विश्व हिन्दु परिषद नेपाल, जीतपुरद्वारा रामनवमीको अवसरमा सांस्कृतिक कार्यक्रम र महाआरतीसहित भव्य र्‍यालीको आयोजना गरिने : सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुलाई सहभागी हुन आग्रह

विश्व हिन्दु परिषद नेपाल, जीतपुरद्वारा रामनवमीको अवसरमा सांस्कृतिक कार्यक्रम र महाआरतीसहित भव्य र्‍यालीको आयोजना गरिने : सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुलाई सहभागी हुन आग्रह

मनोज  शाह, जीतपुर बारा, चैत्र २४ गते

विश्व हिन्दु परिषद नेपाल, जीतपुरका सम्पूर्ण सदस्य तथा सल्लाहकारसमेतको उपस्थितिमा हिजो बसेको विशेष बैठकमा रामनवमीको अवसरमा विभिन्न कार्यक्रम गर्ने निर्णय भएको छ । धिरज गुप्ताको अध्यक्षतामा बसेको उक्त बैठकमा बृहत् छलफल गरी हिन्दुहरुको आस्था एवम् गौरवसँग जोडिएको महान् पर्व रामनवमीको पावन अवसरमा आगामी वैशाख ५ गतेका दिन सांस्कृतिक कार्यक्रम र महाआरतीसहित भव्य र्‍यालीको आयोजना गर्न लागिएको विश्व हिन्दु परिषद नेपाल, जीतपुरका अध्यक्ष धिरज गुप्ताले स्पर्श खबरलाई जानकारी दिएका छन् ।

 

अनादि कालदेखि चलिआएको हिन्दु धार्मिक परम्परा, रीतिरिवाज, हिन्दु संस्कृतिको जगेर्ना गर्नु नितान्त आवश्यक रहेकोले सम्पूर्ण हिन्दु धर्मावलम्बीले रामनवमीको पावन अवसरमा विश्व हिन्दु परिषद नेपाल, जीतपुरद्वारा आयोजना गर्न लागिएको कार्यक्रममा प्रत्यक्ष सहभागी भई साथ र सहयोग गरिदिन उपाध्यक्ष दिनेश सराफले सम्पूर्ण जनसमुदायमा आग्रह गरेका छन् ।

 

चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन भगवान श्रीरामको जन्म भएको खुसियालीमा मनाइने रामनवमी पर्वले विशेष महत्त्व बोकेको हुनाले प्रत्येक हिन्दु धर्मावलम्बीको धार्मिक आस्था एवम् विश्वाससँग जोडिएको रामनवमी पर्वको अवसरमा यही वैशाख ५ गतेका दिन जीतपुरको शान्तिटोल खेलमैदानमा आयोजना गर्न लागिएको विविध कार्यक्रमलाई सभ्य एवम् भव्य रुपले सफल बनाउन सम्पूर्ण जीतपुरबासी एकजुट हुनुपर्ने कुरामा विश्व हिन्दु परिषद नेपाल, जीतपुरका सदस्य संजय गुप्ताले स्पर्श खबरलाई जानकारी दिएका छन् ।

वैशाख ५ गते रामनवमीका दिन हिन्दु धर्मावलम्बीहरुको बृहत संलग्नतामा जीतपुरको शान्तिटोल खेलमैदानबाट र्‍याली सुरु गरी गढीमाई मन्दिरतर्फ प्रस्थान गर्ने र त्यहाँबाट पुनः जीतपुरबजार फर्की पथलैयासम्म र्‍यालीको आयोजना गरिनुको साथै सोही दिन बेलुकीपख शान्तिटोल खेलमैदानमा सांस्कृतिक कार्यक्रम सहित महाआरती तथा प्रसाद वितरण कार्यक्रमसमेत आयोजना गरिने कुरा विश्व हिन्दु परिषद नेपाल, जीतपुरका अध्यक्ष धिरज गुप्ताले स्पर्श खबरलाई जानकारी दिएका छन् ।

 

बैठकमा रन्जित कुमार चौधरी, दिपक गुप्ता, विशाल गुप्ता, सागर कुमार, अम्रेन्द्र कुमार, बिकास गुप्ता, बनी कुशवाहा, धिरज सराफ, बिबेक जैसवाललगायतको पनि उपस्थिति रहेको थियो ।

