पर्सामा नक्कली नोट सहित दुई जना प्रहरीको नियन्त्रणमा

पर्सामा नक्कली नोट सहित दुई जना प्रहरीको नियन्त्रणमा

मनाेज शाह, जितपुर बारा, वैशाख १८ गते:

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाको वडा नं.९ घण्टाघरस्थित सडकखण्डबाट नक्कली नोटसहित दुईजना प्रहरीको नियन्त्रणमा परेका छन् । पर्साको वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले शंकास्पदरूपमा दुई जना अपरिचित व्यक्तिहरू पैदल हिंडिरहेको अवस्थामा उनीहरुलाई रोकी कानूनी रीत पुर्‍याई खानतलासी गर्दा उनीहरुबाट नक्कली नोट बरामद भएको हो ।

भारतको विहार राज्य अन्तर्गतको पश्चिमी चम्पारणको वेतिया भावल पञ्चायतमा बस्ने ३० वर्षीय पुरुष क्यामुदिन मियाँको साथबाट प्रहरीले नेपाली नक्कली रू.१००० दरको नोट १ थान बरामद गरेको छ् भने बारा जिल्लाको प्रसौनी गाउँपालिकाको वडा नं.२ बस्ने ४० वर्षीय महिला हलिमा खातुनको साथबाट प्रहरीले नक्कली नेपाली रु.१००० दरका १२२ थान नोट बरामद गरेको छ ।

उनीहरु दुवैजनाबाट जम्मा नेपाली रु.१,२३,०००।– ( एक लाख तेईस हजार ) बरामद गरी निजहरू दुवैजनालाई बरामद भएको नक्कली नोटसहित नियन्त्रणमा लिई मुद्रा सम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

राजेश थापाको संगीतमा ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

राजेश थापाको संगीतमा ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

स्पर्श खबर जितपुर बारा बैशाख १८ गते

। नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ ।

क्यानडामा रहेर पनी नेपाली गीत संगीतमा सक्रिय रहनु भएकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको संगीत , साहस शाक्यको एरेन्जमा गीत तयार गरिएको छ । जिन्दगीको यात्रा भरि आफनो प्रेमीलाई सदैव आफनो साथमै राख्ने कुरा लाई गीत व्यक्त गरिएको छ । आफुलाई जिवनको आधार स्तम्भ बनेको हेर्न गायिकाले चाहना राखेकी छन ।
गीतमा प्रेमील जोडि विचको भावनात्मक प्रेम प्रंसगलाई समावेश गरिएको छ । गीतमा छायाँकन तथा सम्पादन र निर्देशन मिराज अर्यालको रहेको छ ।

मधेशमा शिक्षक दरबन्दीको लागि आजपाले आन्दोलन गर्ने

मधेशमा शिक्षक दरबन्दीको लागि आजपाले आन्दोलन गर्ने

मनाेज शाह जितपुर बारा १६ गते:

आम जनता पार्टीको आज चन्द्रपुरमा बसेको प्रदेश पदाधिकारीहरुको बैठकले मधेशमा बिधार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्था गर्न संघर्षको कार्यक्रम गर्ने निर्णय गरेको छ । ४०-५० विद्यार्थी संख्यामा एक जना शिक्षक रहने सरकारी मान्यता विपरीत आज मधेशमा ८०-१०० जना विद्यार्थी बराबर एक शिक्षक रहेको विडम्बना छ । यसको साथै मधेस प्रदेशका अनेकौं विद्यालयमा शिक्षक दरबन्दी समेत शुन्य रहेको दु:खदायी अवस्था रहेको छ ।

 

यहाँका अनेकौं विद्यालयमा विषयगत शिक्षकको पुरै अभाव रहेको विडम्बनापूर्ण स्थितिमा रहेकोले यस्तो समस्यालाई जरैदेखि उखेल्नको लागि तथा विद्यार्थीको उज्ज्वल भविष्यको लागि आन्दोलन मात्र एक विकल्प रहेको निष्कर्ष सहित आजपा को आज बसेको बैठकले मधेश प्रदेशको प्रत्येक जिल्लामा संघर्ष अगाड़ी बढ़ाउने निर्णय गरेको छ ।

