मानव–वन्यजन्तु द्वन्द्व बढ्दो, चोरी–शिकारी नियन्त्रणमा युवालाई सक्रिय बनाउने निर्णय

मानव–वन्यजन्तु द्वन्द्व बढ्दो, चोरी–शिकारी नियन्त्रणमा युवालाई सक्रिय बनाउने निर्णय
स्पर्श खबर जितपुर बारा कार्तिक १३ गते:
बाराको पथलैयामा मानव–वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तुको चोरी–शिकारी नियन्त्रणका लागि स्थानीय युवालाई सक्रिय बनाउने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।


पर्सा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रअन्तर्गत जनहित उपभोक्ता समितिको जनहित चोरी–शिकारी नियन्त्रण युवा जागरण उपसमितिको बैठक तथा अन्तरक्रिया भीमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रममा जनहित उपभोक्ता समितिका अध्यक्ष एवं प्रमुख अतिथि अमृतलाल श्रेष्ठले मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै जानु गम्भीर चुनौती भएको बताउँदै यसको नियन्त्रणका लागि स्थानीय समुदायदेखि निकुञ्ज प्रशासनसम्म जिम्मेवार बन्नुपर्नेमा जोड दिए।उनले वन्यजन्तु संरक्षणको नाममा स्थानीय नागरिकको सुरक्षा ओझेलमा पर्न नहुने भन्दै वन्यजन्तुको संरक्षणसँगै मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सबै पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।


श्रेष्ठले चोरी–शिकारी नियन्त्रणमा युवाहरूलाई परिचालन गर्दै गाउँगाउँसम्म संरक्षणसम्बन्धी जनचेतना फैलाउनुपर्ने धारणा राखे।
सालिकराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि रेञ्जर बालकृष्ण पण्डित, भीमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुमन थापा मगरलगायत वन उपभोक्ता तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन्यजन्तुको सुरक्षा र चोरी–शिकारी नियन्त्रणमा स्थानीय समुदायको भूमिका विषयमा छलफल गरिएको थियो।
वन्यजन्तु जोगाउने अभियानसँगै नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नु पनि उत्तिकै आवश्यक छ। अब भाषण र बैठकमा मात्र सीमित नभई व्यवहारमै संरक्षण अभियान प्रभावकारी बनाउनुपर्ने चुनौती सरोकारवालासामु देखिएको छ।