सहयोगी हात नेपालद्वारा विभिन्न स्थानीय निकायमा ज्ञापनपत्र पेस : लामखुट्टे नियन्त्रणका लागि ध्यानाकर्षण

सहयोगी हात नेपालद्वारा विभिन्न स्थानीय निकायमा ज्ञापनपत्र पेस : लामखुट्टे नियन्त्रणका लागि ध्यानाकर्षण

 


मनोज  शाह, जीतपुर बारा, चैत्र २२ गते

 

जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.७ जीतपुरमा रहेको सामाजिक संस्था सहयोगी हात नेपालले आज विभिन्न स्थानीय निकायहरुमा ज्ञापनपत्र बुझाएको छ । पछिल्लो समयदेखि सामाजिक कार्यमा सक्रिय बन्दै आइरहेको सहयोगी हात नेपाल नामक सामाजिक संस्थाले समयमै लामखुट्टे नियन्त्रण गर्नका लागि ध्यानाकर्षण गराउँदै जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवजी साह तथा वडा नं.७ का कार्यवाहक वडाध्यक्ष सीता उप्रेतीलाई आज दिउँसो ज्ञापनपत्र बुझाएको हो ।

गर्मीयाम बढेसँगै लामखुट्टेको प्रकोप पनि बढ्दै गइरहेकोले गर्दा लामखुट्टेको टोकाइबाट सर्वसाधारण जनतालाई सुरक्षित राख्न तथा विभिन्न रोगव्याधि आदि हुन नदिन समयमै लामखुट्टे नियन्त्रण कार्यका लागि वडा नं.७ भरि नै लामखुट्टे मार्ने औषधी छर्न सुझाव दिँदै सहयोगी हात नेपाल नामक सामाजिक संस्थाका अध्यक्ष देवन्न साहले जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय तथा वडा नं.७ को कार्यालयमा उक्त ज्ञापनपत्र बुधबार बुझाउनुभएको हो ।

 

पर्साको विभिन्न स्थानबाट ५० लाखभन्दा बढी मूल्यको विविध सामग्रीहरु प्रहरीद्वारा जफत

पर्साको विभिन्न स्थानबाट ५० लाखभन्दा बढी मूल्यको विविध सामग्रीहरु प्रहरीद्वारा जफत

 

मनोज  शाह, जीतपुर बारा, चैत्र २१ गते

 

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएको ५० लाखभन्दा बढी मूल्य बराबरको विविध सामग्रीहरु पर्साको वीरगन्ज महानगरपालिकाको विभिन्न स्थानहरुबाट प्रहरीले बरामद गरी नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले ५० लाख १२ हजार १ सय ८० मूल्य बराबरको औषधी, कपडा, चिनी र सुर्तीलगायतका सामानहरु आफ्नो नियन्त्रणमा लिएको हो ।

 

पर्साको वीरगन्ज महानगरपालिकाको वडा नं. १२ पावर हाउस चौकस्थित सडकखण्डबाट ना.८ख.३५४९ नम्बरको ट्रकमा लोड गरी राखिएको अ .मू.रु. ४१ लाख ९३ हजार दस रुपियाँ मूल्य बराबरको कपडा तथा खुद्रा सामानहरु प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएको सम्पूर्ण सामानहरु आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी भारतबाट भन्सार छली चोरी पैठारी गरी अनधिकृतरुपमा कपडा, चिनी, सुर्ती तथा औषधीहरु गरी अ.म.रु. ८ लाख १९ हजार १ सय ७० मूल्य बराबरको सामग्रीहरु वीरगन्ज महानगरपालिकाको वडा नं.१६ रजतजयन्ती चौकस्थित सडकखण्डबाट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएको सम्पूर्ण सामानहरु आवश्यक कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

 

पर्साको विभिन्न स्थानबाट ४ लाखभन्दा बढी मूल्यको विविध सामग्रीहरु प्रहरीद्वारा जफत