आजपाको मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाको अध्यक्षतामा एवं पार्टीको वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह लगायतका नेताहरुको उपस्थितिमा बसेको उक्त बैठकले संगठन बिस्तार लगायतका महत्वपुर्ण निर्णयहरु समेत गरेको जनाएको छ ।

बारामा साेमबार शोक बिदा

बारामा साेमबार शोक बिदा

मनाेज शाह जितपुर बारा बैशाख १६ गते:

बारा जिल्लाकाे    कलैया उपमहानगरपालिकाले नगर कार्यापालिकाको कार्यालय र मातहतका वडा, अन्य कार्यालयहरुमा सोमबार शोक विदा दिइएको छ । कलैया उपमहानगरपालिकाको पशु शाखामा कार्यरत पशु सेवा प्राबिधिक सहायक चौथो तहका कर्मचारी बिशेन्द्र कुमार यादवको निधन भएकोले उपमहानगरपालिकाले सोमबार शोक विदा दिने निर्णय गरेको हो ।

पशु सेवा प्राबिधिक सहायक यादवको  हिजो सनिवार असमायिक निधन भएको थियो । उनको आज अन्त्येष्टी गरिने भएको छ ।उपमहानगरले शोक विदासम्बन्धी सुचना जारी गर्दै नगर कार्यपालिका, मातहतका वडा कार्यालय शैक्षिक संस्था र स्वास्थ संस्थाहरु बन्द रहने जानकारी दिएको छ ।

हरि खेतान क्याम्पसमा स्थित तनावग्रस्त

हरि खेतान क्याम्पसमा स्थित तनावग्रस्त

मनाेज शाह जितपुर बारा बैशाख १६ गते:

बिरगंजमा रहेको हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड भएको छ ।

कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका हुन् । परीक्षालाई मर्यादित बनाउने बहानामा आफूहरूलाई अनावश्यक दुःख दिएको आरोप लगाउँदै आक्रोशित विद्यार्थीहरूले तोडफोड गरेको बुझिएको छ ।

विद्यार्थीहरूका अनुसार परीक्षा चलिरहेको समयमा पर्यवेक्षकहरूले बिना कारण आफूहरूको उत्तर पुस्तिका खोसेर हैरान गरेका थिए । परीक्षा समाप्त भएपछि आक्रोशित विद्यार्थीहरूले क्याम्पसमाथि ढुंगामुढा समेत प्रहार गरेका थिए । ढुंगामुढाबाट क्याम्पस भित्र रहेको बस, गाडी, फर्निचर लगायतमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

स्थितलाई नियन्त्रणमा लिन त्यहाँ बाक्लो मात्रमा प्रहरी परिचालन गरिएको छ ।

 

सवारी चेकजाँचकाे नाममा ट्राफिक प्रहरी गर्ने नौटङ्की बन्द गर्ने मुख्यमन्त्रीको चेतावनी

सवारी चेकजाँचकाे नाममा ट्राफिक प्रहरी गर्ने नौटङ्की बन्द गर्ने मुख्यमन्त्रीको चेतावनी

मनाेज शाह, जितपुर बारा, बैशाख १५ गते:

सवारी चेकजाँचकाे नाममा ट्राफिक प्रहरीले नौटङ्की गर्ने गरेको चारैतिरबाट गुनासो आएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले आज एक कार्यक्रमका बीच ट्राफिक प्रहरीको यस्तो हर्कत चाँडै बन्द गर्ने चेतावनी दिनुभएको छ । बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा २ सिमरा स्थित तराई यातायात व्यवसायी संघ सिमराकाे १७ औं साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका मुख्य मन्त्री सराेज यादवले दिप प्रज्ज्वलित गरेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नु भएको थियो । मधेस प्रदेश यातायात व्यवसायी संघमा सबै समस्या सजिलोसँग हल गर्ने मुख्य मन्त्री यादवले दाबी गर्नुभयो । यातायातका सम्पुर्ण काम हुने गरी कार्यालयको विस्तार गरिने समेत उहाँले बताउनुभयो । ढुवानीका समयमा प्रहरीले दिने उल्झन न्युनिकरणमा पहल गरिदिने र यातायात कार्यालयमा हुने घुसखोरीलाई समेत नियन्त्रण गर्नका लागि तत्काल काम गर्ने उहाँले बताउनुभयो ।

