सिमरामा ३ अर्ब ३४ करोडको पाँचतारे होटल बन्दै, तीन वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य

सिमरामा ३ अर्ब ३४ करोडको पाँचतारे होटल बन्दै, तीन वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य
सिमरामा आतिथ्य क्षेत्रमा ठूलो लगानी, होटल निर्माण सुरु
मनाेज शाह जितपुर बारा असाेज २५ गते:

बाराको सिमरामा ३ अर्ब ३४ करोड ५० लाख रुपैयाँको लगानीमा अत्याधुनिक पाँचतारे होटल निर्माण सुरु भएको छ। भरलेली हस्पिटालिटी प्रालिले जीतपुरसिमरा उपमहानगरपालिका–१ मा पथलैया–वीरगन्ज व्यापारिक मार्गसँगै होटल निर्माण अघि बढाएको हो।


आइतबार पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले जग पूजा गर्दै होटलको शिलान्यास गरेका छन्। होटल तीन वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
कम्पनीका अध्यक्ष अंकुश श्रेष्ठका अनुसार ६ तले होटलमा १५४ वटा कोठा र २८० बेड रहनेछन्। होटलमा रेस्टुरेन्ट, क्यासिनो, जिम, स्पा, स्विमिङ पुल, ४०० जनाको क्षमताको कन्फरेन्स हल तथा ११०० जनासम्म अटाउने बैंक्वेट हल निर्माण गरिनेछ।


करिब २० हजार ४५३ वर्गमिटर क्षेत्रफलमा बन्ने परियोजनाले सिमराको पर्यटन, व्यापार र आर्थिक गतिविधि विस्तार गर्नुका साथै स्थानीय युवाका लागि रोजगारीका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।सिमरा विमानस्थलबाट करिब डेढ किलोमिटर दक्षिणमा निर्माण हुन लागेको होटलले भारतीय पर्यटक, उद्योगी–व्यवसायी तथा कर्पोरेट क्षेत्रका पाहुनालाई लक्षित गरेको छ।