पर्साको विभिन्न स्थानबाट ४ लाखभन्दा बढी मूल्यको विविध सामग्रीहरु प्रहरीद्वारा जफत

 

मनोज शाह, जीतपुर बारा, चैत्र १९ गते

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएको ४ लाखभन्दा बढी मूल्य बराबरको विविध सामग्रीहरु पर्साको वीरगन्ज महानगरपालिकाको विभिन्न स्थानहरुबाट प्रहरीले बरामद गरी नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले ४ लाख ८९ हजार ८ सय ५० मूल्य बराबरको सामानहरु आफ्नो नियन्त्रणमा लिएको हो ।

 

पर्साको वीरगन्ज महानगरपालिकाको वडा नं. १६ नगवास्थित सडकखण्डबाट ८८९ के.जी. हरियो खुर्सानी, २३५० के.जी. गोलभेडा, ३५०० के.जी. कटहर गरी २ लाख ८१ हजार साठी रुपियाँ मूल्य बराबरको तरकारीहरु प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । यसैगरी भारतबाट भन्सार छली चोरी पैठारी गरी अनधिकृतरुपमा जम्मा गरी राखेको २३०० के.जी. मैदा, १२८ के.जी. पापड, ६९७ मिटर सुरुवालको थान कपडा गरी २ लाख ८ हजार ७ सय ९० मूल्य बराबरको सामग्रीहरु वीरगन्ज महानगरपालिकाको वडा नं.१ छपकैयास्थित सडकखण्डबाट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएको सम्पूर्ण सामानहरु आवश्यक कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

दिगो बन ब्यवस्थापन कार्यबिधि मस्यौँदा बिरुद्ध साझेदारी बन महासंघ डेलिगेसन जाने

दिगो बन ब्यवस्थापन कार्यबिधि मस्यौँदा बिरुद्ध साझेदारी बन महासंघ डेलिगेसन जाने

मनाेज शाह जितपुर बारा चैत १९ गते:

मधेश प्रदेश दिगो बन ब्यवस्थापन कार्यबिधि मस्यौँदा २०८० सम्बन्धि छलफल कार्यक्रम रौतहटको चन्द्रपुरमा सम्पन्न भएको छ । साझेदारी बन महासंघ मधेश प्रदेशको आयोजनामा भएको छलफलमा कार्यबिधि मस्यौदाको बिभिन्न आयामको बिषयमा महासंघका सदस्यहरुको बिषयमा बिचारअदान प्रदान भएको थियो ।

छलफलमा दिगो बन कार्ययोजना मस्यौँदाको केही बुँदाहरुमा आफुहरुको बिमती रहेको साझेदारी बन महासंघ मधेश प्रदेश अध्यक्ष गणेशजी प्रसाद साहले जानकारी दिए । कार्यबिधिमा रहेका केही बुँदाहरु साझेदारी बनको हक बिपरित रहेकाले साझेदारी बन महासंघको गम्भिर ध्यानआकर्षण भएको उनले प्रतिक्रिया दिए ।अध्यक्ष साहले यथाशिघ्र उक्त बुँदाहरु सच्याउँन माग गरे ।

कार्यबिधिमा राखिएको केही बुँदा बिरुध मधेश प्रदेश सरकारको बन मन्त्रालय र बन सचिवालयमा डेलिगेसन जाने निर्णय भएको साझेदारी बन महासंघ मधेश प्रदेशले जनाएको छ । साझेदारी बन महासंघका केन्द्रिय अध्यक्ष रामप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता साझेदारी बन महासंघ मधेश प्रदेशका अध्यक्ष साहको रहेको थियो । छलफलमा मधेश प्रदेशका बिभिन्न साझेदारी बनका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

बाराको फत्तेपुरमा सार्वजनिक जग्गामा बनेको टहरामा चल्यो उपमहानगरको डोजर : जनताले सूचनाको अवहेलना गर्दा डोजर चलाउन बाध्य भएको उपमहानगरको दाबी

बाराको फत्तेपुरमा सार्वजनिक जग्गामा बनेको टहरामा चल्यो उपमहानगरको डोजर : जनताले सूचनाको अवहेलना गर्दा डोजर चलाउन बाध्य भएको उपमहानगरको दाबी

 

