वयोधा अस्पताल अगाडि टेम्पो र बस ठोक्किए : यात्रीहरु सामान्य घाइते

वयोधा अस्पताल अगाडि टेम्पो र बस ठोक्किए : यात्रीहरु सामान्य घाइते

मनोज  शाह, जीतपुर बारा, फागुन १६ गते

पर्सा जिल्लाको गण्डकको मुख्य सडकखण्डमा अवस्थित वयोधा अस्पताल अगाडि अहिले दिउँसो ३ बजेको समयमा टेम्पो र बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ । वीरगन्जबाट पथलैयातर्फ आइरहेको बा. ३ ख. ४०४३ नम्बरको सृष्टि डिलक्स बसले परवानीपुरबाट वीरगन्जतर्फ गइरहेको ना. १ ह. ९६३६ नम्बरको टेम्पोलाई ठक्कर दिएको हो । सो ठक्करबाट टेम्पो पल्टिएको थियो भने टेम्पोमा सवार यात्रीहरुलाई सामान्य चोटपटक लागेको प्रहरीले जानकारी दिएको छ ।

 

 

बारा प्रशासनद्वारा सार्वजनिक जग्गा अतिक्रमणको सूचना उपलब्ध गराउन आह्वान

बारा प्रशासनद्वारा सार्वजनिक जग्गा अतिक्रमणको सूचना उपलब्ध गराउन आह्वान

मनाेज शाह जितपुर बारा फागुन १६ गते:

सार्वजनिक जग्गा अतिक्रमणको सूचना वा प्रमाण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय, बाराले आह्वान गरेको छ। मंगलबार बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले एक सूचना जारी गरी यस्तो आह्वान गरेका हुन्।

जिल्लामा कसैको निजी हक दर्ता भोगचलनमा रहेको बाहेकको सरकारी वा सार्वजनिक स्वामित्वमा रहेको, ऐलानी, सन्धिसर्पन, गौचरन, घाट आदि जग्गाहरू कानुनविपरीत कसैले आफ्नो नाममा दर्ता गरेको भए त्यस्को सूचना वा प्रमाण विवरण १५ दिनभित्र यस कार्यालयमा सोझै वा इमेलमार्फत् उपलब्ध गराउन सूचनामा भनिएको छ।

यसैगरी, खास उदेश्य वा प्रयोजनका लागि कुनै संस्थाको भोगचलन वा नियन्त्रणमा रहने गरी सुम्पेको वा जिम्मा दिएका सार्वजनिक र सरकारी जग्गाहरु बलजफ्ती अतिक्रमण वा कब्जा गरी निजी रूपमा दर्ता गरेको, दाखिला खारेज वा चलन चलाई हक हस्तान्तरण गरेको, लामो समयसम्म नियन्त्रण बाहिर रहने गरी लिजमा दिएको वा उद्देश्यविपरीत निजी कायम गरी गराई दुरुपयोग गरेको भए पनि सूचना दिन आह्वान गरिएको हो।

सूचना वा प्रमाण उपलब्ध गराउन १५ दिनको समय अवधि दिइएको छ।

 

 

जितपुरसिमरा उपमहानगरपालिकाकाे वडा ७ द्वारा आदेशकाे अवहेलना

जितपुरसिमरा उपमहानगरपालिकाकाे वडा ७ द्वारा आदेशकाे अवहेलना
मनाेज शाह जितपुर बारा फागुन १६ गते:
जितपुरसिमरा उपमहानगरपालिकाले वडा ७ जितपुरमा अनधिकृत निर्माणधिन संरचना राेक्न परिपत्र जारी गरेपनि वडा ७ काे कार्यालयले आदेशको अवहेलना गर्दै अनाधिकृत निर्माण कार्य सुचारु राखेको पाईएकाे छ ।जितपुरसिमरा उपमहानगरपालिका वडा ७ स्थित पुरानो स्वास्थ चाैकी हाल हुलाक कार्यालय संचालनमा रहेको धर्मशाला भनेर चिनिने पुर्ब तर्फ राजमार्ग संग जाेडिएकाे सार्वजनिक जग्गामा अनाधिकृत रुपमा भवन संरचना निर्माण भरहेकाे पाइएको ले नगरपालिकाले सार्वजनिक जग्गा संरक्षणका निम्ति तत्काल निर्माण कार्य राेक्न निर्देशन दिएको छ । नक्सा पास नगराई भवन निर्माण भरहेकाे राष्ट्रिय तथा प्रादेशिक मापदण्ड अवलम्बन नगरेको तथा सार्वजनिक जग्गामा नियम बिपरित निर्माण कार्य भइरहेकाले तत्काल उक्त निर्माण कार्य राेक्न वडा ७ कार्यालयलाई जानकारी गराउँदा पनि उपमहानगरपालिकाकाे कार्यालयकाे निर्देशनकाे अवहेलना गर्दै निर्माण जारी रहेको छ ।

