देवापुर टेटामा फोहोरको थुप्रोले गाउँ दुर्गन्धित, युवाहरू आन्दोलित! नगरपालिका घेराबन्दी गर्ने चेतावनी

देवापुर टेटामा फोहोरको थुप्रोले गाउँ दुर्गन्धित, युवाहरू आन्दोलित! नगरपालिका घेराबन्दी गर्ने चेतावनी
सिकिन्द्र साह कार्तिक ११ गते सिम्राैनगढ
सिम्रौनगढ नगरपालिका–१०, देवापुर टेटामा सडक तथा चोकचौराहामा फोहोर थुप्रिँदा स्थानीयवासी हैरान भएका छन्। लामो समयदेखि सरसफाइको समस्या समाधान नभएपछि नयाँ पुस्ताका युवाहरू आक्रोशित हुँदै स्थानीय सरकारसँग जवाफ माग्न थालेका छन्।


राजु यादव, शनि यादव, धिरज यादवसहित सयौँ युवाहरूले गाउँको सरसफाइ, स्वास्थ्य, शिक्षा, सडक तथा विकास निर्माणका समस्या उठाउँदै सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज अधिकारीलाई गाउँमै बोलाएर छलफल गरेका छन्।
बिहान ८ बजेदेखि ११ बजेसम्म चलेको छलफलमा युवाहरूले स्थानीय समस्याबारे प्रश्न उठाउँदै तत्काल समाधानको माग गरे। त्यसपछि सम्बन्धित स्थानहरूको स्थलगत निरीक्षणसमेत गरिएको थियो।छलफलका क्रममा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले उठाइएका समस्या छिटो समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएको बताइएको छ। तर, स्थानीयवासीको प्रश्न छ—प्रतिबद्धता भाषणमै सीमित हुने कि गाउँलेले वास्तविक परिवर्तन पनि देख्न पाउने?
यसैबीच, गाउँको सरसफाइमा काम गर्दै आएका गिरि मलि डोमको तलब केही दिनअघि रोकिएको विषयसमेत उठेको छ। तलब रोक्नुमा राजनीतिक प्रभाव परेको हुन सक्ने आरोप स्थानीयस्तरमा उठे पनि यसको आधिकारिक कारण पुष्टि हुन सकेको छैन। यसबारे नगरपालिकाको स्पष्ट धारणा आउन बाँकी छ।
देशमा परिवर्तनका नारा घन्किए पनि गाउँका सडक र चोकचौरामा फोहोर थुप्रिरहनु स्थानीय सेवा व्यवस्थापनमाथि गम्भीर प्रश्न हो। सरसफाइ, स्वास्थ्य, शिक्षा र सडकजस्ता आधारभूत विषयमा नागरिकले पटक–पटक आवाज उठाउनुपर्ने अवस्था कहिलेसम्म?