस्वस्वरुप रु. १०० का दरले गढीमाई साझेदारी वन व्यवस्थापन समितिले असुल गरे पनि सो को रसिद कसैलाई पनि नदिएको उपभोक्ताहरुले गुनासो गरेका छन् । यसबारे गढीमाई साझेदारी वन व्यवस्थापन समिति, पथलैयाका लेखा अधिकृत नरेन्द्र झासँग बुझ्दा जम्मा १०० जनाले मात्रै पैसा दिएको स्वीकार गरे तर त्यो रकम अहिलेसम्म बैंकमा दाखिला नभएको बताए ।

ऐन नियमले तोकेअनुसार संकलन गरिएको राजस्व समयमै बैंकको खातामा जम्मा गर्नुपर्ने हो तर लगभग ६ महिनाभन्दा बढी समय बितिसक्दा पनि संकलित रकम बैंकमा जम्मा नभएको देखिएको छ । यसैबारे गढीमाई साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष एकबाल साहसँग फोनमार्फत् बुझ्न खोज्दा उनले जवाफ दिन चाहेनन् ।

यसबारे जिल्ला वन कार्यालय, सिमराका प्रमुख बिनोद सिंहसँग बुझ्दा आफूले गढीमाई साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष एकबाल साहलाई संकलित रकम चाँडै बैंकमा जम्मा गर्न भनिसकेको जानकारी दिए ।

 

जि.प्र.का. पर्साद्वारा सर्वपक्षीय बैठक आह्वान : महत्त्वपूर्ण निर्णयहरू पारित

जि.प्र.का. पर्साद्वारा सर्वपक्षीय बैठक आह्वान : महत्त्वपूर्ण निर्णयहरू पारित

मनाेज शाह जितपुर बारा  फाल्गुन ८ गते:

। पर्साको वीरगञ्जमा दुई फरक धर्म समुदायबिचकाे द्वन्द्वका कारण साेमबारदेखि उत्पन्न भएको तनावग्रस्त अवस्थालाई नियन्त्रणमा लिने उद्देश्यले आज मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वदलीय-सर्वपक्षीय बैठकले वीरगञ्जमा सदियाैंदेखि कायम रहेको जातीय तथा धार्मिक सद्भावलाई अझै बलियो बनाउने निर्णय गरेकाे छ।

अनादि कालदेखि कायम रहेको नेपाली जनताबिचकाे सुमधुर सम्बन्ध, भाइचारा र एकतालाई विखण्डन गर्न खाेज्नेहरुको दुष्प्रयासलाई निष्फल पार्न सबै पक्ष एकजुट भई अघि बढ्न बैठकले आग्रह गरेको छ ।

धार्मिकस्थलहरुमा नाराबाजी, जुलुस लगायतका विराेधका कार्यक्रम नगर्ने नगराउने र यस्ता किसिमका गतिविधि गर्नेलाई कानुनी कारबाहीकाे दायरामा ल्याउन प्रहरी प्रशासनलाई सहयाेग गर्ने लगायतका अन्य सहमति पनि भएकाे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी गराए। डिजे बजाउने र चर्काे स्वरमा माइक बजाउने, राँके जुलुस, लाठीभाला सहितकाे जुलुस निकाल्ने लगायतका कृयाकलाप गर्ने विरुद्ध कानुन बमाेजिम कारबाही गर्न प्रशासन समक्ष अनुराेध गर्ने र यसमा सबै दलले सहयाेग गर्ने सहमित पनि भएकाे उनले बताए ।

जिल्लाकाे शान्ति सुरक्षा र अमन चयनलाई खलल पर्ने किसिमका धार्मिक र सामाजिक सदभाव बिगार्ने एंव द्वन्दलाई उस्काउने प्रकारका अवाञ्छित गतिविधि साथै धार्मिक , सम्प्रदायिक रयाली,जुलुस, बन्द हडताल लगायतका गतिवधि कुनै पनि संघसंस्था र समुदायले नगर्ने र यसमा सबै दल, नागरिक समाज र संघसंस्थाले सहयाेग गर्ने निर्णय बैठकले गरेको छ । सामाजिक सञ्जालमा कुनैपनि जातजाति, धर्म वा समुदायलाई लक्षित गरी नकारात्मक कुराहरु पाेष्ट गर्ने गराउने उपर प्रशासनले कडा कारबाही गर्ने निर्णयसमेत भएकाे छ ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा बसेकाे बैठकमा प्रतिनिधि सभा सदस्य प्रदीप यादव, प्रदेश सरकारका पर्यटन राज्यमन्त्री रहबर अन्सारी, वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह, नेकपा एमालेका जिल्ला संयाेजक विश्वम्भर शर्मा, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, नेपाली कांग्रेसका नेता नरेन्द्र साह, जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बालगाेपाल थापा,लाेसपाका जिल्ला अध्यक्ष पुरुषाेत्तमलाल झा, राप्रपाका पन्नालाल पटेल, पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा,सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्य , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , उपाध्यक्ष युवराज खड्का लगायतकाे सहभागिता रहेको थियो ।

