छठ मनाउन घर फर्किने क्रममा भीषण दुर्घटना : गर्भवती महिलासहित १४ जनाको मृत्यु, एउटै परिवारका ६ सदस्यको एकैसाथ अन्त्य !
मकवानपुर कार्तिक २६ गते: मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार बिहान भएको भीषण ईभी हाइस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।

छठ पर्व मनाउन काठमाडौंबाट सर्लाही घर फर्किँदै गरेका यात्रु चढेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल खसेको थियो।
दुर्घटनाको सबैभन्दा हृदयविदारक पक्ष एउटै परिवारका ६ जनाले एकैसाथ ज्यान गुमाउनु हो। सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका राम सुनर यादवका दुई छोरासहित बुहारी र तीन नातिनीको मृत्यु भएको छ।

मृत्यु हुनेमा २५ वर्षीय विकेश यादव, १६ वर्षीय सुधेश यादव, बुहारी पुनम यादव तथा १० वर्षीया अनु यादव, ७ वर्षीया शिक्षा यादव र ६ वर्षीया दिपिका यादव रहेका छन्। आठ महिनाकी गर्भवती पुनमको समेत दुर्घटनामा मृत्यु भएको छ।
त्यस्तै, गुडु यादव, गायत्री देवी यादव, राकेश राय, रोहन राय, सुबोध राय, राम दुलार राय, राम प्रवेश राय र चालक ३० वर्षीय रविशंकर मण्डलले पनि ज्यान गुमाएका छन्।
दुर्घटनामा घाइते भएका यात्रुमध्ये केहीको उपचार भइरहेको छ भने तीन वर्षीय सुजन राय र १६ महिनाका बालक सुदिप यादवलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल रिफर गरिएको छ। अन्य केही घाइते उपचारपछि डिस्चार्ज भएका छन्।

छठ पर्वको खुसी बोकेर घर फर्किँदै गरेका यात्रुका लागि चिसापानीगढीको सडक मृत्युको बाटो बनेको छ। एउटै परिवारका ६ सदस्य, गर्भमा रहेको शिशुसहित १४ जनाको ज्यान जाने यो घटनाले सर्लाहीको सुन्दरपुरलाई शोकमा डुबाएको छ।