तराई यातायात ब्यवसायी संघ सिमरा बाराका अध्यक्ष ओमकृष्ण कार्कीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे । कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा बारा क्षेत्र ४ का प्रतिनिधिसभा सांसद किसान श्रेष्ठ, बारा क्षेत्र १ का प्रतिनिधिसभा सदस्य अच्युत मैनाली, पूर्व संविधान सभा सदस्य फर्मुला मंसुर, मधेश प्रदेशकी श्रम तथा यातायात मन्त्री बेची लुङ्गेली, नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, नेपाल ट्रक यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव रोजेन्द्रविक्रम बानियाँ , मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरी, मन्जु थापा मगर, मधेस प्रदेश सभाका पूर्व सभासद सुन्दर विश्वकर्मा लगायतको सहभागिता रहेको थियोे । कार्यक्रमकाे सहजीकरण पत्रकार सुनिल गाउँलेले गर्नु भएको थियो ।

अनुभबी शिक्षकलाइ बेवास्ता गर्दै स्वयम् सेवक शिक्षक भर्ना गर्न लागिएको प्रती वडा अध्यक्ष खरेलको आपत्ति

अनुभबी शिक्षकलाइ बेवास्ता गर्दै स्वयम् सेवक शिक्षक भर्ना गर्न लागिएको प्रती वडा अध्यक्ष खरेलको आपत्ति

स्पर्श खबर जितपुर बारा बैशाख १२ गते:

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष हरिदेव खरेलले उपमहानगरपालिकाले स्वयम् सेवक शिक्षक भर्ना गर्न लागिएको प्रती आपत्ती जनाउनु भएको छ ।खरेलले कलेज अध्ययन गरिरहेका (स्नातक र स्नातकोत्तर ) विद्यार्थीहरुलाइ पढाई बिगार्ने गरि स्वयम् सेवक शिक्षक भर्ना छनौट बिज्ञापनको परीक्षा लिन लागेकोले एकपटक पनि कार्यपालिकामा छलफल तथा विषय नै प्रस्तुत नगराई लाखौं रकम हिनामिना गर्न लागिएको भन्दै सो खेल तुरुन्तै बन्द गरियोस भन्नु भएको छ ।लामो समय अध्यापन गराएका अनुभबी तर भर्खरै अवकाश पाएका २७ जना अस्थायी शिक्षकहरुलाइ बेवास्ता गरिएको प्रती पनि दुख ब्यक्त गर्नुभएको छ ।
उहाले आज सामाजिक सन्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो लेख्नु भएको छ ।

“जीतपुरसिमरा उपमहानगरपालिका भित्र रहेका हज्जारौं शैक्षिक बेरोजगार तथा भर्खरै अवकाश पाएका २७ जना अस्थायी शिक्षकहरुलाइ बेवास्ता गर्दै जबर्जस्ती कलेज अध्ययन गरिरहेका (स्नातक र स्नातकोत्तर ) विद्यार्थीहरुलाइ पढाई बिगार्ने गरि स्वयम् सेवक शिक्षक भर्ना छनौट बिज्ञापनको परीक्षा लिन लागेकोले एकपटक पनि कार्यपालिकामा छलफल तथा विषय नै प्रस्तुत नगराई लाखौं रकम हिनामिना गर्न लागिएको खेल तुरुन्तै बन्द गरियोस् ।यदि नगरको शिक्षा सुधार गर्न खोजिएको हो भने सार्वजनिक सूचना मार्फत शैक्षिक /बौद्धिक बेरोजगार बाट खुल्ला प्रतिस्पर्धा बाट माग गरि प्रतिस्पर्धामा छनौट गरि समस्याको समाधान सर्वपक्षीय छलफल बाट अघि बढन सुझाव दिन चाहान्छु।अन्यथा जनताको करलाई दुरुपयोग गर्ने जो कोहीले कारवाही भोग्नुपरेका कयौं नजीर हेर्दा राम्रो हुनेछ ।स्मरण रहोस् कार्यपालिकाको जानकारी बिना हाल सम्म १९ लाख खर्च भएको भन्ने सुनिएको छ।सतर्क हुन सम्पूर्ण नगर बासीमा अनुरोध गर्दछु “।