कृपा दैनीकको २१ औं बार्षिकोत्सव सम्पन्न, ठाकुर, महत र पोख्रेल पुरस्कृत

कृपा दैनीकको २१ औं बार्षिकोत्सव सम्पन्न, ठाकुर, महत र पोख्रेल पुरस्कृत

स्पर्श खबर जितपुर बारा फागुन ५ गते:

निजगढ,बाराको निजगढमा कृपा दैनिक पत्रिकाले शनिबार एक बिशेष कार्यक्रमको आयोजना गरी २१ औं बार्षिकोत्सव मनाएको छ ।

 

प्रेस काउन्सीलमा अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आथित्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कृपा दैनिक पत्रिकाले स्थापना गरेको दुई पुरस्कार उमादेवी स्मृति पत्रकारिता पुरस्कारबाट रौतहटका पत्रकार फणी महत र सर्लाहीका पत्रकार ओम प्रकाश ठाकुर पुरस्कृत भए ।

 

चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार बाराकी पत्रकार शारदा पोखरेललाई प्रदान गरिएको छ ।

कार्यक्रममा पुरस्कार राशी प्राप्त गर्ने सर्लाहीका पत्रकार ओमप्रकाश ठाकुरले अर्का पत्रकार अन्नपूूर्ण पोष्टका रौतहट सम्वाददाता उपचाररत फणिदेव महतलाई हस्तान्तरण गरेर मित्रताको अनुपम उदाहरण प्रस्तुत गरे ।

 

ठाकुरको यो काम पून्यको काम भएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्रीले बताए । कार्यक्रममा राकेश पाण्डेय, पुष्प खतिवडा र महेश्वर अधिकारीलाई पृपा दैनीकले सम्मान गरेको थियो ।

कार्यक्रममा नेकपा एमालेका पोलिट ब्यूरो सदस्य एवं प्रतिनिधि सभाका सदस्य अच्यूत मैनाली, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द चौलागाई, निजगठ नगरपालिकाका प्रमुख सुरथ पुरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने, नेपाल प्रेस युनियनका प्रदेश अध्यक्ष सत्यप्रकाश श्रेष्ठ, रुद्र धिताल , नेकपा माओवादी केन्द्रका सन्तोष दंगाल नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी , समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य जितलाल श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।सभार इसिमाना ।

सम्पादक गोकुल घोरसाइनेको अध्यक्षतामा भएको कार्यक्रममा प्रकाशक कमल उपाध्यायले स्वागत र कृष्णउदास खनालले कार्यक्रमको संचालन गरेका थिए

जितपुरमा भव्य जल्सा हुने

जितपुरमा भव्य जल्सा हुने

मनाेज शाह जितपुर बारा फागुन ५ गते:

मुस्लिम समुदायका अगुवाहरुद्वारा जितपुरमा यही फागुन १८ गतेका दिन जल्सा भब्य रुपमा गर्ने तयारी भइरहेको छ । जितपुरसिमरा उपमहानगरपालिकाको वडा ७ जितपुरकाे नसिम नगरमा मदरसा इस्लामियाको माध्यमबाट हुन लागेको जल्साकाे तयारी तीव्र रुपमा अगाडि बढिरहेको छ । भब्य रुपमा आयोजना गर्न लागिएको जल्सामा सरिक हुने आगन्तुकहरुकाे लागि खाने, बस्ने व्यवस्था समेत गरिएको स्थानीय इरसाद अंसारीले स्पर्श खबरलाई बताए ।

