हतियार र गोली सार्वजनिक, पक्राउ परेका व्यक्तिको नाम गोप्य किन? सशस्त्र प्रहरीको सूचनामाथि गम्भीर प्रश्न
स्पर्श खबर जितपुर बारा कार्तिक २० गते:
सशस्त्र प्रहरी बल नेपालले अवैध हतियारसहित दुई जनालाई नियन्त्रणमा लिएको घटना सार्वजनिक गर्दै बरामद हतियार, नगद र अन्य सामानको तस्बिरसमेत सार्वजनिक गरेको छ। तर पक्राउ परेका दुई व्यक्तिको नाम र पहिचान भने गोप्य राखिएको छ। आखिर सशस्त्र प्रहरीले यस्तो दोहोरो सूचना सार्वजनिक गर्नुको कारण के हो?

२०८३ साल कार्तिक १६ गते सशस्त्र प्रहरी बल नेपाल बीओपी पर्सौनीभाठाबाट खटिएको टोलीले पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–५, पर्सौनीभाठास्थित चेकपोइन्टमा चेकजाँच गर्ने क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको थियो।

सशस्त्र प्रहरीका अनुसार उनीहरूले बोकेको झोलाभित्र कपडाले लुकाइछिपाइ राखिएको अवस्थामा डोमी पेस्तोल एक थान, डाेमी गाेली ६ राउन्ड ,छुरा ३ थान , नेपाली रुपैयाँ ९ हजार ४००, भारतीय रुपैयाँ २२ हजार ४०, भिभो मोबाइल दुई थान तथा विभिन्न औषधि बरामद गरिएको थियो। नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको जनाइएको छ।प्रश्न जन्माएको छ। बरामद भएको डाेमी पेस्तोल र डाेमी गोलीको तस्बिर सार्वजनिक गर्न मिल्ने, घटनासम्बन्धी विवरण सार्वजनिक गर्न मिल्ने, तर पक्राउ परेका व्यक्तिको नाम र पहिचानचाहिँ किन सार्वजनिक गर्न मिलेन?
अझ चासोको विषय त पर्सा जिल्ला प्रहरी कार्यालयले विभिन्न घटनामा प्रेस विज्ञप्ति जारी गर्दै आएको अवस्थामा यस घटनाका दुई पक्राउ परेका व्यक्तिबारे छुट्टै प्रेस विज्ञप्ति किन सार्वजनिक भएन भन्ने हो।
के अनुसन्धानको नाममा सूचना लुकाइएको हो? कि पक्राउ परेका व्यक्तिको पहिचान सार्वजनिक नगर्नुपर्ने कुनै विशेष कारण छ? सम्बन्धित निकायले यसबारे स्पष्ट पार्नुपर्छ।
सशस्त्र प्रहरी बलले तस्बिर सार्वजनिक गरेर घटनालाई प्रचारमा ल्याउने तर पक्राउ परेका व्यक्तिको पहिचान र घटनाको थप विवरणबारे मौन बस्ने प्रवृत्तिले सुरक्षा निकायको सूचना सम्प्रेषणमा समान मापदण्ड छ कि छैन भन्ने प्रश्न उठाएको छ।
सशस्त्र प्रहरी बल नेपाल र जिल्ला प्रहरी कार्यालय पर्साले यसको जवाफ दिनुपर्छ। आखिर पेस्तोल सार्वजनिक गर्ने तर पक्राउ परेका व्यक्तिको नाम गोप्य राख्ने नीति किन?
जनतालाई आधा सूचना होइन, सत्य र तथ्यमा आधारित पूर्ण जानकारी चाहिएको छ।