वनरक्षक पदमा आवेदन माग

वनरक्षक पदमा आवेदन माग

 

स्पर्श खबर जितपुर बारा फागुन १४ गते:

कोशी प्रदेश लोक सेवा आयोग प्रदेश निजामती सेवाअन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा अन्तरगतको जनरल फरेष्ट्री समूहको आधारभूत तहमा वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित गरेको छ । प्रदेश निजामती सेवा तर्फका निम्न सेवा, समूह, उपसमूह तथा तहका पदहरूमा (खुला तथा समावेशी) प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आव्हान गरिएको हो ।

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली psconline.pl.gov.np मार्फत आवेदन दिनुपर्नेछ । सेवाका शर्त र तलब तथा अन्य सुविधा प्रचलित कानून बमोजिम हुनेछ ।

परीक्षामा शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा, लिखित परीक्षा र अन्तर्वार्ता लिइनेछ । शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा तथा लिखित परीक्षाको परीक्षा केन्द्र आयोगले पछि सूचना प्रकाशन गरे बमोजिम हुनेछ ।

प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तुर रु. ३००/- (तीन सय मात्र) बुझाउनुपर्नेछ । समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा प्रत्येक थप समूहका लागि रु. १००/- (एक सय) थप दस्तुर बुझाउनुपर्नेछ ।

पर्सामा मोटरसाइकल दुर्घटना : एकजना महिला गम्भीर घाइते

पर्सामा मोटरसाइकल दुर्घटना : एकजना महिला गम्भीर घाइते

मनोज  शाह, जीतपुर बारा, फागुन १४ गते

पर्सा जिल्लाको बीरगंजमा अवस्थित एल. एस. न्यूरो अस्पताल नजिकै गएराति ९:२० बजेको समयमा एफ जेड मोटरसाइकल मुख्य सडकमा अनियन्त्रित भई चिप्लेर दुर्घटना भएको छ । प्रदेश ३.०२/ ००८ प ५५५३ नम्बरको एफ जेड मोटरसाइकल दुर्घटना हुँदा सोही मोटरसाइकलमा पछाडि बसेकी एकजना नाम ठेगाना नखुलेकी महिलाको काँध पछाडि र पाखुरीमा घम्भीर चोट लागेको छ भने मोटरसाइकल चालक अन्दाजी २५ वर्षीय युवकलाई सामान्य चोटपटक लागेको प्रहरीले जानकारी दिएको    छ ।

गढीमाई साझेदारी वन व्यवस्थापन समिति, पथलैयामा दिउँसो १ बज्दा पनि हाकिम अनुपस्थित

गढीमाई साझेदारी वन व्यवस्थापन समिति, पथलैयामा दिउँसो १ बज्दा पनि हाकिम अनुपस्थित

मनोज  शाह, जीतपुर बारा, फागुन १३ गते

जीतपुरसिमरा उमनपा -१ पथलैयामा अवस्थित गढीमाई साझेदारी वन व्यवस्थापन समितिमा व्यापक भ्रष्टाचार भएको बारे सत्य तथ्य बुझ्न तथा समाचार तयार गर्ने प्रयोजनका लागि आवश्यक सूचना माग गर्न संचारकर्मीहरु गढीमाई साझेदारी वन व्यवस्थापन समितिको कार्यालय पथलैयामा पुग्दा त्यहाँ सबै कक्षहरुमा ताल्चा लागेको थियो । दिउँसोको १ बजिसक्दा पनि गढीमाई साझेदारी वन व्यवस्थापन समितिका एक जना सदस्य अजित सिंह तथा एक दुईजना कर्मचारीबाहेक अरु कोही पनि देखिएनन् ।