सिम्रौनगढको इतिहासबारे युवा नेता सनि गुप्ताको तर्क

सिम्रौनगढको इतिहासबारे युवा नेता सनि गुप्ताको तर्क

 

स्पर्श खबर जितपुर बारा बैशाख १२ गते:

सामाजिक अभियन्ता , युवा नेता सनि गुप्ताले सिम्रौनगढको विषय बारे बोलेका छन्  ।  सिम्रौनगढको भाषा भोजपुरी होइन तिर्हुत्या भाषा हो भन्दै  सिम्रौनगढमा मानव बस्ती ११ शताब्दी भन्दा पहिलादेखिको बताएका छन्  । गुप्तकालभन्दा पहिला देखि नै सिम्रौनगढमा मानव बस्ती थियो । राजा नान्यदेव सिम्रौनगढमा आउँदा उचाईमा रहेको सिम्रौनगढ जङ्गलले भरिएको थियो भने जङ्गलभित्र मानव बस्ती थियो । मेरो जन्म सिम्रौनगढमा भएको हो र यो मेरो लागि गर्वको कुरा हो भन्दै उनी आफ्नो बंशको छैटौं बंशज रहेको बताए । यहाँसम्म को मसंग रेकर्ड छ भनी उनले दाबी गरे । त्यो कालखण्डको धेरै विकसित र समृद्ध ठाउँमध्येको सिम्रौनगढको एक थियो ।

अरु राज्यभन्दा सिम्रौनगढको बिशेषता अलि फरक थियो । सबै राज्यको खानपिन , भेष भुषा , भाषा र आफ्नै मौलिकता हुन्छ । सिम्रौनगढको श्रीङ्गार, आभुषणको कलाकृति अहिले पनि मूर्तिकलामा देख्न सकिन्छ । खानपिनको आँकलन लगाउनलाई त्यहाँको तरकारी खेती र अन्न बाली खेती देखेर अनुमान लगाउन सकिन्छ । कौशल , वीरता र युद्ध नीतिशास्त्र यति सबल एवम् सक्षम थियो कि त्यो कालखण्डमा सिम्रौनगढले काठमाडौं (नेपाल ) लाई कयौं पटक हराएको इतिहास छँदैछ । सिम्रौनगढ त्यो बखतको हिन्दू राज्य थियो र कुलदेवी तलेजु भवानी हुनुहुन्थ्यो । अहिले तलेजु भवानी देशकै कुलदेवी हुनुहुन्छ । सिम्रौनगढ राज्यभित्र मिथिला र तिर्हुत थियो ।

केही बर्ष अगाडी सम्म म आफै भन्थें कि म भोजपुरी बोल्छु तर हामीले आधार मान्नु पर्छ र प्रमाणलाई बेवास्ता गर्नु हुँदैन । धेरैले सोच्छ र भन्छन् कि सिम्रौनगढको भाषा भोजपुरी हो तर त्यसको पोख्ता प्रमाण छैन ।

