पालिका अध्यक्षले नै गरे तालाबन्दी : जनप्रतिनिधिको आपसी द्वन्द्वका कारण सेवाग्राही मर्कामा
अखिलेश शाह, बैशाख ११ गते:
पकाहामैनपुर गाउँपालिकाको पालिका अध्यक्ष सुरेश मेहताले बिहीबार जिन्सी शाखामा तालाबन्दी गरेका छन् । बैकल्पिकको कर्मचारी नियुक्तिको बिषयलाई लिएर पालिकामा बिवाद हुँदा पालिका अध्यक्ष मेहताले स्वयम् तालाबादी गरेका हुन् । बैकल्पिकको एक नम्बरमा रहेका राजमती कुमारी तेलीको नियुक्ति गर्दा असन्तुष्ट अध्यक्ष मेहताले शाखामा तालाबन्दी गरेका छन् । मेहताले बैकल्पिकको चार नम्बरमा रहेका आसमहम्मद गद्दीलाई जबरजस्ती नियुक्त गर्न खोज्दा बिवाद खडा भएको एक कर्मचारीले बताए ।
यता पालिका नै बन्द गरी कर्मचारी र जनप्रतिनिधिहरु सम्पर्कबिहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । सोमबार कार्यालय समयमा काम विशेषले पालिका गएका सेवाग्राहीहरुले कर्मचारी र जनप्रतिनिधि नभेट्दा निराश भएर घर फर्केका थिए । सोमबार पालिका प्रमुख सुरेश मेहता, उपप्रमुख सरफुल नेसा, प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरी, लेखा प्रमुख निरन्जन पटेल, जिन्सी शाखा प्रमुख हरिमोहन महतो, प्राबिधिक शाखा प्रमुख संजय कुमारको कार्यालयमा समेत तालाबन्दी हुँदा सयौं सेवाग्राही मर्कामा परेका छन् ।
यता ,तालाबन्दीबारे पालिका प्रमुख मेहतासंग सम्पर्क गर्दा उनले कर्मचारी नआएकोले तालाबन्दी गरको बताए ।
जनप्रतिनिधि र कर्मचारी बिचको आन्तरिक द्धन्द्वका कारण सेवाग्राही मर्कामा परेका छन् । सेवा दिने कर्मचारीको लापरवाही र जनप्रतिनिधिको गैर जिम्मेवारीपनका कारण पकाहामैनपुर गाँउपालिका अनाथ बनेको स्थानीयको आरोप छ । जुनबेला मन लाग्यो त्यो बेला आउने , मन लागे कार्यालय समयमै निस्केर घर गइदिने, कहिले के बहाना, कहिले के तालिम, कहिले अनुगमनको बहाना बनाउँदै कर्मचारीहरु जनताको कामबाट पन्छिने गरेको स्थानीयको आरोप छ ।