मनाेज शाह जितपुर बारा चैत १८ गते:

 

जीतपुरसिमरा उपमहानगरले पटक पटक सुचना निकालेर सार्वजनिक जग्गामा बनाएको टहरा हटाउन भने पनि स्थानीयहरुले अटेर गर्दै आएको कारण आइतबार उपमहानगरले तोकेको म्याद सकेपछि डोजर लगाएर तत्काल जीर्ण अवस्थामा रहेको टहरा हटाउन सुरु गरिएको जीतपुरसिमरा उपमहानगरपालिका-१२ का वडाध्यक्ष श्यामबाबु खाँले जानकारी दिए ।

 

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-१२ फत्तेपुरमा सार्वजनिक जग्गामा बनाईएको टहरामा उपमहानगरले डोजर चलाउन सुरु गरेको छ । कृषि बजार (हाटबजार) लाई व्यवस्थित गर्ने र वडा कार्यालय भवन निर्माण गर्नुपर्ने भएकोले सार्वजनिक जग्गामा बनाइएको टहरा हटाउन उपमहानगरले आइतबारदेखि सुरु गरेको छ । स्थानीयहरुले फत्तेपुर बजारमा बनाएको टहरा हटाउन सहमति गरेको थियो तर उपमहानगरले तोकेको समयसीमा नाघ्दा पनि टहरा नहटाएपछि उपमहानगरले आइतबारदेखि डोजर लगाएर टहरा हटाउन सुरु गरेको छ ।

 

साबिक फत्तेपुर गाविस वडा नं ३ हाल जीतपुर सिमरा वडा नं १२ अन्तर्गत पर्ने कित्ता नं १७ को १८ कट्टा सार्वजनिक जग्गा २०२२ सालको नापीमा फिल्डबुकमा हाटबजार भनी उल्लेख छ । सो १८ कट्टा सार्वजनिक जग्गा मध्ये ६ कट्टा बजारमा प्रयोग भएको र बाँकी रहेको १२ कट्टा जग्गा व्यक्तिले घर टहरा बनाएर लामो समयदेखि भोग चलन गर्दै आइरहेका थिए । सो क्षेत्रलाई स्थानीय कृषि बजार सञ्चालन गर्न गत आर्थिक वर्षमा उपमहानगरले ३५ लाख बजेट विनियोजन गरेको थियो तर सार्वजनिक जग्गा खाली गर्न नसकेपछि बजेट फिर्ता भयो ।

उपमहानगरले चालु आर्थिक वर्षको लागि पनि कृषि हाटबजार र वडा कार्यालयको भवन निर्माण गर्न ९० लाख बजेट विनियोजन गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका-१२ का वडाध्यक्ष श्यामबाबु खाँका अनुसार पटक पटक सूचना जारी गरेर बनाइएको टहरा हटाउन अनुरोध गर्दै आएपनि कसैले टहरा हटाउन नमानेपछि उपमहानगरले डोजर लगाएर हटाउन लागिएको हो सार्वजनिक जग्गामा घरायसी र व्यावसायिक प्रयोजनका सटरहरु गरी करिब ६० घरधुरी छ भने निजी बोडिङ स्कुल पनि सञ्चालनमा छ । निजी बोर्डिङ्ग स्कूलले आफैले खाली गरेको छ भने अहिले पनि केही व्यक्तिले जग्गा खाली गर्न नमानेपछि चैत २५ गतेसम्म सबैले आ-आफ्नो सामान हटाउनको लागि उपमहानगरले अनुरोध गरेको छ ।

 

आफ्नो गाउँठाउँको विकासमा योगदान गर्नु सबै गाउँलेको दायित्व भएकोले फत्तेपुरमा वैज्ञानिक बजारको निर्माणको लागि सो जग्गामा रहेको घरटहरा हटाएर मदत गर्नुपर्ने स्थानीयहरुको भनाइ रहेको छ । विकास निर्माणको कार्यमा कोही कसैले बाधा उत्पन्न गरे उपमहानगर चुप लागेर नबस्ने र आज जीर्ण अवस्थामा रहेको टहरामाथि मात्रै डोजर चलाइएको भए पनि चैत २५ गतेसम्म सो जग्गा खाली नगरे उपमहानगरले सिधै सार्वजनिक जग्गामा बनाएको टहरामाथि डोजर चलाउने जीतपुरसिमरा उपमहानगरका उपप्रमुख भोला प्रसाद अधिकारीले जानकारी दिए । टहरा हटाउने विषयमा स्थानीयहरुबीच नै एकमत नरहेको एक स्थानीयले जानकारी दिए ।