कुनै पनि ठाउँ ऐतिहासिक एवं पुरातात्बिक हो होइन भन्ने कुरा थाहा पाउन त्यहाँबाट पाएको बस्तुलाई परिक्षण गर्दा थाहा हुन्छ । इतिहास कहिले झुठो बोल्दैन । यदि म गलत होइन भने १/२ चोटि सिम्रौनगढको उत्खन्न भएको छ र त्यस बाट पाएको बस्तुहरु केही काठमाडौं लगियो केही त्यही पुरियो तर प्राय: त्यहाँ पाइएको भगनावशेष, मुर्ती र बस्तुहरु ब्यवसायिक तरिकाले पोखरी खन्दा पाइएको छ । पोखरी खन्ने क्रममा अन्य मुर्ती र २ टुक्रा सिलालेख पाएको छ । त्यस सिलालेखमा तिर्हुत लिपिमा लेखिएको छ र यो सत्य लाई कसैले पनि नकार्न सक्दैन । भन्नुको अर्थ त्यो बेला सिम्रौनगढमा तिर्हुत लिपि प्रयोग हुन्थ्यो र भाषा तिर्हुतिया प्रयोग हुन्थ्यो । यदि सिलालेखलाई अधार मान्नुभयो भने यो कुरा पानी जस्तै सफा छ ।

सिम्रौनगढ राज्य झणडा के थियो ? सिम्रौनगढको मुद्रा कस्तो थियो ? धेरै प्रश्न को जवाफ अहिले अनुसन्धान गर्न र खोज्नै बाँकी छ । भाषाको विषयमा भने अब सिम्रौनगढबासी प्रष्ट हुनैपर्छ ।

सिम्रौनगढमा चल्दै आएको भाषा भने यस्तो छ । ( हम जाइत बारी , माई भात निन्हलेह , इया कथी खबही आजु , दिदिगे हमरा के एगो बाला देन गुरकावना बनावेला , बाबू खेत जोतैत हव , रे बौउ वो हम खेत जोतैइत बारी र कन्काली माई बाडा दुलार करलैइ आदि )
सिम्रौनगढ को भाषा यदि भोजपुरी हो भने सिम्रौनगढको लिपि तिर्हुत कसरी ? सिम्रौनगढमा तिर्हुत लिपि प्रयोग हुन्थ्यो भने भाषा भोजपुरी कसरी ? अहिले बिज्ञान र प्रबिधिको युग हो । हाम्रो पुस्ताले प्रमाणमा बिश्वास गर्छ, तुकमा होइन । सिम्रौनगढबाट आज सम्म भोजपुरीको कुनै पनि प्रमाण पाइएको छैन तर तिर्हुत लिपी पाइएको छ र यसको पनि प्रमाण छ । त्यसैले हामी र हाम्रो पुस्ताले तिर्हुतलाई मान्नु पर्छ ।

१० कोशमा पानी र १० कोशमा बानी बद्लिन्छ भन्ने उखान र टुक्कालाई आधार मान्ने हो भने हाम्रा आदरणीय ब्यक्तित्वहरुसंग सोध्न चाह्न्छु कि तपाईहरु प्रमाणलाई मान्ने कि नमान्ने ? यदि हामीले बोल्ने भाषा भोजपुरी हो भने के भोजपुरीले लिपि तिर्हुतलाई स्कावीकार्छ ।
सिम्रौनगढ को भाषा भोजपुरी होइन । सिम्रौनगढको भाषा तिर्हुतिया हो ।

जितपुरमा भगवानकाे प्राण प्रतिष्ठाका लागि निकालिएको जालयात्रामा हजारौंको सहभागिता

जितपुरमा भगवानकाे प्राण प्रतिष्ठाका लागि निकालिएको जालयात्रामा हजारौंको सहभागिता

मनाेज शाह जितपुर बारा ब‌ैशाख १२ गते:
जितपुरमा नव निर्मित शिव ,गणेश , बजरग बालि ,राधाकृष्ण , मन्दिरको प्राणप्रतिष्ठानको पहिलो दिन आज भव्य रुपमा कलश सहितको शोभा यात्रा निकालिएको छ । वडा नम्बर ७ बजार क्षेत्रमा रहेको प्राचीन शिव मन्दिरमा भगवान शिवको प्राणप्रतिष्ठाको लागी आज पहिलो दिन कलश सहित, पारम्परीक बाजा तथा विभिन्न देवी देउताको झाँकि सहितको सोभा यात्रा निकालिएको थियो ।

