वडाध्यक्ष गुरुङको पहलमा ५७९ परिवारको लालपुर्जा प्रक्रिया अघि बढ्यो, भूमिहीनमा आशा

वडाध्यक्ष गुरुङको पहलमा ५७९ परिवारको लालपुर्जा प्रक्रिया अघि बढ्यो, भूमिहीनमा आशा
मनाेज शाह जितपुर कार्तिक १२ गते: जीतपुरसिमरा उपमहानगरपालिका–१४ का ५७९ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ। वडाध्यक्ष चयन गुरुङको नेतृत्वमा सम्बन्धित निकायमा फाइल बुझाइएसँगै वर्षौंदेखि जग्गाको स्वामित्वको प्रतीक्षामा रहेका स्थानीयमा आशा पलाएको छ।


उपमहानगरपालिकाको ७१औँ कार्यपालिका बैठकको निर्णयअनुसार बिहीबार ५७९ जनाको आवश्यक कागजातसहितको फाइल नापी तथा मालपोत कार्यालय कलैयामा बुझाइएको हो।
वडाध्यक्ष गुरुङसहित भूमि व्यवस्था तथा सहकारी शाखा प्रमुख सुदन चौधरी र राजस्व शाखा प्रमुख राम शर्मा पौडेलको टोलीले कार्यालयका कर्मचारी मनोहर मिश्रालाई फाइल हस्तान्तरण गरेको हो।बुझाइएका फाइलमध्ये १४ जना भूमिहीन दलित, १३६ जना भूमिहीन सुकुम्बासी र ४२९ जना अव्यवस्थित बसोबासी रहेका छन्।


यसअघि वडा नम्बर १, २, १८ र २१ का लाभग्राहीको फाइलसमेत बुझाइसकिएको छ। वडा नम्बर १४ को फाइल बुझाइएसँगै उपमहानगरपालिकाका पाँचवटा वडाका भूमिहीन तथा अव्यवस्थित बसोबासीको लालपुर्जा प्राप्त गर्ने प्रक्रिया अघि बढेको छ।
वर्षौंदेखि बसोबास गर्दै आए पनि जग्गाको कानुनी स्वामित्व नहुँदा विभिन्न समस्या भोग्दै आएका नागरिकका लागि यो प्रक्रिया महत्वपूर्ण मानिएको छ। वडाध्यक्ष गुरुङले सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधान र प्रक्रिया छिटो टुंग्याउन पहल भइरहेको बताउनुभयो।
तर, फाइल बुझाउनु मात्रै लालपुर्जा हात पर्नु होइन। अब सम्बन्धित निकायले आवश्यक जाँच, कानुनी प्रक्रिया र प्रशासनिक काम कति छिटो पूरा गर्छन् भन्ने विषय महत्वपूर्ण बनेको छ।
स्थानीयले वर्षौंदेखिको प्रतीक्षा अन्त्य गर्दै वास्तविक भूमिहीन तथा सुकुम्बासीले छिटो जग्गाधनी प्रमाणपुर्जा पाउने व्यवस्था गर्न माग गरेका छन्। अब नागरिकको अपेक्षा स्पष्ट छ—प्रक्रिया कागजमै सीमित नहोस्, लालपुर्जा हातमै पुगोस्।