अमलेखगञ्जमा लाेकसेवा आयाेग तयारी कक्षा संचालन

अमलेखगञ्जमा लाेकसेवा आयाेग तयारी कक्षा संचालन

मनाेज शाह, जितपुर बारा, चैत १८ गते:

बारा जिल्लाको अमलेखगञ्जमा लाेकसेवा आयाेग तयारी कक्षा संचालनमा आएको छ । अभियान संस्थाका अध्यक्ष लक्ष्मी तिमिल्सिनाकाे अध्यक्षतामा कार्यक्रम सुरु भएको छ । आज सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमकाे प्रमुख अतिथि जितपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख भाेला अधिकारीले यस क्षेत्रका युवाहरुलाई निजामती सेवातर्फ आकर्षित गर्न सुरु गरिएको लोकसेवा आयोग तयारी कक्षा निकै नै फलदायी साबित हुने बताउनुभयो ।

 

नगरका युवालाई दक्ष बनाउने उदेश्यले लाेकसेवा तयारी कक्षा संचालन गरिएको प्रमुख अतिथि अधिकारीले बताउनुभयो । जितपुरसिमरा उपमहानगरपालिका वडा २१ र अभियान नेपालकाे संयुक्त आयाेजनामा संचालन भएको लाेकसेवा आयाेग तयारी कक्षा १ महिना संचालन हुने भएको छ । उक्त लोकसेवा आयोग तयारी कक्षामा राम्रो पढाइ भइरहेको तयारी कक्षामा सहभागी ३० जना विद्यार्थीहरुले जानकारी दिए । वडाको बजेटबाट लाेकसेवा तयारी कक्षा भइरहेको छ ।

 

बिशिस्ट अतिथिको रूपमा जितपुरसिमरा उपमहानगरपालिकाको वडा २१ का वडा अध्यक्ष सुबश श्रेष्ठ , सुकुमाया कुमारी थिङ ,सीता बिक ,राजकुमार साह लगायत उपस्थिति रहेको थियोे ।

 

अनलाइनमार्फत ठगी धन्दामा संलग्न दुई चिनियाँ नागरिकसहितको गिरोह पक्राउ : नगदसहित ठूलो परिमाणमा विद्युतीय सामग्री बरामद

अनलाइनमार्फत ठगी धन्दामा संलग्न दुई चिनियाँ नागरिकसहितको गिरोह पक्राउ : नगदसहित ठूलो परिमाणमा विद्युतीय सामग्री बरामद

 

मनोज  शाह, जीतपुर बारा, चैत्र १८ गते

 

विगत लामो समयदेखि प्रहरी प्रशासनको नजरबाट जोगिएर अनलाइनमार्फत ठगी धन्दा गरिरहेको एक ठूलो गिरोहलाई पर्सा प्रहरीले पक्राउ गर्न सफल भएको छ । तिनजना चिनियाँ नागरिकको समेत संलग्नता रहेको उक्त गिरोहले वीरगंज महानगरपालिका वडा नं. १५ मा अवस्थित नन्दु पटेलको घरलाई आफ्नो कार्यस्थल बनाएर अनलाइन चिठ्ठा, अनलाइन किनमेलजस्ता अनेकौं प्रकारका प्रपन्चबाट सर्वसाधारण जनतालाई प्रलोभनमा पारी ठगी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

 

जिल्ला प्रहरी कार्यालय पर्साले प्राप्त गरेको गोप्य सूचनाको आधारमा यसै कार्यालयको ईन्टेलिजेन्स टोलीले सूक्ष्मरुपमा निगरानी गर्ने क्रममा हिजो नन्दु पटेलको घरमा छापा मारी ठगी कार्यमा प्रयोग हुँदै आएको सरसामानसहित विभिन्न विदेशी तथा नेपाली नागरिकलाई पक्राउ गर्न सफल भएको हो ।

