दुई महिनादेखि आमाको खोजीमा छोरा, पर्सा प्रहरीमाथि निवेदन दर्ता नगरेको आरोप!

दुई महिनादेखि आमाको खोजीमा छोरा, पर्सा प्रहरीमाथि निवेदन दर्ता नगरेको आरोप!
स्पर्श खबर जितपुर बारा कार्तिक १२ गते:

पर्साको वीरगञ्ज महानगरपालिका–११, रानीघाटका ३७ वर्षीय अंकित रुंगटा दुई महिनादेखि बेपत्ता आफ्नी आमा रेणु कुमारी रुंगटाको खोजीमा भौँतारिरहेका छन्। तर, आमाको खोजतलासका लागि प्रहरीमा दिएको निवेदनसमेत दर्ता नभएको उनको आरोपले पर्सा प्रहरीको कार्यसम्पादनमाथि गम्भीर प्रश्न उठाएको छ।


अंकितका अनुसार उनकी आमा साउन ३० गतेदेखि सम्पर्कविहीन छिन्। आमाको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएको दुई महिना बितिसक्दा पनि दर्ता र सुनुवाइ नभएको उनको गुनासो छ।


अंकितले आफ्ना बुवा रमेश रुंगटामाथि आमालाई बेपत्ता पारेको आशंका व्यक्त गरेका छन्। उनका अनुसार बुवासँग आमाबारे सोध्दा स्पष्ट जवाफ पाउन सकेका छैनन्। तर, बुवामाथि लगाइएको आरोप र आमाको वास्तविक अवस्थाबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ।‘आमा बित्नुभएको हो भने मृत्यु दर्ता देखाउनुस्, जीवित हुनुहुन्छ भने मेरो अगाडि ल्याइदिनुस्। मलाई मेरी आमा चाहिन्छ,’ अंकितको भावुक माग छ।
आमाको अवस्थाबारे जानकारी नपाएपछि न्याय र खोजतलासको अपेक्षासहित प्रहरी कार्यालय पुगेको बताउने अंकितले निवेदन दर्ता हुन नसक्नुको कारणसमेत स्पष्ट नपाएको गुनासो गरेका छन्।
यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक ( एसपि) पवन कुमार भट्टराईसँग प्रतिक्रिया माग्दा उनले प्रहरी यस घटनाको अनुसन्धानमा लागेको बताएका छन्। यद्यपि, निवेदनको आधिकारिक अवस्था र दर्ता हुन नसकेको भनिएको विषयमा प्रहरीको स्पष्ट धारणा आउन बाँकी छ।
प्रश्न गम्भीर छ—बेपत्ता आमाको खोजीका लागि दिएको निवेदन दुई महिनासम्म किन दर्ता भएन? यदि दर्ता भएको छैन भने त्यसको कारण के हो?
बेपत्ता व्यक्तिको खोजतलास गर्नु प्रहरीको जिम्मेवारी हो। त्यसैले निवेदनको अवस्था सार्वजनिक गर्दै घटनाको निष्पक्ष अनुसन्धान र रेणु कुमारी रुंगटाको अवस्थाबारे सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने देखिन्छ।
अंकितको एउटै माग छ—‘मेरी आमा जहाँ भए पनि मलाई मेरी आमा चाहिन्छ।’