हिमपात र हिमपहिरोको उच्च जोखिम! कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा रोक्न अध्यागमनको आग्रह

हिमपात र हिमपहिरोको उच्च जोखिम! कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा रोक्न अध्यागमनको आग्रह
काठमाडौं कार्तिक ११ गते:

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढेपछि अध्यागमन विभागले तीन दिनका लागि पदयात्रा गतिविधि पूर्ण रूपमा स्थगित गर्न आग्रह गरेको छ।
विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले सूचना जारी गर्दै कात्तिक १२, १३ र १४ गते जोखिमपूर्ण हिमाली तथा उच्च पहाडी क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेका हुन्।
विभागका अनुसार उक्त अवधिमा निषेधित क्षेत्रका लागि नयाँ पदयात्रा अनुमतिपत्रसमेत जारी गरिने छैन। यसअघि नै अनुमति लिएर सम्बन्धित क्षेत्रमा प्रवेश गरिसकेका पर्यटकलाई जोखिमपूर्ण अवस्थामा जथाभावी हिँडडुल नगर्न र सुरक्षित स्थान वा आश्रयस्थलमै बस्न आग्रह गरिएको छ।
हिमालमा रमाइलो गर्न निस्किँदा ज्यानै जोखिममा पर्न सक्ने चेतावनी! प्रतिकूल मौसमका कारण हुन सक्ने मानवीय क्षति रोक्न पूर्वसतर्कताका रूपमा यो कदम चालिएको विभागले जनाएको छ।ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक तथा सम्बन्धित सबै सरोकारवालालाई निर्देशन कडाइका साथ पालना गर्न विभागले आग्रह गरेको छ। जोखिम टरेको आधिकारिक जानकारी नआएसम्म हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रा स्थगित गर्नसमेत अनुरोध गरिएको छ।
सुरक्षा अपिल: मौसम सामान्य नभएसम्म जोखिमपूर्ण पदयात्रामा ननिस्कनुहोस्। सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस्।