 

अनलाइनमार्फत ठगी कार्यमा संलग्न चिनियाँं नागरिकहरू वर्ष ३३ का LIU GUI CAI, वर्ष २६ का WANG BOHAN र वर्ष ३६ का XIANG XIAO लाई वीरगंज महानगरपालिकाको विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनास्थलबाट कम्प्युटर डेक्सटप, ल्यापटप, मोबाईल फोनहरू लगायतका ठुलो परिमाणमा विद्युतीय उपकरणहरुसमेत बरामद गरेको छ ।

 

पर्सा प्रहरीले घटनास्थलबाट कम्प्युटर डेक्सटप CPU- १२० थान, मनिटर-११८ थान, पासपोर्ट थान-३, मोबाईल-३५ थान, भारतीय Geo Sim card-१३ थान, ल्यापटप- ४ थान,प्रिन्टर-१ थान, विभिन्न बैंकहरूका ATM CARD-३ थान,Keyboard-२६ थान,Internet Switch-५ थान,WiFi Router-२ थान,Mini Inverter-२ थान,BR01CX 5792 नम्बरको 120 गाडी, प्र.२-०३-०११ प १३६७ नम्बरको मोटरसाइकल १ थान समेत विभिन्न देशका मुद्राहरू मलेशियन ३७ रिंगिट, नेपाली ५०० दरका नोट ८६ पिस गरी रू.४३,०००।– तथा कम्बोडियन -३५०० नगद समेत बरामद गरेको पर्सा प्रहरीका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जानकारी दिएका छन् ।

 

न्यायको भीख माग्दामाग्दै पिताको मृत्यु : ससुराली पक्षले आफ्नो नागरिकता नबनाइदिएको पीडित किरणको आरोप

न्यायको भीख माग्दामाग्दै पिताको मृत्यु : ससुराली पक्षले आफ्नो नागरिकता नबनाइदिएको पीडित किरणको आरोप

मनोज  शाह, जीतपुर बारा, चैत्र १८ गते

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ शान्तिटोलमा घर भई चितवन जिल्लाको खैरेनी नगरपालिकाको वडा नं. ९ बैरोनीमा विवाह भएको किरण कुमारी साह ससुराली पक्षको ज्यादतीका कारण अन्यायमा परेकी छिन् । दुई छोराहरुकी आमा किरणको श्रीमानको ६ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएको थियो । किरणले पटकपटक आफ्नो नागरिकता बनाइदिन अनुनय विनय गरेपनि ससुराले नागरिकता नबनाइदिएको किरणको आरोप छ ।

 

आफूले नागरिकता बनाइदिन अनुरोध गर्दा ससुरासहित ससुराली पक्षका सबैजना मिली आफूमाथि निर्घात कुटपिट गरेको किरणले बताउँछिन् । जति पटक नागरिकता बनाउन अनुरोध गर्‍यो त्यति नै पटक मेरो मम्मीलाई हजुरबुबा, हजुरआमा र अरु जना मिली कुटपिट गरेको कुरा किरणको जेठो छोरोले आँखाबाट आँसु झार्दै स्पर्श खबरलाई बताए । त्यति मात्रै नभएर विदेशमा मृत्यु भएका पिताको शव विदेशबाट घर ल्याइएपछि मृत बुबाको शवलाई समेत हजुरबुबाले लात्तैलात्तले हान्नुभएको कुरा किरणको जेठो सन्तानले स्पर्श खबरलाई जानकारी दिए ।

 