नेपालको संविधानमा नागरिकको मौलिक हक अन्तर्गत सूचनाको हकको व्यवस्था रहेको हुँदा सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र ७ (१) अनुसार गढीमाई साझेदारी वन व्यवस्थापन समिति, पथलैयासँग सम्बन्धित सार्वजनिक सरोकारका विषयसँग सम्बन्धित आवश्यक सूचना माग गर्न आज दिउँसो १२ बजेको समयमा संचारकर्मीहरु गएको बेलामा त्यस कार्यालयका अध्यक्ष, उपाध्यक्ष तथा लेखापालको कार्यकक्षमा ताल्चा लागेको थियो । उनीहरु कार्यालयमा आउने आशामा दिउँसो १ बजेसम्म पर्खदा पनि उनीहरुमध्ये कोही पनि कार्यालयमा उपस्थित भएनन् । कार्यालयमा हाजिर हुने समय बिहान १० बजे हो भन्ने जगजाहेर भए पनि यस कार्यालयका हाकिमहरु आधा दिन बितिसक्दा पनि कार्यालयमा उपस्थित भएनन् । केही सीप नलागेर संचारकर्मीहरुले त्यहाँ उपस्थित गढीमाई साझेदारी वन व्यवस्थापन समितिका एक जना सदस्य अजित सिंहलाई नै निवेदन जिम्मा लगाएर फर्किन बाध्य भएका छन् ।

बिल बिजक भन्दा बढी चुकुन्दर लोड रहेको मालवाहक पिकअप पर्सा प्रहरीको  नियन्त्रणमा

बिल बिजक भन्दा बढी चुकुन्दर लोड रहेको मालवाहक पिकअप पर्सा प्रहरीको  नियन्त्रणमा ।
मनाेज शाह जितपुर बारा फागुन १३ गते:

बिल बिजक भन्दा बढी चुकुन्दर लोड रहेको मालवाहक पिकअप पर्सा प्रहरीको  नियन्त्रणमा ।

  गएराती बिल विजक भन्दा बढी चुकुन्दर बोकेको माल बाहक पिकअप  गाडी पर्सा प्रहरीले पक्राउ गरेको छ ।  वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोक स्थित सडकखण्डमा प्रदेश ३-०१-०२४ च ३५८९ नम्बरको मालवाहक पिकअपलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी चुकुन्दर लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा  चौतीस हजार आठ सय बराबरको चुकुन्दर नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि   राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा    प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायबउपरीक्षक  कुमार बिक्रम थापाले बताए  ।

सन्तानको जन्मदर्ता गर्न बाबु अनिवार्य नहुने, आमा सूचक भई आएमा इन्कार नगर्न आदेश 

सन्तानको जन्मदर्ता गर्न बाबु अनिवार्य नहुने, आमा सूचक भई आएमा इन्कार नगर्न आदेश

स्पर्श खबर जितपुर बारा फागुन १३ गते:

सन्तानको जन्मदर्ता गर्न बाबु अनिवार्य नहुने, आमा सूचक भई आएमा इन्कार नगर्न आदेश ।

। सर्वोच्च अदालतले बाबुले इन्कार गरेमा वा फेला नपरे पनि आमा सूचक भई जन्म दर्ता गर्न आएमा छोराछोरीको जन्मदर्ता गर्न बाध्य हुने आदेश स्थानीय पञ्जिकाधिकारीहरूलाई गरेको छ ।

 

महिला,कानून र विकास मञ्चको कानूनी सहयोगमा धादिङ धुनिवेसीका करण केसीले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले आमा सूचक भई निवेदकको जन्म दर्ता गर्न आएमा कानून बमोजिम जन्म दर्ता गर्न इन्कार नगर्न अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले करन केसीको हकमा दिएको यो आदेश बाबु ठेगान नभएको वा बाबुले अश्वीकार गरेका कारण जन्म दर्ताबाट बन्चित भई नागरिकतासमेत नपाएका छोराछोरीका हकमा पनि लागू हुने बाटो खुलेको छ ।सभार नेपाल प्रेस डट कम।

यसैलाई आधार मानेर त्यस्ता व्यक्तिले रिट दायर गर्न सक्ने र अदालतको पूर्ण पाठ आएमा नजिर बन्ने बरिष्ठ अधिवक्ता मिरा ढुंगानाले बताइन् । अदालतले नागरिकता जस्तो गम्भीर र संवेदनशील विषयसँग् सम्बन्धित मुद्दा भएकाले यसलाई छिटो किनारा लगाउन अग्राधिकार समेत दिएको छ ।

धादिङ धुनीवेसी गाउँपालिका ८ कार्यालयले आमा सूचक भई आएको अवस्थामा जन्म दर्ता प्रमाणित नगरेकाले आमा गंगा भण्डारीका छोरा करण केसी अदालतमा गएका थिए ।

सबैला र कल्याणपुर जोड्ने पक्की पुलको शिलान्यास

सबैला र कल्याणपुर

जोड्ने पक्की पुलको शिलान्यास

स्पर्श खबर जितपुुर बारा फागुन १२ गते:

