पर्साको विभिन्न स्थानबाट ४ लाखभन्दा बढी मूल्यको विविध सामग्रीहरु प्रहरीद्वारा जफत

पर्साको विभिन्न स्थानबाट ४ लाखभन्दा बढी मूल्यको विविध सामग्रीहरु प्रहरीद्वारा जफत

 

मनोज शाह, जीतपुर बारा, चैत्र १९ गते

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएको ४ लाखभन्दा बढी मूल्य बराबरको विविध सामग्रीहरु पर्साको वीरगन्ज महानगरपालिकाको विभिन्न स्थानहरुबाट प्रहरीले बरामद गरी नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले ४ लाख ८९ हजार ८ सय ५० मूल्य बराबरको सामानहरु आफ्नो नियन्त्रणमा लिएको हो ।

 

पर्साको वीरगन्ज महानगरपालिकाको वडा नं. १६ नगवास्थित सडकखण्डबाट ८८९ के.जी. हरियो खुर्सानी, २३५० के.जी. गोलभेडा, ३५०० के.जी. कटहर गरी २ लाख ८१ हजार साठी रुपियाँ मूल्य बराबरको तरकारीहरु प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । यसैगरी भारतबाट भन्सार छली चोरी पैठारी गरी अनधिकृतरुपमा जम्मा गरी राखेको २३०० के.जी. मैदा, १२८ के.जी. पापड, ६९७ मिटर सुरुवालको थान कपडा गरी २ लाख ८ हजार ७ सय ९० मूल्य बराबरको सामग्रीहरु वीरगन्ज महानगरपालिकाको वडा नं.१ छपकैयास्थित सडकखण्डबाट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएको सम्पूर्ण सामानहरु आवश्यक कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।