१९औँ साधारणसभाबाट हातेमालो सहकारीको नयाँ योजना सार्वजनिक, निष्क्रिय सदस्यको सदस्यता खारेज गर्ने तयारी


१९औँ साधारणसभाबाट हातेमालो सहकारीको नयाँ योजना सार्वजनिक, निष्क्रिय सदस्यको सदस्यता खारेज गर्ने तयारी
स्पर्श खबर जितपुर बारा असाेज २४ गते:

बाराको सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले पाँच वर्षदेखि कारोबार नगर्ने सदस्यको सदस्यता अन्त्य गरी हिसाब फरफारक गर्ने प्रक्रिया अघि बढाउने भएको छ। संस्थाको १९औँ वार्षिक साधारणसभामा अध्यक्ष रामचन्द्र पौडेलले यस्तो जानकारी दिँदै सहकारीलाई पारदर्शी, प्रविधिमैत्री र उत्पादनशील क्षेत्रमा केन्द्रित बनाउने कार्ययोजना सार्वजनिक गरेका छन्।


शनिबार थानीमाई वन उपभोक्ता समूहको सभाहलमा सम्पन्न साधारणसभाको उद्घाटन ९५ वर्षीय ज्येष्ठ नागरिक देवीदत्त लम्सालले गरेका थिए। कार्यक्रममा मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीसहित विभिन्न क्षेत्रका प्रतिनिधि तथा संस्थाका सदस्यहरूको उपस्थिति थियो।
अध्यक्ष पौडेलका अनुसार सूचना नदिई पाँच वर्षदेखि कुनै कारोबार नगर्ने र साधारणसभामा समेत सहभागी नहुने सदस्यको सदस्यता सहकारी ऐन, २०७४ को दफा ३४(१)(ख) बमोजिम अन्त्य गरी हिसाब फरफारक गर्ने तयारी गरिएको छ।
संस्थाले उत्पादनशील क्षेत्रमा लगानी बढाउने, निष्क्रिय सदस्यताको समस्या व्यवस्थापन गर्ने तथा डिजिटल बैंकिङ र साइबर सुरक्षा प्रणालीलाई सुदृढ बनाउने योजना अघि सारेको छ। कोर बैंकिङ सफ्टवेयर, क्युआर भुक्तानी र मोबाइल बैंकिङ विस्तार गर्नुका साथै नियमित साइबर सुरक्षा परीक्षण गर्ने तयारीसमेत गरिएको अध्यक्ष पौडेलले बताए।
२०६४ साल जेठ २० गते स्थापना भएको हातेमालो सहकारीले हाल एउटा मुख्य कार्यालय र दुईवटा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ। संस्थामा चार हजार दुई सय शेयर सदस्य र ७३५ बालसदस्य आबद्ध छन्।
साधारणसभामा कोषाध्यक्ष पेशल मुल्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव चुडामणि गौतम (राजु) ले गरेका थिए। कार्यक्रममा शंकरकुमार आचार्य, दिनेश राई, दामोदर पौडेल र हेमनारायण चौधरीलगायतको उपस्थिति थियो।