धनुषाको सबैला नगरपालिका-४ र सिरहाको कल्याणपुर नगरपालिका- ५ जोड्ने गरी निर्माण हुने पक्की पुलको शिलान्यास गरिएको छ ।

शनिबार सिरहा र धनुषा जोड्ने नेपालकै लामो झोलुंगेपुल उद्घाटन गर्न आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त पक्की पुलको पनि शिलान्यास गरेका हुन् ।एक अर्ब ११ करोड लागत रहेको ६०० मिटर लामो पुल निर्माणको ठेक्का एलाइट कन्स्ट्रक्सन कम्पनीले पाएको छ । चालु आर्थिक वर्षमा ६० लाख रुपैयाँ पाएको यो पुल ४२ महिनाभित्र निर्माण सक्ने लक्ष्य छ ।

डबल लेनको यस पुल निर्माणपछि दुई जिल्लाका जनतालाई आवतजावतमा  सहयोग पुग्नेछ ।

पुल शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले पुल बनेपछि सिरहा र धनुषाको पूर्वी भेगका जनताले ठूलो राहत पाउने बताए ।चालु आर्थिक वर्षमा कम बजेट भएपनि आगामी आर्थिक वर्षमा पर्याप्त बजेट छुट्याउने उनले बताए ।

गढीमाई साझेदारी वन व्यवस्थापन समिति, पथलैयामा कर्मचारी नियुक्तिमा व्यापक अनियमितता

गढीमाई साझेदारी वन व्यवस्थापन समिति, पथलैयामा कर्मचारी नियुक्तिमा व्यापक अनियमितता

मनोज  शाह, जीतपुर बारा, फागुन ११ गते

जीतपुरसिमरा उमनपा -१ पथलैयामा अवस्थित गढीमाई साझेदारी वन व्यवस्थापन समितिले गरेको कर्मचारी नियुक्तिमा व्यापक अनियमितता भएको छ । सो कार्यालयमा विगत साउन महिनादेखि कार्य गर्दै आएका २ जना कर्मचारीहरुको नियुक्ति नियमसङ्गत ढङ्गले नभएको देखिएको छ ।

गढीमाई साझेदारी वन व्यवस्थापन समितिमा काम गर्दै आएका नवनियुक्त दुई कर्मचारीहरुले आफूहरुले विगत केही महिनादेखि तलब नपाएको गुनासो स्पर्श खबरलाई गरेपछि सो बारे बुझ्न जाँदा नवनियुक्त कर्मचारीहरुको नियुक्ति नै गैरकानुनी ढङ्गले भएको रहस्य खुलेको छ ।

कुनै पनि सरकारी संस्था वा निकायमा कर्मचारी नियुक्ति गर्दा सर्वप्रथम कुनै रेडियो, टि.भी, पत्रपत्रिका आदिमा विज्ञापन निकाल्नुपर्ने हुन्छ । त्यसपछि बाँकी प्रक्रिया अगाडि बढ्छ तर गढीमाई साझेदारी वन व्यवस्थापन समितिमा कर्मचारी नियुक्ति गर्दा नियमकानुन मिचेर, कुनै पनि प्रक्रिया नपुर्याइकन, आन्तरिक मिलोमतोमा दुईजना कर्मचारीहरुको नियुक्ति भएको बुझिएको छ ।

गैरकानुनी ढङ्गले नियुक्ति भएकामध्ये चैनपुर, परवानीपुर – ४ निवासी ४२ वर्षीय हरेराम साह वि.सं. २०८० साउन १४ गतेदेखि जीतपुरसिमरा उमनपा -१ पथलैयामा अवस्थित गढीमाई साझेदारी वन व्यवस्थापन समिति कार्यालयमा कार्य गर्दै आएको उनले स्पर्श खबरलाई बताए । यसैगरी पर्साको बहुदरमाई नगरपालिका वडा नं. ४ निवासी निशेष यादवलाई पनि प्रक्रिया नपुर्याईकन सोही कार्यालयमा नियुक्ति गरिएको छ । उनी विगत दुई महिनादेखि यस कार्यालयमा कार्य गर्दै आएका छन् । गढीमाई साझेदारी वन व्यवस्थापन समिति, पथलैयाको कार्यालयले काठ बिक्री वितरणमा भ्रष्टाचार गर्नुका साथै कर्मचारी नियुक्तिमा समेत व्यापक अनियमितता तथा चरम लापरबाही गरेको देखिन्छ ।