गढीमाई साझेदारी वन व्यवस्थापन समिति, पथलैयामा व्यापक भ्रष्टाचार

गढीमाई साझेदारी वन व्यवस्थापन समिति, पथलैयामा व्यापक भ्रष्टाचार

मनोज शाह, जीतपुर बारा, फागुन ९ गते

जीतपुरसिमरा उमनपा -१ पथलैयामा अवस्थित गढीमाई साझेदारी वन व्यवस्थापन समितिमा व्यापक भ्रष्टाचार भएको छ । आ.व. २०८०/८१ साउन १५ गतेदेखि भदौ १५ गतेसम्मका लागि यस कार्यालयले काठ बिक्री वितरणका लागि सूचना निकालेको थियो । सोही सूचनाअनुसार गढीमाई साझेदारी वन व्यवस्थापन समिति पथलैयाको कार्यालयमा १९२ ओटा निवेदन तथा बाराको प्रसौनीमा ६१४ ओटा निवेदन गरी जम्मा ८०६ ओटा निवेदन परेकोमा समितिद्वारा निर्णय गरी ८३ जना उपभोक्तालाई मात्रै गढीमाई साझेदारी वन व्यवस्थापन समितिले काठ उपलब्ध गराएको थियो ।

वन उपभोक्ता समितिमा निवेदन पेश भएका ८०६ जना उपभोक्ताबाट राजस्वस्वरुप रु. १०० का दरले गढीमाई साझेदारी वन व्यवस्थापन समितिले असुल गरे पनि सो को रसिद कसैलाई पनि नदिएको उपभोक्ताहरुले गुनासो गरेका छन् । यसबारे गढीमाई साझेदारी वन व्यवस्थापन समिति, पथलैयाका लेखा अधिकृत नरेन्द्र झासँग बुझ्दा जम्मा १०० जनाले मात्रै पैसा दिएको स्वीकार गरे तर त्यो रकम अहिलेसम्म बैंकमा दाखिला नभएको बताए ।

ऐन नियमले तोकेअनुसार संकलन गरिएको राजस्व समयमै बैंकको खातामा जम्मा गर्नुपर्ने हो तर लगभग ६ महिनाभन्दा बढी समय बितिसक्दा पनि संकलित रकम बैंकमा जम्मा नभएको देखिएको छ । यसैबारे गढीमाई साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष एकबाल साहसँग फोनमार्फत् बुझ्न खोज्दा उनले जवाफ दिन चाहेनन् ।

यसबारे जिल्ला वन कार्यालय, सिमराका प्रमुख बिनोद सिंहसँग बुझ्दा आफूले गढीमाई साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष एकबाल साहलाई संकलित रकम चाँडै बैंकमा जम्मा गर्न भनिसकेको जानकारी दिए ।