नव निर्मित शिव मन्दिरको प्रांगण बाट आज बिहान निकालिएको जल सहितको सोभा यात्रा जितपुर बजार हुदै वडा नम्बर ५ बकुलिया स्थित रहेको दुधाैरा खोलामा पुगी पूजा पाठ गरिएको थियो । हजारौको सांख्यमा सहभागी भएका कुमारी कन्या तथा भक्तजनहरु खोलाबाट जल भरी पुन शिव मन्दिरमा पुगेका थिए ।

प्राणप्रतिष्ठान कार्यक्रमको आज पहिलो दिन जलयात्रा भएको छ भने बैशाख १४ गते भगवान शिवको प्राणप्रतिष्ठा हुने र बैसाख १५ गते पूर्णआहुति हुने कार्यक्रम रहेको प्रतिनिधि सभा सदस्य श्री मनानिय कृष्ण श्रेष्ठले बताए ।

श्री बंगाली बाबा युग धर्म आश्रम तथा श्रीराम जानकी मन्दिर ब्यवस्थापन समिति जितपुरकाे आयोजनामा निकालिएको कलश सहितको सोभा यात्रामा , राजनीतीककर्मी, संचारकर्मी लगाएतको सहभागी रहेको थियो ।

पालिका अध्यक्षले नै गरे तालाबन्दी : जनप्रतिनिधिको आपसी द्वन्द्वका कारण सेवाग्राही मर्कामा

पालिका अध्यक्षले नै गरे तालाबन्दी : जनप्रतिनिधिको आपसी द्वन्द्वका कारण सेवाग्राही मर्कामा

अखिलेश शाह, बैशाख ११ गते:

पकाहामैनपुर गाउँपालिकाको पालिका  अध्यक्ष सुरेश मेहताले बिहीबार जिन्सी शाखामा  तालाबन्दी  गरेका छन् । बैकल्पिकको कर्मचारी नियुक्तिको बिषयलाई लिएर पालिकामा बिवाद हुँदा पालिका अध्यक्ष मेहताले स्वयम् तालाबादी गरेका हुन् । बैकल्पिकको एक नम्बरमा रहेका राजमती कुमारी तेलीको नियुक्ति गर्दा असन्तुष्ट अध्यक्ष मेहताले शाखामा तालाबन्दी गरेका छन् । मेहताले बैकल्पिकको चार नम्बरमा रहेका आसमहम्मद गद्दीलाई जबरजस्ती नियुक्त गर्न खोज्दा  बिवाद खडा भएको एक कर्मचारीले बताए ।
यता पालिका नै बन्द गरी कर्मचारी र जनप्रतिनिधिहरु सम्पर्कबिहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । सोमबार कार्यालय समयमा काम विशेषले पालिका गएका सेवाग्राहीहरुले कर्मचारी र जनप्रतिनिधि नभेट्दा निराश भएर घर फर्केका थिए । सोमबार पालिका प्रमुख सुरेश मेहता, उपप्रमुख सरफुल नेसा, प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरी, लेखा प्रमुख निरन्जन पटेल, जिन्सी शाखा प्रमुख हरिमोहन महतो, प्राबिधिक शाखा प्रमुख संजय कुमारको कार्यालयमा समेत तालाबन्दी हुँदा सयौं सेवाग्राही मर्कामा परेका छन् ।
यता ,तालाबन्दीबारे पालिका प्रमुख मेहतासंग सम्पर्क गर्दा उनले कर्मचारी नआएकोले तालाबन्दी गरको बताए ।
जनप्रतिनिधि र कर्मचारी बिचको आन्तरिक द्धन्द्वका कारण सेवाग्राही मर्कामा परेका छन्  । सेवा दिने कर्मचारीको लापरवाही र जनप्रतिनिधिको गैर जिम्मेवारीपनका कारण पकाहामैनपुर गाँउपालिका अनाथ बनेको स्थानीयको आरोप छ । जुनबेला मन लाग्यो त्यो बेला आउने , मन लागे कार्यालय समयमै निस्केर घर गइदिने, कहिले के बहाना, कहिले के तालिम, कहिले अनुगमनको बहाना बनाउँदै कर्मचारीहरु जनताको कामबाट पन्छिने गरेको स्थानीयको आरोप छ ।