गढीमाई साझेदारी वन व्यवस्थापन समिति, पथलैयामा दिउँसो १ बज्दा पनि हाकिम अनुपस्थित

गढीमाई साझेदारी वन व्यवस्थापन समिति, पथलैयामा दिउँसो १ बज्दा पनि हाकिम अनुपस्थित

मनोज  शाह, जीतपुर बारा, फागुन १३ गते

जीतपुरसिमरा उमनपा -१ पथलैयामा अवस्थित गढीमाई साझेदारी वन व्यवस्थापन समितिमा व्यापक भ्रष्टाचार भएको बारे सत्य तथ्य बुझ्न तथा समाचार तयार गर्ने प्रयोजनका लागि आवश्यक सूचना माग गर्न संचारकर्मीहरु गढीमाई साझेदारी वन व्यवस्थापन समितिको कार्यालय पथलैयामा पुग्दा त्यहाँ सबै कक्षहरुमा ताल्चा लागेको थियो । दिउँसोको १ बजिसक्दा पनि गढीमाई साझेदारी वन व्यवस्थापन समितिका एक जना सदस्य अजित सिंह तथा एक दुईजना कर्मचारीबाहेक अरु कोही पनि देखिएनन् ।

नेपालको संविधानमा नागरिकको मौलिक हक अन्तर्गत सूचनाको हकको व्यवस्था रहेको हुँदा सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र ७ (१) अनुसार गढीमाई साझेदारी वन व्यवस्थापन समिति, पथलैयासँग सम्बन्धित सार्वजनिक सरोकारका विषयसँग सम्बन्धित आवश्यक सूचना माग गर्न आज दिउँसो १२ बजेको समयमा संचारकर्मीहरु गएको बेलामा त्यस कार्यालयका अध्यक्ष, उपाध्यक्ष तथा लेखापालको कार्यकक्षमा ताल्चा लागेको थियो । उनीहरु कार्यालयमा आउने आशामा दिउँसो १ बजेसम्म पर्खदा पनि उनीहरुमध्ये कोही पनि कार्यालयमा उपस्थित भएनन् । कार्यालयमा हाजिर हुने समय बिहान १० बजे हो भन्ने जगजाहेर भए पनि यस कार्यालयका हाकिमहरु आधा दिन बितिसक्दा पनि कार्यालयमा उपस्थित भएनन् । केही सीप नलागेर संचारकर्मीहरुले त्यहाँ उपस्थित गढीमाई साझेदारी वन व्यवस्थापन समितिका एक जना सदस्य अजित सिंहलाई नै निवेदन जिम्मा लगाएर फर्किन बाध्य भएका छन् ।