जति गुहार लगाएपनि ससुराले वास्तै नगरेपछि बाध्य भएर किरणले नागरिकता बनाइदिन माग गर्दै ससुराविरुध्द अदालतमा मुद्दा दिएकी थिइन् । अदालतले किरणको पक्षमा फैसला गरेपछि सोही कागजात लिई किरण र उनको बुबा भगवान साह सोनार जिल्ला प्रशासन कार्यालय चितवन गएका थिए । जिल्ला प्रशासन कार्यालयमै सिडिओकै अगाडि किरणकी सासू, ससुरालगायत अन्य व्यक्तिहरुले किरण र उनको बुबालाई तथानाम गालीगलौज गर्न थाले । यो कुराबाट मानसिक तनाव उत्पन्न भई किरणको बुबालाई अचानक छाती दुख्न र श्वास लिन गाह्रो हुन थाल्यो । भगवान साह सोनारले आफूलाई मुटुमा असह्य पीडा भएको र श्वास लिन पनि अप्ठ्यारो भएको भन्दै चाँडै अस्पताल पुर्‍याउन भनेपछि किरणले हतारहतार अटो बोलाएर बुबालाई अस्पताल लगिन् । डाक्टरले अनेकौं प्रयास गरेपनि किरणको बुबालाई बचाउन सकेनन् । उनलाई अचानकको गहिरो मानसिक तनावको कारण मुटुमा समस्या उत्पन्न भई मृत्यु भएको अस्पतालको रिपोर्टमा उल्लेख गरिएको छ ।

 

आफ्नो छोरीको लागि न्याय माग्न गएका गरिब पिताले आफ्नो अन्तिम श्वाससम्म न्यायको भीख मागिरहे तर उनी र छोरी किरणले न्याय पाएनन् । आफ्नो पिताको मृत्युसँगै न्याय पाउने आशा पनि झिनो बन्दै गएको पीडित किरण कुमारी साह दुखेसो पोख्छिन् । आफ्नो नागरिकता नबन्दा आफ्ना दुई सन्तानहरुको भविष्य पनि अन्धकारमय बन्न लागेको दु:ख पोख्दै आफ्ना कलिला सन्तानहरुको उज्ज्वल भविष्यका लागि भएपनि आफ्नो नागरिकता बनाइदिन सहयोग गरिदिन सम्पूर्ण सम्बन्धित निकाय, बुद्धिजीवी, अगुवासमक्ष पीडित किरण कुमारी साहले स्पर्श खबरमार्फत् अनुरोध गरिन् ।

 

सहयाेगी हात नेपाल जीतपुरद्वारा जीतपुरकाे मन्दिर सरसफाइ

सहयाेगी हात नेपाल जीतपुरद्वारा जीतपुरकाे मन्दिर सरसफाइ

मनाेज शाह, जीतपुर बारा, चैत १७ गते:

सहयाेगी हात नेपाल जीतपुरका सदस्यहरुले आज बिहान जीतपुरमा रहेको ब्रहम बाबाको मन्दिरमा सरसफाइ गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ जीतपुरमा रहेको सामाजिक संस्था सहयाेगी हात नेपालले जीतपुरमा अवस्थित ब्रहम बाबाको मन्दिरको सरसफाइ गरी हिन्दु धर्मावलम्बीहरुको आस्थासँग प्रत्यक्ष सम्बन्ध राख्ने धार्मिक महत्त्वका स्थलहरुको संरक्षणमा सबैजना जागरुकताका साथ जुट्नुपर्ने उदाहरण प्रस्तुत गरेका छन् ।


सहयाेगी हात नेपालकाे सचिव चन्द्रेश्वर पासवानकाे अगुवाइमा मन्दिरको सरसफाइ गरिएको हो । सहयाेगी हात नेपालकाे सम्पूर्ण सदस्यहरुले मिली तदारुकताका साथ धार्मिक एवम साँस्कृतिक महत्त्व बोकेको ब्रहम बाबाको मन्दिरपरिसरको सरसफाइ गरेका हुन् । सरसफाइपश्चात् स्पर्श खबरसँग कुरा गर्ने क्रममा संस्थाकै एक युवा सदस्य प्रबेज पासवानले धार्मिक स्थलको सरसफाइ गर्न पाउँदा आफूहरु अत्यन्तै हर्षविभोर भएको बताए । पुर्खौंदेखि धार्मिक आस्थाको केन्द्र रहेका स्थानीय धार्मिक मठ, मन्दिर, चौतारा आदिको सरसफाइ एवम् संरक्षण गरी समाजको उज्ज्वल भविष्यका लागि सबैले एकजुट भई लाग्नुपर्ने यहाँका स्थानीयहरु बताउँछन्