महान उद्देश्यले जल्साको आयोजना गर्न लागिएको कुरा बताउँदै सो जल्सा अवधिमा दान तथा सहयोगको माध्यमबाट संकलन हुने रकमबाट जितपुर मदरसामा अध्ययन गरिरहेका अनाथ बालबालिकाहरुको लागि खाने, बस्ने सुविधासहितको भवन बनाउने उद्देश्य राखिएको स्थानीय समाजसेवी रफी अहमद अंसारीले स्पर्श खबरलाई बताए । भारत तथा नेपालबाट आउने मुकररिरहरुको प्रवचन सुनेर लाभ लिन समेत समाजसेवी रफी अहमद अंसारीले सम्पूर्णमा आग्रह गरेका छन् । जितपुर मदरसामा रहेका ९ जना बालबालिकाहरुले हफिजे कुरान पास गरेको मुफती अली असगरले जानकारी दिएका छन् । जल्सालाई भव्यरुपमा सम्पन्न गर्नका लागि साथ र सहयोग गरिदिन जितपुरका सम्पूर्ण स्थानीय बासिन्दा तथा बुद्धिजीवीसँग जल्साका अध्यक्ष आयुव अंसारीले अनुरोध गरेका छन् ।

जितपुरमा फुटपाथ निर्माणमा चरम् लापरवाही : सम्बन्धित निकाय मौन

जितपुरमा फुटपाथ निर्माणमा चरम् लापरवाही : सम्बन्धित निकाय मौन

मनाेज शाह जितपुर बारा फागुन ५ गते:
बाराको जितपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ जितपुर अन्तर्गतको मुख्य सडक छेउको दुबै साइडमा फुटपाथ निर्माण गर्ने क्रममा चरम् लापरबाही गरिएको छ ।

हालसालै निर्माण गरिएको फुटपाथ कामचलाउ ढङ्गमा नियम विपरीत बनाइएको सजिलै देख्न सकिन्छ । फुटपाथ निर्माणको क्रममा माथिल्लो निकायबाट सही ढङ्गले निरीक्षण तथा सुपरीवेक्षण हुन नसक्दा निर्माणको जिम्मा पाएको निकायले लापरबाही गर्दै कतै सडककाे तलबाट त कतै सडककाे माथिबाट फुटपाथ निर्माण गरेको छ । पैदल यात्रुलाई हिडडुल गर्न अप्ठ्यारो हुने गरी कतै नालाको माथिबाट त कतै नालाको तलबाट फुटपाथ निर्माण गरिएको छ । मान्छे हिँड्ने ठाउँ एक लेबल हुनु पर्ने हाे तर जहाँतहीँ असामान्य ढङ्गले तलमाथि हुने गरी फुटपाथ निर्माण भएको स्थानीय युवा सन्ताेष गुप्ताले स्पर्श खबरलाई दु:खेसाे पाेखे । यही फुटपाथको कारणले गर्दा लडेर कयौं जनाकाे हातखुट्टा भाँचिएको तथा चोटपटक लागेको पनि उनले स्पर्श खबरलाई बताए ।

जितपुरमा सुविधाजनक फुटपाथसहितको सडक छिटोभन्दा छिटो निर्माण गर्नकाे लागि जितपुरकाे ब्यापारी , क्लबहरुले कयौंपटक आन्दोलन पनि गरेका थिए । पथलैया , सिमरा , जितपुर र परवानीपुरकाे सडक निर्माण गर्ने टेण्डर एउटै मितिमा पास भएको थियो तर जितपुरबाहेक सबै ठाउँको सडक निर्माण, बत्ती निर्माण, नाला निर्माणको काम एकवर्ष अगाडि नै सम्पन्न भइसकेको थियो । जितपुरमा सडक निर्माणको काम यति ढिलाे सुरु गर्दा पनि हाल यहाँको सडक कतै खाल्टाे परेको त कतै भत्केकाे साथै फुटपाथको दयनीय अवस्था रहे पनि सम्बन्धित निकाय मौन बसेको छ । अहिले जितपुरकाे सडक निर्माणको काम सम्पन्न हुने अन्तिम तयारीमा पुगे पनि सडक बिभागद्वारा निर्माण गरिएको सडक, नाला, फुटपाथ नियमविपरीत लापरबाहीपूर्ण ढङ्गले बनेको स्थानीयहरुले गुनासो गरेका छन् ।