दशौँ राष्ट्रिय खेलकुद : ३२ मध्ये २३ खेल सुर्खेतमै, चार खेल लुम्बिनीमा !

दशौँ राष्ट्रिय खेलकुद : ३२ मध्ये २३ खेल सुर्खेतमै, चार खेल लुम्बिनीमा !

स्पर्श खबर जितपुर बारा कार्तिक २४ गते:
सुर्खेतलाई मुख्य केन्द्र बनाएर दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ। कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमै सञ्चालन हुने निश्चित भएको छ भने कर्णालीका अन्य चार जिल्लामा पाँच र लुम्बिनी प्रदेशका दुई जिल्लामा चार खेल आयोजना गरिनेछ।


प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मंसिर १६ गते सुर्खेत रंगशालामा हुनेछ। प्रतियोगिताको समापन मंसिर २७ गते तय गरिएको छ।
तर उद्घाटन समारोहअघि नै मंसिर ८ गतेदेखि पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीका प्रतिस्पर्धा सुरु हुनेछन्।
सुर्खेतमा एथ्लेटिक्स, फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी, साइक्लिङ, कराते, तेक्वान्दो, बक्सिङ, उसु, ब्याडमिन्टन, टेबल टेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास, बास्केटबल, कबड्डी, आर्चरी, भारोत्तोलन, ईस्पोर्ट्सलगायत २३ खेल सञ्चालन हुनेछन्।
त्यस्तै दैलेखमा आईटीएफ तेक्वान्दो, कालिकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा पश्चिम रुकुममा शारीरिक सुगठन प्रतियोगिता आयोजना गरिनेछ।
कर्णालीमा आवश्यक खेल पूर्वाधारको अभाव भएपछि केही खेल छिमेकी लुम्बिनी प्रदेशमा सारिएका छन्। पौडी र सुटिङ नेपालगञ्जमा तथा टेनिस र खो-खो बर्दियामा सञ्चालन हुनेछन्।
भौगोलिक कठिनाइ र पूर्वाधार अभावका कारण कर्णाली प्रदेशमै सबै खेल सञ्चालन गर्न नसकिएपछि प्रतियोगितालाई दुई प्रदेशका विभिन्न जिल्लामा बाँडिएको हो। यससँगै दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीको तयारी र पूर्वाधार क्षमतामाथि पनि प्रश्न उठेको छ।